अन्नपूर्ण केबलकार लन्च, फेवा किनारदेखि ९ मिनेटमै सराङकोट

अन्नपूर्ण केबलकार लन्च, फेवा किनारदेखि ९ मिनेटमै सराङकोट

पोखरा। फेवातालको किनारदेखि सराङकोट जोड्ने गरी निर्माण गरिएको केबलकार शुक्रबारदेखि (फागुन ६) व्यावसायिक सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१८ सेदीबाट सराङकोट जोड्नको लागि अन्नपूर्ण केबलकार प्रालिले जिम्मेवारी लिएको हो।

दुई हजार २ सय ६५ मिटर लामो ‘अन्नपूर्ण केबलकार’  ६ फागुनदेखि सफ्ट लन्चिङ शुरु गरिएको प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। “अहिलेलाई ठूलो कार्यक्रमको आयोजना बिना नै सञ्चालन गर्न लागेका छौं,” उनले भने, “नेपाली नयाँ वर्षको अवसरमा ग्राण्ड ओपनिङ कार्यक्रम सहित भव्य गर्ने तयारीमा छौं।” उनले यही अग्रेजी नयाँवर्षमा शुरुवात गर्ने भनिएपनि प्राविधिक समस्याका कारण केही समय ढिला हुन पुगेको बताए। “अब भने शुरु भएको छ, आन्तरिक र बाह्य पर्यटक पोखरा आउँदा केबलकारको मज्जा लिन सक्नुहुनेछ,” उनले भने, “यो केबलकार पोखरेली पर्यटन र स्थानीयहरूका लागि लाभदायी बन्नेछ।”

उनले पोखरामा केबलकारको आवश्यकता भएरनै १३ वर्षअघि कम्पनी रजिष्ट्रर कार्यालयमा दर्ता शुरु गरेको उनले सुनाए। “हामी सबै पोखरेलीको सपना पनि हो,” उनले भने, “पोखरामा कहाँ केबलकार राख्दा ठीक होला भन्दै फेवातालमा डुंगा चढेर हुन्छ कि शान्तीस्तूपाबाट सर्भे गरेर हेर्दा सेदी ठाउँ उपयुक्त लाग्यो।”

केबलकारमा चढेर ९ मिनेटमा सराङकोटमा पुग्न सकिने उनले बताए। बाह्य पर्यटकहरूको बिहानै सराङकोट पुगेर “सन राइज” र ताल हेर्न रुचाउने गरेको पाइन्छ। अहिले फेवातालबाट झन्डै ४० मिनेटमा गाडीमा सराङकोट पुगिन्छ। बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुने केबलकार केबलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको त्रिपाठीले जानकारी दिए।

त्रिपाठीका अनुसार केबलकार निर्माणको लागि अहिलेसम्म दुई अर्ब लगानी रहेको छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ।

“कोरोना महामारीले पनि परियोजना सम्पन्न हुन ढिलाइ हुँदा लागत बढ्न पुग्यो,” उनले भने, “केबलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक छ।”

जापानको ‘निप्पन केबल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। केबलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ। केबलकार चढ्नका लागि नेपालीलाइ ७ सय रुपयाँ र पर्यटकका लागि ८ सय रुपैयाँ प्रालिले तोकेको छ।

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ।

प्रालिका सिनियर अप्रेसन म्यानेजर डिएन कायस्थले केबलकार जापानबाट आयत गरिएको हुँदा निकै भरपर्दो रहेको बताए। “२० औं पुस्तासम्म पुग्ने खालको छ। एउटा केबलकार (क्याबिन) मा ८ जनाको सिट क्षमता छ,” उनले भने, “हाललाई १७ वटा क्याविन सञ्चालित छन्। एक घण्टामा ५ सय जनालाई लाने ल्याउने गर्ने अनुमान गरेका छौं।”

एउटा र अर्को केबलकारको दूरी २ सय ८८ मिटर रहेको उनले बताए। निरन्तर सञ्चालनपछि दैनिक २ हजार यात्रुको अपेक्षा गरेको उनले सुनाए। “अन्नपूर्ण केबलकारसँगै चिया नास्ताको लागि क्याफे र सराङकोट पुगेपछि टाबरमा रेस्टुरेन्ट, सुइङ, क्लाइम माउन्टेनको पनि मज्जा लिन पाउनुहुनेछ,” उनले भने।

अन्नपूर्ण केबलकार मुलुककै चौथो केबलकार हो। फेवाताल र सराङकोट पोखराका लागि पर्यटकीय गन्तव्य हुन्। केबलकारमा यात्रा गर्दा ताल, हरियो बन, हिमाल र पोखराका मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

फोटो सौजन्यः कृष्णमणि बराल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved