नजिकिँदो चुनावबीच प्रधानमन्त्री देउवाको भारत भ्रमण, अवस्थाजन्य स्वार्थ !

नजिकिँदो चुनावबीच प्रधानमन्त्री देउवाको भारत भ्रमण, अवस्थाजन्य स्वार्थ !

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा नेपालका दुई छिमेकी देशको प्रभाव विशेष रहेको देखिन्छ।

केही समयअघिसम्म नेपालको आन्तरिक मामिलामा मौन रहेने उत्तरी छिमेकी चीन पछिल्लो समय मुखर भएर आएको छ भने दक्षिणी छिमेकी भारत नेपाललाई लामो समयदेखि आफ्नो प्रभाव क्षेत्रका रूपमा विश्लेषण गर्दै आएको छ। त्यसैको प्रभाव स्वरूप नेपालमा प्रधानमन्त्री नियुक्त भएपिच्छे नेताहरूको भारत भ्रमण हुने गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा हाल भारत भ्रमणमा रहेका छन्। नेपालमा स्थानीय तहको निर्वाचनको मिति नजिँकिदै गर्दा प्रधानमन्त्री देउवा भारतको भ्रमणमा रहेका हुन्। प्रधानमन्त्री नियुक्त भएपछि नै भारत भ्रमणमा जाने इच्छा राखेका देउवाको भारत भ्रमणको साइत भने अहिले आएर जुरेको हो। तर, स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा भएको प्रधानमन्त्रीको भारत भ्रमणलाई भने निर्वाचनलक्षित रहेर विश्लेषण गर्न थालिएको छ।

नेपाली कांग्रेसका नेता उदय शम्शेर राणा भने प्रधानमन्त्रीको भारत भ्रमणलाई निर्वाचनसँग जोडेर हेर्नुपर्ने आवश्यकता नरहेको बताउँछन्। निर्वाचन नेपालको आन्तरिक विषय भएको बताउँदै नेता राणाले प्रधानमन्त्रीको भारत भ्रमण र स्थानीय तहको निर्वाचन दुई फरक विषय भएको बताए।

“प्रधानमन्त्रीको भारत भ्रमणलाई निर्वाचनसँग जोडेर हेर्न मिल्दैन,” नेता राण भन्छन्, “निर्वाचन हाम्रो आन्तरिक विषय हो।”

कांग्रेसका युवा नेता राणाले निर्वाचनलाई नेपालको आन्तरिक विषय भन्दै गर्दा मंसीरको अन्तिम हप्ता सम्पन्न पार्टीको १४ औँ महाधिवेशनअघि सभापतिका प्रमुख प्रत्यासी नेताहरूले भारत भ्रमण गरेका थिए। भने, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति तय भएसँगै नेपाल–भारत सम्बन्धका विषयमा जानकार प्रध्यापक एसडी मुनीले महाधिवेशनमा सभापतिमा निर्वाचित हुन भारतीय संस्थापनले लगाएको ‘गुन तिर्न’ नेपालका प्रधानमन्त्री भारत भ्रमणमा आएको बताएका छन्।

केही दिनअघि ट्वीट गर्दै प्रध्यापक मुनीले भनेका छन्, “महाधिवेशनमा भारतले लगाएको गुन तिर्न प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउँदैछन्।” प्रध्यापक मुनीको भनाइमा सत्यता होला/नहोला यो फरक विषय हो। तर नेपाली आन्तरिक राजनीतिमा भारतको प्रभाव भने नेपालमा प्रजातन्त्र स्थापना कालदेखिकै भएको प्राध्यापक डा. राजेश गौतम बताउँछन्।

नेपाली कांग्रेसको इतिहासका विषयमा लामो खोज अनुसन्धान गर्दै कांग्रेसको इतिहासका विषयमा पुस्तक समेत लेखका प्राध्यापक डा.गौतम भन्छन्, “नेपालको आन्तरिक राजनीतिमा भारतको लामो समयदेखि प्रभाव रही आएको देखिन्छ, यो ढाँटेर ढाँटिने विषय होइन।”

नेपालको राजनीतिक परिवर्तनको प्रत्येक आन्दोलनदेखि आन्तरिक नीति निर्माणमा समेत भारतको प्रभाव रहेको प्रध्यापक डा. गौतम बताउँछन्। यस्तो अवस्थामा स्थानीय तहको निर्वाचनको समयमा भारत भ्रमणमा प्रधानमन्त्री देउवा निस्किदा त्यसको प्रभाव निर्वाचनमा नपर्ला भन्ने नसकिने उनको दाबी छ।

यस्तै भारत भ्रमणका समयमा प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको पनि भ्रमण गर्नेछन्। समान्यतयाः दुई पक्षीय भ्रमणमा निस्किदा नेपालका कुनै पनि प्रधानमन्त्रीले भारतीय सत्तारुढ दलको मुख्यालयको भ्रमण गरेको इतिहास छैन।

यद्यपि, प्रधानमन्त्री देउवाले सबै मूल्यमान्यता विपरित गएर भाजपाको मुख्यालय भ्रमण गर्न लागेका हुन्। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको भ्रमण गर्न लागेका हुन्। सम्भावना भ्रमणका क्रममा भारतमा रहँदा प्रधानमन्त्री देउवाले भारतका प्रमुख प्रतिपक्ष दलका नेतालाई भेट्ने कार्यक्रम नरहँदा सत्तारुढ दल भाजपाको मुख्यालय भ्रमणका लागि भने उनले सहमति जनाएका हुन्।

यसअघि २१ असोजमा नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण मतहको नेतृत्वमा कांग्रेसका तीन नेता भारत भ्रमणमा गएका थिए। भाजपा र नेपाली कांग्रेसबीच आन्तरिक सम्बन्ध विस्तारका लागि भन्दै कांग्रेसका तीन नेताले भारतको भ्रमण गरेका थिए। नेपालका कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध विस्तारका लागि पहल हुँदा नेपालको प्रमुख प्रजातान्त्रिक दल समेत रहेको कांग्रेसले भाजपासँगको आफ्नो सम्पर्क बढाउने नीति लिएको थियो।

नेपाली कांग्रेस र भाजपाबीच साझा सौद्धान्तिक आधार नरहे पनि बद्लिँदो परिवेशलाई मध्यनजर राख्दै व्यवहारिक सम्बन्ध विस्तारका लागि कांग्रेस भाजपासँग नजिक हुन लागेको कांग्रेसका नेता बताउँछन्।

प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको सैद्धान्तिक धरातल हो भने आन्तरिक मानवतावाद भाजपाको। धर्मलाई राजनीतिभन्दा टाढा राख्नुपर्ने नेपाली कांग्रेसको प्रचलित मान्यता हो भने, धर्मकै आधारमा सत्ताको सोपान गरेको भाजपालाई आरोप छ।

भाजपासँगको नेपाली कांग्रेसको सम्बन्धको इतिहास खोज्दा तत्कालीन नेपाली कांग्रेसका नेता डा तुलसी गिरी राष्ट्रिय स्वयंम सेवक (रासस) संघको सदस्य हुनुबाहेक अरू खासै सम्बन्ध देखिँदैन। राससकै प्रेरणामा भाजपाको कार्यदिशा तय हुने विश्वास गरिन्छ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम नेपाली कांग्रेस र भाजपाबीच १९९० को दशकसम्मै सम्बन्ध नभएको बताउँछन्। “भाजपा नेता अटल विहारी बाजपेयी पहिलो पटक सन् १९९६ मा भारतको प्रधानमन्त्रीमा नियुक्त हुँदासम्म पनि नेपाली कांग्रेस र भाजपाबीच औपचारिक सम्बन्ध स्थापना भएको थिएन,” विश्लेषक गौतम भन्छन्, “दुई पार्टीबीच विस्तार हुन लागेको सम्बन्ध अवस्थाजन्य स्वार्थले प्रेरित गरेको भन्न सकिन्छ।”

भारतको राष्ट्रिय राजनीतिमा अन्य पार्टीको प्रभाव घट्दै गएको देखिन्छ। भारतको ‘मिनि लोकसभा’ को निर्वाचन मानिने उत्तर प्रदेशमा १० फेब्रुअरीबाट शुरु भएको विधानसभाको निर्वाचनको परिणाम १० मार्चमा आयो। उत्तर प्रदेशमा भाजपाले यो पटको विधानसभाको निर्वाचनमा पराजित हुने धेरैको विश्वास थियो। भारतकै राजनीतिक पण्डित कहलिएका व्यक्तिहरू पनि भाजपालाई उत्तर प्रदेश विधानसभाको निर्वाचन जित्न मुश्लिक रहेको निर्वाचनअघि बताउने गर्थे।

विशेषगरी सन् २०१७ मा स्थापना भएको भाजपा नेतृत्वको सरकारले पछिल्लो समय लिएको नीतिलाई उनीहरूले आधार मानेका थिए। कृषि कानून, धर्मको राजनीति लगायतका विषयलाई उनीहरू आफ्नो दाबीको आधार मान्थे। त्योसँगै निर्वाचनको मुखमा भाजपाका केही प्रभावशाली नेताले पार्टी परित्याग गरेको कारण पनि भाजपाले निर्वाचनमा पराजित हुने अनुमानलाई आधार दिएको थियो।

सबैको अनुमानलाई गलत सावित गर्दै भाजपाले फेरि उत्तर प्रदेशमा बहुमतको सरकार बनाएको छ। यी आधारालाई सायद नेपाली कांग्रेसका नेताले मूल्यांकन गरेका होलान्। त्यसैले पनि भाजपासँग सम्बन्ध विस्तार गर्दा त्यसको प्रभाव नेपालको आन्तरिक राजनीतिमा पनि पर्ने कांग्रेसले अनुमान गरेको हुनुपर्छ।

यद्यपि, देशको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले पार्टीगत सम्बन्ध विस्तारका लागि भाजपाको मुख्यालय नै भ्रमण गरेको विषयलाई भने कूटनीतिक मर्यादाभित्र राख्न सकिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved