संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको शुरुआत

अब सरकारले वैदेशिक रोजगारसम्बन्धी सबै कामहरु अनलाइन प्रणालीमार्फत गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

नेपालभ्युज

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको शुरुआत

काठमाडौं। वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुरुआत भएको छ।

सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्वश्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरे।

शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए। उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुको रोजगारी गुमेको गुनासो आउन थालेको बताए।

“अहिले मन्त्रालयले एउटै कुरा मात्रै जानेको छ, त्यो भनेको श्रमिकहरुको हक हितको लागि। कुनै पनि निर्णय श्रमिकहरुको हक हितबाहेक अन्य हेर्दैनौं,” उनले भने, “अहिले मेनपावरका प्रतिनिधिहरुलाई रोजगारीको अर्को कामहरु होला। अहिले एकदमै अत्तिहाल्नु पर्दैन। यसलाई सिस्टममा ल्याउँदै गर्दा यस्तो पर्न गएको हो।”

मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गरे। वैदेशिक रोजगार कार्यालयहरुले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको काममा ढिलासुस्ती र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरुलाई निर्देशन दिए।

अब सरकारले वैदेशिक रोजगारसम्बन्धी सबै कामहरु अनलाइन प्रणालीमार्फत गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट नै काम गर्न सक्ने बताए। उनले संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत हुँदा सेवाग्राहीहरुले छिटो, छरितो र गुनासोरहित सेवा हुने अपेक्षा कार्यालयको रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved