नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदैछ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदैछ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि भोलि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ। आज दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिएका हुन्।

उनले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताए। नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए। आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे।

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गरे।

आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताए।

प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “संविधान जारी गरेपछि तीनवटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो। अब फेरि एक वर्षभन्दा कम समयमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved