बल्न छोडे तुलसीपुरका सडक बत्ती

“सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो,” तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने, “हाम्रा पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ।”

नेपालभ्युज

बल्न छोडे तुलसीपुरका सडक बत्ती

तुलसीपुर। तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुनेगर्छ।

“सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो,” तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने, “हाम्रा पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ।”

तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको छ। सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्न गाह्रो हुन्छ।

बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन। अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाले आफूहरुले नै बत्ती जडान गरेर बाल्ने गरेका छन्।

सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर भए पनि काम चलाउने गरिएको तुलसीपुर–५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए।

“हाम्रो टोलमा १५ ओटा यस्ता बत्ती जडान गरिएको हो। ती एक वर्षसम्म मात्रै बले,” उनले भने, “खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ, ब्याट्री त दुई वर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्री बिग्रिएपछि आएका इन्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौँ।”

यी बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ। अहिले कसैले चासो नदिएपछि आफैँले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनको भनाइ छ।

बजारमा मात्रै होइन, अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिएको थियो। तुलसीपुर–१९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान गरिएको थियो। तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रवीर पुनले बताए।

“हामीले पटक–पटक जानकारी गरायौँ,” पुनले भने, “तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन्।”

तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ। तीन पटक गरेर ती बत्ती जडान गरिएको हो। पहिलो पटक ३५ बत्ती जडान गरिएको हो। ती बत्तीमा ३६ लाख ३६ हजार रुपैयाँ लगानी लागेको थियो।

त्यस्तै, दोस्रो पटक ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो। तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृहलगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए।

“हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौँ। यहाँ विभिन्न ठाउँमा १२५ ओटा सडकबत्ती जडान गरिएको छ,” योगीले भने, “तर, अहिले केही स्थानमा बत्ती जडान गरिएको छ।”

योगीका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी रहेको छ। प्यानलमा धुलो लाग्दा बत्ती नबल्ने समस्या रहने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved