डिलर कमिसन बढाउन निगमलाई एसोसिएसनले दियो १५ दिनको म्याद

आगामी १५ दिनमा पनि डिलर कमिसन नयाँ मूल्यअनुसार समायोजन नभए आन्दोलन घोषणा गरेर अघि बढ्ने एसोसिएसनले जनाएको छ।

नेपालभ्युज

डिलर कमिसन बढाउन निगमलाई एसोसिएसनले दियो १५ दिनको म्याद

काठमाडौं। पेट्रोलियम पदार्थका डिलरहरुले नेपाल आयल निगमलाई डिलर कमिसन बढाउनका लागि १५ दिनको समय दिएका छन्। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै डिलरहरुले कमिसन बढाउन माग गरेका हुन्।

पेट्रोलियम डिलरहरुको संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी १५ दिनसम्म पुरानै डिलर कमिसनमा पेट्रोलियम पदार्थ उठाउने तर त्यसपछि भने नउठाउने तयारी गरेको हो।

एसोसिएसनले नयाँ मूल्यअनुसार कमिसन तय गर्नका लागि निगमलाई १५ दिनको समय दिएको हो। आगामी १५ दिनमा पनि डिलर कमिसन नयाँ मूल्यअनुसार समायोजन नभए आन्दोलन घोषणा गरेर अघि बढ्ने एसोसिएसनले जनाएको छ।

त्यसअघि, बिहीबार बसेको निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थमा मूलय बढे पनि घाटा पूर्तिका लागि भन्दै डिलरहरुलाई थप कमिसन नदिने निर्णय गरेको थियो। जसको जवाफमा व्यवसायीले शुक्रबार निगमको डिपोबाट तेल उठाएका थिएनन्।

गतवर्षदेखि सरकारले पेट्रोलियम पदार्थ बिक्री गर्ने डिलरहरुलाई प्रतिशतका आधारमा कमिसन दिने व्यवस्था गरेको थियो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ३.३९ प्रतिशत र डिजेलमा प्रतिलिटर ३.१२ प्रतिशत कमिसन डिलरहरुले पाउँदै आएका थिए।

नयाँ मूल्य समायोजनपछि अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रूपैयाँ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved