अर्थतन्त्र संकटग्रस्त भयो, सरकार र निजी क्षेत्रबीच समन्वय चाहियोः उद्योग संगठन मोरङ

नेपालभ्युज

अर्थतन्त्र संकटग्रस्त भयो, सरकार र निजी क्षेत्रबीच समन्वय चाहियोः उद्योग संगठन मोरङ

विराटनगर। निजी क्षेत्रसँग सरकारको समन्वयकारी भूमिकाको अभावमा मुलुकको अर्थतन्त्र समग्र अर्थतन्त्र जटिलतातर्फ उन्मुख भइरहेको भन्दै उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेको हो।

वित्तीय क्षेत्रमा तरलताको चरम अभाव, बढ्दो ब्याजदर तथा युक्रेन र रुसबीच द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा भएको चर्को मूल्यवृद्धि जस्ता परिस्थितिमा नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरूले निजी क्षेत्रसँग समन्वय गर्न नचाहेको उद्योग संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रका सुचकहरू संकटउन्मुख भइरहँदा निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनु पर्नेमा मूख्य संस्थाहरूबीच समन्वय अभाव देखिएको छ। यसले मुलुकको अर्थतन्त्र थप जटिलतातर्फ जाने हो कि भन्नेमा उद्योग संगठनले चिन्ता व्यक्त गरेको छ।”

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिति तथा आयात निर्यात सहजीकरणका लागि नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमाञ्जस्य तथा अविश्वास वातावरण सिर्जना हुनुलाई संगठनले दुःखद् भनेको छ।

अन्तराष्ट्रिय रूपमा अर्थतन्त्रको अवस्था संकटपूर्ण अवस्थामा पुगेको हुँदा समयमै सचेत भई उपयुक्त कदम चाल्न उद्योग संगठनले सरकारसँग आग्रह गरेको छ। लगानीयोग्य रकमको अभाव, बैंकको ब्याज वृद्धि तथा वैदेशिक विनियम सञ्चितिको अभावमा कच्चा पदार्थलगायत आयात प्रभावित भई उत्पादनमूलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भी हुनुपर्ने संगठनको सुझाव छ।

संकट उन्मुख अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सहयोगका लागी उद्योग संगठन तयार रहेको जारी विज्ञप्तिमार्फ्त जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved