बाँके। एक दिनको कमाइले हप्ता दिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरूको आकर्षण बढ्न थालेको छ।
बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरू गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन्। अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहिनतका साथ काम गर्नुपर्ने र भनेको जस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरूको आकर्षण बढ्दै गएको हो।
पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेशामा लागेको स्थानीयहरूको भनाइ छ। हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरू रागाँ, भैँसी किन्नका लागि जाने गर्छन्। बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरू पशु किनमेल गर्नका लागि आउने गरेको बताउँछन् पशु व्यापारी जमीर खाँ। उनले छिमेकी गाँउ र जिल्लाका मानिसहरूले गाँउबाट भैँसी, राँगा किन्ने र पशु हाट बजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको बताए।
करीब २५ वर्षदेखि यो पेशा गर्दै आएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरूले काम पाएको पनि बताए।
त्यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अली पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताउँछन्। उनले पशु हाट बजारबाट स्थानीयहरू सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको बताए।
स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थालेको लगभग २० वर्ष भयो। लकडाउनमा केही कम भए पनि अहिले भने पशु बजारमा किनबेच हुने संख्या बढिरहेको उनी बताउाछन्। उनी हरेक हप्ता १० हजारसम्म नाफा कमाइरहेका छन्।
स्थानीयहरूले पशु हाट बजारलाई अम्दानीको स्रोतको माध्याम बनाएका छन्। तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरूको गुनासो छ।
Facebook Comment
Comment