एमसीसी पास गराउन यसरी सक्रिय हुँदैछ कांग्रेस

एमसीसी पास गराउन यसरी सक्रिय हुँदैछ कांग्रेस

काठमाडौं । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएपछि यसलाई पारित गर्ने वातावरण बनाउनका लागि यतिबेला कांग्रेसको नेतृत्व सक्रिय छ। कांग्रेसले स्पष्ट रुपमै एमसीसी कुनै हालतमा पारित हुुनुपर्ने बताउँदै आएको छ।

तर, उसका सत्तासहयात्री दल माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय लिइसकेका छन्। माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलका कारण मात्रै संसदमा एमसीसी टेबल गर्न तयार भएका थिए। जबकी, यो परियोजना केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ३२ महीनाअघि नै संसदमा दर्ता भएको थियो।

मनाउने कोसिसमा देउवा
यसअघि देउवाले एमसीसी टेबल हुन नसके सत्तागठबन्धन नै टुट्ने धम्की दिएका थिए। तर, संसदमा एमसीसी टेबल भएपछि उनी अहिले नरम बनेका छन्, सत्ता–सहयात्रीहरुलाई मनाउने कोसिस जारी छ।

सोमबार बालुवाटारमा पार्टीका पदाधिकारीहरूसँग छलफल गरेपछि एमसीसीबारे सत्ताघटक दलहरूसँग संवाद गर्ने जिम्मा दिएर देउवाले रामचन्द्र पौडेललाई पठाए। यस बैठकमा सत्तागठबन्धन जोगाउने र एमसीसी पारित गर्ने विषयमा छलफल भएको थियो।

पौडेलले सोमबारै प्रचण्ड, माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन्। आजै कांग्रेसले पत्रकार सम्मेलन गरेर एमसीसी कुनै हालतमा पारित गराउने आफ्नो अडान दोहोर्या‍एको छ।

‘‘अहिले नै गठबन्धन असहयोग गर्छ भन्नेतर्फ हामीले सोचेका छैनौं,’’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘‘जसरी गठबन्धनका दलहरुले टेबल गर्न सहयोग गरेका छन्। उनीहरुले त्यसरी नै पारित गराउन पनि सहयोग गर्छन् भन्ने विश्वासमा हामी छौं।”

प्रतिनिधिसभा बैठक १२ फागुनमा बस्दैछ। यस बैठकमा एमसीसीबारे छलफल हुनेछ र पारितको प्रक्रिया अघि बढ्नेछ। तर, अहिलेसम्म यो सम्झौता पारित हुने ठोस आधार तय भइसकेको छैन।

सत्तासहयात्रीमध्ये कांग्रेस र जसपाको बाबुराम भट्टराई पक्ष यस सम्झौताबारे सकारात्मक छन्। तर, आन्तरिक विवादमा रुमल्लिएको जसपाले एमसीसीबारे स्पष्ट निर्णय भने गरिसकेको छैन। माओवादी र नेकपा एस विपक्षमा देखिएपनि प्रतिपक्षी एमालेले यस सम्झौताबारे आफ्नो धारणा अझै सार्वजनिक गरिसकेको छैन।

लोसपा भने एमसीसी पारित हुनुपर्ने पक्षमा छ।

एमसीसीको विपक्षमा भएपनि माओवादी केन्द्र र नेकपा एस सत्तागठबन्धन जोगाउने रणनीतिमा छन्। त्यहीकारण, कांग्रेससँग उनीहरूको संवाद चलिरहेको छ। सोमबार कांग्रेस नेता पौडेलसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा गठबन्धन नटुट्ने बताएका थिए।

जसपा नेपालसँग पनि पौडेलले भेट गरे, जसपालले एमसीसीको पक्षमा नै निर्णय गर्ने आश्वासन दिएको पनि नेता पौडेलले बताए।
आगामी १३ गते जसपा नेपालले एमसीसीको विषयमा निर्णयक गर्न पार्टीको बैठक बोलाएको छ। नेता बाबुराम भट्टराई पहिल्यैदेखि एमसीसीको पक्षमा खुलेकाले पनि जसपा बैठकले पक्षमै निर्णय गर्ने कांग्रेसको आशा छ।

एमालेसँग सहकार्यको संभावना

प्रधानमन्त्री देउवाको लाइन स्पष्ट छ : सकभर सत्तासहयात्रीहरूलाई नचिढ्याउने। उनीहरूलाई मनाएरै एमसीसी पारित गर्ने। तर, माओवादी केन्द्र र नेकपा एसले एमसीसी फेल गर्ने अडान कायमै राखेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिपक्षी एमालेको साथ अनिवार्य चाहिनेछ।

त्यस्तो अवस्थामा अहिलेको सत्तागठबन्धन भत्काएर एमसीसी पारित गराउनेतर्फ प्रधानमन्त्री अगाडी बढ्ने बालुवाटार स्रोतको भनाइ छ। एमाले अध्यक्ष केपी ओली पनि गठबन्धन भत्किएको हेर्न चाहन्छन्। आइतबार एक कार्यक्रममा उनले मुखै फोरेर भनेका छन्, ‘‘यो गठबन्धनलाई म पानीमुनी गएपनि छोड्दिन।’’

गठबन्धन भत्कने अवस्थामा एमसीसी पारित हुने प्रक्रिया पनि केहि लम्बिनसक्ने कांग्रेस नेताहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved