नक्कली राष्ट्रवाद छताछुल्ल भइसक्यो, एमसीसी आउँदैमा अमेरिकी सेना आउँदैन : शर्मा

नेपालभ्युज

नक्कली राष्ट्रवाद छताछुल्ल भइसक्यो, एमसीसी आउँदैमा अमेरिकी सेना आउँदैन : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसिसीका विषयमा नक्कली राष्ट्रवाद धेरै छताछुल्ल भइसकेको टिप्पणी गरे। एमसीसी नेपाल आउँदैमा अमेरिकी सेना नआउने जिकिर गर्दै देशको भौतिक पूर्वाधार विकास अपरिहार्य भएको र त्यसका लागि पर्याप्त बजेटको आवश्यक भएका कारण यो नेपाल र नेपालीको हितमा भएको उनले बताए।

एमसिसी अघि बढाउँदै गर्दा दुई दर्जन देशमा कार्यान्वयन भएको एमसिसी परियोजनाका विषयमा समेत गहन अध्ययन र विश्लेषण गर्नु आवश्यक भएको उनको विचार थियो।

झापाको गौरादह–३ स्थित पार्टी कार्यालय भवनको आज शिलान्यास गर्दै उनले यस्तो धारणा राखेका हुन्। पार्टी कार्यालय भवनका लागि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले निःशुल्क उपलब्ध गराएको दुई कट्ठा जमिनमा आज एक कार्यक्रमबीच उनले पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन्।

महामन्त्री शर्माले पार्टी भवन पूरा गराउन सबैको सहयोग हुनुपर्ने बताए। पार्टी र परिवार एक भएको चर्चा गर्दै उनले परिवार सक्षम, सबल भए मात्र समाजको नेतृत्व गर्न सक्ने औँल्याए।

पार्टी भवनलाई जनताको भावना बुझ्ने घरका रूपमा स्थापित गराउन पनि उनले सुझाव दिए। राजनीतिलाई सेवासँग जोड्नुपर्ने औँल्याउँदै उनले भने, “राजनीतिलाई बदनाम हुनबाट जोगाउन, यसका लागि हाम्रो भूमिका सकारात्मक हुन जरुरी छ।”

पार्टी कार्यकर्ताहरुको सहयोगबाट आफ्नो कार्यकाल भित्रमा कार्यालय भवन निर्माण गरिसक्ने वडा सभापति गोपाल बरालले बताए। शिलान्यास समारोहमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधिसमेत रहेका गौरादह नगरप्रमुख रोहितकुमार साहलगायतले मन्तव्य राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved