दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन तामझामसाथ पुगिन् मन्त्री

दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन तामझामसाथ पुगिन् मन्त्री

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा रहेका दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ पुगिन्।

गाउँपालिकामा एक हजार सात सयभन्दा धेरै घर भूमिहीनहरू रहे पनि जम्मा दुई परिवारलाई पूर्जा वितरण गर्न मन्त्री श्रेष्ठ यहाँ आइपुगेकी हुन्।

दलित सुकुमबासीहरूलाई पूर्जा वितरण गर्न सार्वजनिक सूचना प्रकाशन गर्नु नपर्ने भएकाले दुई परिवारलाई मात्र अहिले पूर्जा दिन सकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको कृष्ण बहादुर दर्नाल र तीर्थ बहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो। दर्नाललाई १४८ वर्गमिटर र विश्वकर्मालाई १४७ वर्गमिटरको जग्गाको पूर्जा प्रदान गरिएको हो।

गाउँपालिकाले ३० परिवार भूमिहीन सुकुमबासीका लागि ७ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर पूर्जा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष सर्केस घलानले बताए। यद्यपि कार्यक्रममा उपस्थित केही सर्वसाधारणले भने निर्वाचन नजिकिएका कारण चुनावी रणनीति भएको भन्दै आलोचना गरेका थिए।

भूमिहीनहरूको समस्या सधैंका लागि समाधान गर्ने कसम खाएका छौंः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले भूमिहीनहरूको समस्या सधैंको लागि समाधान गर्ने कसम खाएको बताएकी छन्। शुक्रबार बागमती गाउँपालिका आयोजना गरेको भूमिहीन दलित, सुकुमबासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै भूमिसम्बन्धी समस्या समाधान हुने बताइन्।

देशमा रहेका भूमिहीन जनताहरूलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गरिएको बताएकी छन्। विधान निर्माण क्रमदेखि नै यथास्थितिवादीहरूले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन्।

“अहिलेको गठबन्धन सरकारले हक अधिकारको कार्यान्वयन गर्छ”, उनले भनिन्, “दलित भूमिहीनहरूलाई पूर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकतामा रहेको छ।” अहिलेको संविधान इतिहासकै उत्कृष्ट संविधान भएको उनले बताइन्। विगतका सरकारले उक्त संविधानको उचित कार्यान्वयन नगरेको पनि उनले आरोप लगाइन्। “पहिलाको सरकार रहँदा एक वर्षमा १ हजार भूमिहीनलाई पनि पूर्जा प्रदान गरिएको थिएन,” उनले भनिन् “पछिल्लो सरकारले चार महीनामा २० हजार भूमिहीनलाई पूर्जा प्रदान गरिसकेको छ।”

भूमिहीन नागरिकहरूले नागरिकता प्राप्त गर्न पनि समस्या परेकोले चाँडोभन्दा चाँडो सबै भूमिहीनलाई पूर्जा प्रदान गरिने उनले बाचा गरिन्। नेतृत्वकर्ताको काम गर्ने इच्छाशक्ति कमी रहेकाले देश गरिब भएको उनको आरोप थियो। अबको निर्वाचनमा गठबन्धनले भोट माग्नै नपर्ने र जनता आफैंले बुझेर जनताले भोट हाल्ने उनले बताइन्।

उपाध्यक्षको असन्तुष्टि

सर्वदलीय बैठक नै नबसी भूमिहीनहरूलाई पूर्जा प्रदान गरिएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले असन्तुुष्टि जनाएकी छन्। गाउँपालिकामा धेरै भूमिहीन दलित तथा सुकुमबासी रहेको भन्दै कार्यक्रम चाँडो गरिएको उनको आरोप छ।

तीन वर्षदेखि शुरु भएको कार्यक्रम अहिलेसम्म नगरेर चुनावकेन्द्रित रहेको उनले आरोप लगाइन्। बाँकी रहेकाहरूको पनि प्रक्रिया पूरा गरेर एकै पटक वितरण गर्न आफूले आग्रह गरे पनि जम्मा दुई घर परिवारलाई मात्र पूर्जा वितरण गरिएको मा आफ्नो असन्तुष्टि रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved