दुवै छिमेकीको सुरक्षा चासो

दुवै छिमेकीको सुरक्षा चासो

काठमाडौं । गएको दुई हप्तामा नेपालले उत्तरी छिमेकी चीनका परराष्ट्रमन्त्री वाङ यी (११-१३ चैत) लाई नेपालमा स्वागत गर्‍यो भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा (१८-२० चैत) भारत भ्रमणमा गए।

कोभिड महामारीका कारण भौतिक रूपमा केही दूरी कायम गरेको नेपालले दुवै देशसँग सम्पर्क भने बनाइ राख्यो। दुवै छिमेकीसँग सम्पर्क बढाउँदै गर्दा दुवै छिमेकीले नेपालसँग एउटा समान चासो राखे, सुरक्षा।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँगको दुईपक्षीय छलफलपछि शनिबार (१९ चैत) मा आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले अन्य विषयका साथै नेपालसँग सुरक्षा चासो पनि व्यक्त गरे। मोदीले नेपाल-भारतबीच खुला सीमा अवाञ्छित तत्वबाट दुरुप्रयोग नहोस् भने।

दुई देशबीच सुरक्षाबाहेक समस्याका अन्य आयाम पनि छन्। यद्यपि दुई देशका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले सुरक्षा चासोलाई बढी केन्द्रमा राखेको देखिन्छ।

यस्तै चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको मुख्य उद्देश्य पनि सुरक्षा चासो नै थियो। विशेषगरी नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा हस्ताक्षर गरेपछि चीनमाथि बढ्न सक्ने सुरक्षा खतरालाई मध्यनजर राख्दै चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमण गरेका थिए।

अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा मामिलाका केही जानकारहरू एमसीसीलाई अमेरिकाको हिन्द प्रशान्त रणनीतिअन्तर्गत व्याख्या गर्ने गर्छन्। हिन्द प्रशान्त रणनीति अमेरिकाको चीनलक्षित रणनीति भएका कारण पनि नेपालले एमसीसी पारित गरेसँगै चीनले त्यसलाई आफ्नो सुरक्षा चुनौतीका रूपमा बुझ्ने गरेको छ।

नेपालमा बढ्दो चिनियाँ उपस्थिति र भारत विरोधी भावनालाई भारतीय पक्षले आफ्नो सुरक्षा संवेदनशीलतासँग जोडेर हेर्ने गरेको छ। यसअघि दुई देशबीचको खुला सीमाका कारण पाकिस्तानीहरूले नेपाली सीमा दुरुप्रयोग गर्न सक्ने विषयलाई भारतले विशेष चासो दिने गर्थ्यो भने पछिल्लो समय यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई पनि भारतले आफ्नो सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेको पाइन्छ। 

आर्थिक हिसाबमा विश्वमै प्रभाव राख्न सक्ने नेपालका दुई छिमेकी देशको सुरक्षा चासोलाई सन्तुलनमा राख्नुपर्ने बाध्यताका कारण नेपालले भने उनीहरूको आर्थिक प्रगतिबाट फाइदा लिन सकेको छैन।

भारतको सुरक्षा चासो

नेपालमा बढ्दो चिनियाँ उपस्थिति र भारत विरोधी भावनालाई भारतीय पक्षले आफ्नो सुरक्षा संवेदनशीलतासँग जोडेर हेर्ने गरेको छ। यसअघि दुई देशबीचको खुला सीमाका कारण पाकिस्तानीहरूले नेपाली सीमा दुरुप्रयोग गर्न सक्ने विषयलाई भारतले विशेष चासो दिने गर्थ्यो भने पछिल्लो समय यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई पनि भारतले आफ्नो सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेको पाइन्छ।

भारत रक्षामन्त्रालयअन्तर्गत मोहन पारेकर अनुसन्धान संस्था (आईडीएसए) का अनुसन्धानकर्ता निहार नायक नेपालमा बढ्दै गएको चिनियाँ उपस्थितिलाई भारतीय पक्षले चासोको साथ हेरेको बताउँछन्।

नेपालले चीनसँग हस्ताक्षर गरेको बीआरआईका दुई बुँदामा भारतीय पक्षको विशेष चासो रहेको उनको बुझाइ छ। ‘नेपालको आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवर्द्धन गर्ने बुँदामा’ भारतको विशेष चासो रहेको नायक बताउँछन्।

केही खास विषयमा असमझदारीका बाबजुद भारत र चीनबीचको सम्बन्ध घनीभूत हुँदै गएको अवस्थामा नेपालमा बढेको चिनियाँ उपस्थितिलाई भारतले सकारात्मक रूपमा लिन सकेको छैन। नेपाल भ्रमणमा आउनुअघि चिनियाँ परराष्ट्रमन्त्री वाङ भारतमा थिए।

भारतमा रहँदा उनले ‘एशियामा चीन एक धुव्रीय नेतृत्व गर्ने सोचाइ नरहेको’ भन्ने अभिव्यक्ति दिएको समाचार पनि प्रकाशित भएका थिए। यस्तै चीनले एशियामा चीन-भारतबीच सहकार्य गर्न ‘चीन-भारत प्लस एक’ देशको अवधारणा पनि बढाएको बताइन्छ। सन् २०२० मा भारत-चीनबीच लद्दाखमा भएको भीडन्त र सन् २०१७ मा दोक्लाम घटनाले दुई देशको सम्बन्धमा तिक्तता आएको हो।

गैडाज् डान्स विथ टाइगर एण्ड ड्रागन पुस्तक (पृ.२३) मा विश्लेषक अच्युत वाग्ले स्वतन्त्र भारतको स्थापनापश्चात् नै भारतले नेपालसँग सुरक्षा चासो देखाउँदै आएको बताउँछन्। यसलाई वाग्ले भारतको उपनिवेशिक मानसिकताका रूपमा व्याख्या गरेका छन्।

“नेपालका लागि भारतका पहिला राजदूत सीपी एन सिंहदेखि हालसम्म कूटनीतिक संवेदनशीलता देखाउन र नेपाललाई सूक्ष्म व्यवस्थापन गर्न भारतले नेपालमा सुरक्षा चासोलाई विशेष रूपमा प्रस्तुत गर्ने गरेको छ।”

नेपाल-भारत सम्बन्धको कुरा गर्दा भारतले सुरक्षासम्बन्धी चासो सन् १०५० को शान्ति तथा मैत्री सन्धिको कुरा पनि आउँछ। जुन सन्धिलाई नेपालले विगतदेखि नै असमान भन्दै यसको पुनरवलोकनको माग राख्दै आएको छ।

यसै सिलसिलामा २०७३ मा दुवै देशका सरकारले प्रबुद्ध व्यक्ति सम्मिलित एक समुहको गठन गर्‍यो, जसको म्याद दुई वर्ष तोकियो। समूहको मुख्य काम नेपाल भारतबीचको शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्ने र समयसापेक्ष हिसाबमा दुवै देशका सरकारलाई सल्लाह दिने थियो।

नौ चरणको बैठकपछि समायावधिअघि नै समूहले एक साझा प्रतिवेदन निर्माण गरे पनि त्यो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। प्रतिवेदनले नेपालसँग भारतले राख्दै आएको सुरक्षा चासोलाई पनि सम्बोधन गरेको बताइन्छ। तर, भारतीय प्रधानमन्त्री मोदीकै अनिच्छाका कारण प्रतिवेदन सार्वजनिक हुन सकेको छैन।

गैडाज् डान्स विथ टाइगर एण्ड ड्रागन पुस्तक (पृ.२३) मा विश्लेषक अच्युत वाग्ले स्वतन्त्र भारतको स्थापनापश्चात् नै भारतले नेपालसँग सुरक्षा चासो देखाउँदै आएको बताउँछन्। यसलाई वाग्ले भारतको उपनिवेशिक मानसिकताका रूपमा व्याख्या गरेका छन्।

नेपाल भारतबीचको सम्बन्धको कुरा गर्दा भारतले नेपालसँगको सम्बन्धमा सधैँ बल प्रयोग गर्छ भन्ने नेपालमा एक खालको बुझाई नेतादेखि आम मानिसमा व्याप्त भएको पूर्वपरराष्ट्रमन्त्री डा. भेष बहादुर थापा बताउँछन्।

डा. थापा भन्छन्, “यस्तै अतिशयोक्ति बुझाइका कारण नेपाल भारतबीचको सम्बन्धमा सुरक्षाको विषय प्रधान भएर आउने गरेको हो।” योसँगै नेपाल भारतबीचको सम्बन्धको कुरा गर्दा दुई देशबीचको खुला सीमालाई पनि सुरक्षा संवेदनशीलताको रूपमा व्याख्या गरिन्छ।

त्यसो त नेपालले २०४३ मा सीमा नियमन गर्न भारतलाई प्रस्ताव गरे पनि त्यसको कुनै सुनुवाइ नभएको रमेशनाथ पाण्डेले आफ्नो पुस्तक ‘कूटनीति र राजनीति’मा उल्लेख गरेका छन्। सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुने गरेको दुवै देशले स्वीकार गरे पनि त्यसको उचित हल निकाल्ने विषयमा दुवै देश मौन रहँदै आएको छ।

तर, नेपाल भारत सम्बन्धका जानकार डा.उद्धव प्याकुरेलको विचारमा भारत दुई देशबीचको सीमा राम्रो व्यवस्थापन होस् भन्ने चाहन्छ। व्यवस्थापनको अर्थ सीमा बन्दै गर्ने भने नभएको उनी बताउँछन्। खुला सीमाका कारण भारतले सुरक्षा संवेदनशीलताका विषयमा बढी चासो लिएको उनको तर्क छ। “नेपाल मामिलामा भारतको सुरक्षा संवेदनशीलता छ भन्नुको अर्थ खुला सीमा बन्द गर्ने चाहना भने होइन,” प्याकुरेल धारणा राख्छन्।

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे भने नेपाल भारतसँग असुरक्षित नभएको र भारतले पनि नेपाली भूमिबाट असुरक्षा महशुस गर्नुपर्ने कुनै कारण नभएको बताउँछन्। “सीमा क्षेत्रमा अवाञ्छित गतिविधि भएका छन् भने सीमालाई दुई पक्ष मिलेर नियमन गर्न सक्छ,” पाण्डे भन्छन्, “तर, त्यहाँ हुने गतिविधिका नाममा नेपालमा खुला हस्तक्षेप गर्न भने पाइँदैन।”

चीनको सुरक्षा चासो

भारतकै तहमा नभए पनि चीनले पनि शुरुआतदेखि नै नेपाललाई सुरक्षा मामिलासँग जोडेर हेर्ने गरेको छ। चीनले नेपाललाई महत्व दिनु पछाडि उसको सुरक्षा चासो नै प्रमुख आधार हो भन्ने चर्चा पनि छ। नेपाल भ्रमणका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङले आफ्ना नेपाली समकक्षी डा. नारायण खड्कासँगको भेटमा “नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेप र यहाँ हुने कुनै पनि भूराजनीतिक खेलको चीनले विरोध गर्छ,” भन्ने अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्ति नेपालमा हुने विदेशीको चलखेल चीनविरुद्ध भएको आशयको थियो। भने, उनले यस्तो अभिव्यक्ति नेपालमा भएको चीनको सुरक्षा चासोकै कारण व्यक्त भएको हो।

चीनले नेपालम देखाउने सुरक्षा चासोको कारण ‘स्वतन्त्र तिब्बत’ को विषय पनि हो। नेपाली भूमिबाट चीनविरुद्ध हुन सक्ने गतिविधिलाई नै चीनले नेपालसँगको आफ्नो सुरक्षा चासोका रूपमा लिने गरेको छ।

अर्को अमेरिकाले एशिया क्षेत्रमा बढाउँदै गरेको आफ्नो सक्रियताका कारण पनि चीनले सुरक्षा चासो बढाएको विश्लेषक वाग्ले बताउँछन्। “अमेरिकाले चीनलक्षित गर्दै ल्याएको वाक्ड र हिन्द प्रशान्त रणनीतिले चीनको सुरक्षा संवेदनशीलता बढाएको छ।” वाक्डमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सदस्य छन्। वाक्डमार्फत चीनको सुरक्षामा असर पुर्‍याउनुपरेको अवस्थामा नेपालको भूमि प्रयोग हुने चिनियाँको आशंका कारण पनि उनीहरूले सुरक्षामा चासो देखाएका हुन्।

नेपाल र उसका दुई छिमेकीसँगको सम्बन्धको इतिहास लामो छ तर पनि सुरक्षा चासोमा सम्बन्ध अल्झिएको छ। यसमा नेपालको अस्थितर राजनीति प्रमुख कारण भएको नेपाली सेनाका पूर्व जर्नेल विनोज बस्नेत बताउँछन्। दुवै देशसँगको सम्बन्धको आयाम फराकिलो हुनुपर्ने थियो तर त्यो सुरक्षाको दायरामा मात्रै सीमित हुनु हाम्रो लागि सकारात्मक नभएको उनको बुझाई छ।

“हाम्रो अस्थिर राजनीति र पैसाका लागि राजनीतिक मूल्य र नैतिकता नै छोड्ने नेतामा बढ्दै गएको प्रवृत्तिका कारण छिमेकी हामीसँग ढुक्क हुन सक्ने अवस्था नभएका कारण सुरक्षा चासो बढेको हो,” सुरक्षा विश्लेषकसमेत रहेका बस्नेत भन्छन्, “त्यसैले नेपालका दुवै छिमेकी देशले नेपालसँगको पछिल्लो अन्तक्रियामा सुरक्षा चासोलाई प्रमुखता दिएका होलान्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved