कैलाली: चुनावी गठबन्धनका लागि समाजवादी र माओवादी सक्रिय

कांग्रेसले २२ चैतमा कार्यसमितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्ने बताएको छ।

कैलाली: चुनावी गठबन्धनका लागि समाजवादी र माओवादी सक्रिय

धनगढी। कैलालीका सबै स्थानीय तहमा गठबन्धन गर्न नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका नेताहरू सक्रियता बढाएका छन्। दुवै दलका नेताहरूले कांग्रेससहित सत्ता साझेदार पाँच दलहरूबीचको गठबन्धन कायम राखेर चुनावमा जाने प्रयास गरिरहेका हुन्।

अन्य दलसँग सहमति नभएर समाजवादी र माओवादी मात्रै भए पनि चुनावी तालमेल गर्ने तयारीमा छन्। मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनका नेताहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने छलफल भएको थियो। छलफलमा समाजवादीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारी, माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायणदत्त भट्ट राजपाको तर्फबाट गयाप्रसाद चौधरी र जनमोर्चाको तर्फबाट नन्दराज भट्ट उपस्थित थिए।

छलफलमा नेताहरूले स्थानीय तहमा गठबन्धन गर्न आवश्यक रहेको भन्दै गठबन्धन गर्न सबै दललाई आग्रह गरेका थिए।छलफलमा एकीकृत समाजवादीका नेता सोडारीले जिल्लामा पार्टीको अवस्था हेरेर भागबण्डा गर्नेगरी गठबन्धन गर्नुपर्ने बताए।

तर छलफलले कुनै निर्णय भने गरेन। माओवादी कैलालीका इन्चार्ज ज्ञवालीले भने, ‘‘यस्तै छलफलमा कुनै पनि निर्णय भएन तर गठबन्धन आवश्यक भएकाले सबै दललाई गठबन्धन गर्न अनुरोध गर्ने छलफल भएको छ।” उनले सहमति गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए। उनले अन्य दलहरूले पनि गठबन्धनबारे चाँडै निर्णय लिनुपर्ने बताए।

यस्तै सोमबार पनि माओवादी र समाजवादी पार्टीका नेताहरूबीचको अनौपचारिक छलफलमा कांग्रेसले गठबन्धन नगरे आफूहरू गठबन्धन गरेर चुनावमा जानुपर्नेमा सहमति भएको थियो।

कांग्रेस कैलाली सभापति भट्टले भने गठबन्धनका लागि वडास्तरसम्मकै धारणा बुझ्नुपर्ने बताए। ‘‘वडाबाट रिपोर्ट आएपछि हामी निर्णय गर्छौं,” उनले भने, ‘‘केन्द्रीय सदस्यहरूलाई राखेर म सहमतिको प्रयास गर्छु।’’ २२ गते जिल्ला कार्यसमितिको बैठकमा थप छलफल गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved