आठ वर्षदेखि युद्धको त्रासमा बाँचिरहेका युक्रेनी : फिल्ममेकर ओलाको अनुभूति

“क्रिमियामाथि हमला भएयता हामी विगत आठ वर्षदेखि युद्धको त्रासमा बाँचिरहेका छौं। रुसले झमेला झिकिरहन्छ भन्ने थाहा थियो तर बिहीबार एक्कासी आक्रमण गरिहाल्ला भन्ने अपेक्षा थिएन।”

आठ वर्षदेखि युद्धको त्रासमा बाँचिरहेका युक्रेनी : फिल्ममेकर ओलाको अनुभूति

काठमाडौं।  आधुनिक युरोपको कुनै भूभाग एक्काइसौं शताब्दीमा आएर यसरी युद्धमा फस्छ भन्ने अनुमान सायदैलाई थियो। तर बिडम्बना मान्नुपर्छ, अहिले युक्रेनमा युद्ध चलिरहेको छ।

ठाउँ–ठाउँमा रुसले मिसाइल हानेकाले घरभित्र पनि मानिस सुरक्षित छैन। कतिपय मानिस युद्ध छल्न देश छाडेर हिंडेका छन्। कतिपय युवाहरू घर–परिवार गुमाउँदाको पीडा भुलेर अहिले युद्ध मैदानमा उत्रिने तयारीमा छन्।

१८ वर्षदेखि ६० वर्ष उमेरका पुरुषलाई हतियार उठाएर लड्नका लागि युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेनस्कीले अपिल गरेका हुन्।

अर्थात्, रुसको आक्रमणलाई कसरी निस्तेज गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रीत छ। सर्वसाधारणको ध्यान आफू र आफ्नो परिवारको ज्यान कसरी जोगाउने ? युद्धले निम्त्याएको संकटबीच खाद्यान्नको जोहो कसरी गर्ने ? र, आफू जोगिएपछि देशको नक्सालाई विश्व मानचित्रमा कसरी जोगाउने भन्नेमा छ।

ओला भोज्ना युद्धग्रस्त युक्रेनकी रैनाथे हुन्। विभिन्न डकुमेन्ट्रीहरू बनाइसकेकी उनी बेलामौकामा आफ्ना चलचित्र लिएर नेपाल भ्रमणमा समेत आउने गरेकी छिन्।

सिनेमामार्फत शान्तिको पैरवी गर्दै विश्वका कुना-कुनामा डुल्ने ओला यतिबेला आफ्नै आँगनमा मडारिएको युद्धले आहत छिन्। र, युक्रेनबारे रुसले गलत सूचना फैलाइरहेको दाबी गर्छिन्।

“युक्रेनमाथि गलत विवरण दिँदै आक्रमण गरिएको छ। यहाँका मानिसहरूलाई सरकारबाट भएको दमनबाट जोगाउन हमला गरिएको दाबी रुसले गर्दै आएको छ तर म साक्षी छु, युक्रेनमा कसैमाथि हमला भएको थिएन,” नेपालभ्यूजसँग भर्चुअल कुराकानी गर्दै उनले भनिन्।

नाटोको सदस्यताले निम्त्याएको विवाद

युक्रेनले उत्तरी एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिन खोजेपछि रुससँगको उसको सम्बन्ध बिग्रँदै गएको बताइन्छ। अमेरिकी नेतृत्वको यो सैन्य संगठनमा फ्रान्स, बेलायत, जर्मनीलगायत पश्चिमा शक्तिहरू छन्। सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नो भूभागमा गाभेको थियो, त्यसपछि दुई देशबीच युद्ध चल्यो। र, अन्त्यमा अमेरिका, रुस र युक्रेनबीच सम्झौता भयो।

“रुसको सम्भावित आक्रमणबाटै बच्नकै लागि युक्रेनले नाटोको सदस्यता लिन खोजेको थियो,” उनले भनिन्, “किनकी क्रिमिया युद्धपछि सन् २०१४ मा दुई देशबीच भएको मिन्स्क सम्झौतामा युद्ध रोक्ने उल्लेख थियो तर रुसले सम्झौता पालना गरेन।”

आक्रामक रुस

क्रिमियालाई आफ्नो भूभागमा गाभेबापत रुसले पश्चिमा देशहरूको नाकाबन्दी खेप्नुपर्‍यो जुन अहिले पनि जारी छ। तर आर्थिक रूपमा दण्डित गरे पनि रुसमाथि पश्चिमा देशले अरू सजाय दिन सकेनन्। आर्थिक नाकाबन्दीको असर पनि त्यतिसाह्रो देखिएन किनकी पश्चिमा मुलुकसँगको सम्बन्ध बिग्रिए पनि चीनसँग सहकार्य थप घनिष्ट हुँदै गयो।

बरु, क्रिमिया कब्जा गरेपछि हौसिएको रुसले पूरै युक्रेन कब्जा गर्ने मनसाय राखेको ओला बताउँछिन्। पूर्वी युक्रेनको दोनेत्स्क र लुहान्स्कमा २०१४ देखि नै पृथकतावादी आन्दोलन सञ्चालन भएको थियो। त्यहाँका पृथकतावादी समूहहरूलाई अलग मान्यता दिनेमात्रै होइन, उनीहरूको बचाऊका लागि भन्दै सेना पठाउने काम पनि रुसले भर्खरै गर्‍यो‍‍। अहिलेको रुस–युक्रेन युद्ध गहिरिनुको मुख्य कारण यही हो।

“स्वतन्त्र राज्यको मान्यता मागेको भन्ने नै गलत हो। यहाँ बस्दै आएका मानिसहरू रुसी भाषा बोल्न स्वतन्त्र थिए युक्रेन सरकारले उनीहरूलाई कुनै दमन पनि गरेको थिएन,” ओलाले भनिन्,”रुसका आतंककारीहरूले युक्रेनमा हमला गर्नकै लागि स्वतन्त्र राज्यको माग गरिएको अफवाह फैलाए। यस्तो झुठलाई स्थापित गरेर उनीहरू आक्रमणलाई जायज देखाउन चाहन्थें।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको कुनै इतिहास नै नभएको दाबी समेत गरेका छन्। रुसले नै युक्रेन बनाएको पनि उनको दाबी छ तर ओला यसलाई पनि झुटको खेती भन्छिन्।

८ वर्षदेखि त्रासमा छौं

ओलाका अनुसार युक्रेनका जनतालाई रुसले झमेला झिकिरहन्छ भन्ने पहिल्यैदेखि थाहा थियो।

“क्रिमियामाथि हमला भएयता हामी विगत आठ वर्षदेखि युद्धको त्रासमा बाँचिरहेका छौं। रुसले झमेला झिकिरहन्छ भन्ने थाहा थियो तर बिहीबार एक्कासी आक्रमण गरिहाल्ला भन्ने अपेक्षा थिएन।”

युक्रेनमा पश्चिमा देशले खेलेको भूमिकालाई लिएर पनि ओला सन्तुष्ट छैनन्।

“मेरो बुझाईमा सबै देशले आर्थिक दृष्टिकोणले रुस–युक्रेन समस्यालाई हेरेका छन्। तर अब उनीहरू सबैले आर्थिक दृष्टिकोणबाट माथि उठेर मानवीय दृष्टिकोणबाट यो मुद्दालाई हेर्नुपर्छ जस्तो मलाई लाग्छ। राजनीतिक संकटसँगै युक्रेनमा समानको मूल्यवृद्धि भएको छ। युक्रेनलाई समर्थन गर्ने जो कोहीले त्यसको परिणाम भोग्नुपर्ने खुला चुनौती रुसले दिएको छ। यस्तो अवस्थामा युक्रेनका छिमेकी पश्चिमी देशहरू आफ्नो नाफा नोक्सानको मात्रै हिसाब गरेर बस्न हुँदैन। उनीहरूले रुसविरुद्ध निर्णायक र तत्काल कडा कदम चाल्नुपर्ने बेला आइसकेको छ, तर अझै उनीहरू आर्थिक प्रतिबन्धमात्रै लगाएर बसेका छन्,” उनले भनिन्।

युक्रेन सरकार के गर्दैछ ?

ओलाका अनुसार युक्रेनमा सरकारले सैन्य दस्ता निर्माणको तयारी गर्दैछ।

“हामीहरूलाई पछिल्लो अवस्थाका विषयमा जानकारी गराउने काम गर्दै नआत्तिनका लागि आग्रह गरिएको छ। राष्ट्रपतिले देशको रक्षाका लागि युद्ध गर्नसक्ने सम्पूर्ण युवाहरूलाई युद्धमा उत्रिन पनि आग्रह गरेका छन्,” उनले भनिन्।

युक्रेनमा रहेका विदेशीहरू पनि अहिले आत्तिएका छन्। भारतले ठूलो संख्यामा रहेका आफ्ना विद्यार्थीहरूलाई फर्काउनका लागि विमान चार्टर्ड गरेर पठाएको छ। यहाँ रहेका नेपालीहरूको उद्धारका विषयमा अहिलेसम्म सरकारले केही बोलेको छैन।विदेशीका विषयमा आफू जानकार नरहेको ओलाले बताइन्।

“हो, युक्रेनमा धेरै विदेशीहरू बस्छन्। तर, विडम्बनाका साथ भन्नुपर्छ मलाई उनीहरूका विषयमा केही जानकारी छैन। अन्य व्यक्तिहरूले जस्तै उनीहरूले पनि वर्तमान अवस्थाबाट बाहिर निस्किने कुनै उपाय भेटुन् भन्ने प्रार्थना गरौँ,” उनले भनिन्।

युक्रेनले नाटोको सदस्यता लिन खोज्दा रुसले आक्रमण गरेको भन्ने विश्लेषण अन्तर्राष्ट्रिय जगतमा हुँदै आएको छ। तर, ओला यसलाई अस्विकार गर्छिन्।

“युक्रेनले नाटो सदस्यता लिन खोज्दा वर्तमान समस्या आएको होइन। सत्य के हो भने युक्रेनको स्वतन्त्र सार्वभौमसत्तामाथि अर्को देशले आक्रमण गर्‍यो, रुसले आक्रमण गर्‍यो। अन्यायपूर्ण हिसाबमा पुटिनले शुरु गरेको यो युद्ध रोकिनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved