अमेरिकाबाट प्रकाशन हुने शिकागो ट्रिब्युनले फेब्रुअरी ७ तारिख ‘कारखानाको चिम्नीले धुँवा होइन खेलाडीलाई आकाशितर उचाल्छ’ शीर्षकमा एउटा समाचार प्रकाशित गर्यो। समाचार बेइजिङमा जारी शीतकालीन ओलम्पिकका बारेमा थियो।
कारखानाको धुँवा फाल्ने चिम्नीले खेलाडीलाई आकाशतिर उचाल्ने कुरा फोटोग्राफरको कला थियो। शीतकालीन ओलम्पिकमा एकजना खेलाडीले फ्रि स्की बीग एयरमा सहभागी हुँदै हावामा उफ्रिदा लिइएको तस्बिरको पृष्ठभागमा कारखानाको चिम्नी थियो।
प्रतिकात्मक रुपमा चिम्नीबाट धुँवाको सट्टा खेलाडीलाई उचालेको भनेर राखिएको शीर्षकले पछिल्लो समय चीनले वातावरण संरक्षणमा लिएको नीति र विश्व जलवायु परिवर्तनबाट सिर्जित समस्यामा चीनको गाम्भीर्यलाई सकारात्मक प्रस्तुत गरिएको छ।
झन्डै तीन वर्षदेखि चीन र अमेरिकाबीचमा तीव्र मतभेद र द्वन्द्व चलिरहेको छ। चीनसँगको व्यापार घाटालाई लिएर अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको यो द्वन्द्व कहिले अलिअलि मथ्थर हुन्छ भने कहिल उचाइ दिन्छ। अझै साम्य भएको छैन।
पछिल्लो समय अमेरिकाले ताइवानलाई कानुन बनाएरै हतियार आपूर्ति गर्न थालेको छ। ताइवानलाई लिएर चीन र अमेरिकाबीचमा युद्ध भएमा कसले जित्छ भन्ने कोणबाट समाचार विश्लेषणहरु पश्चिमा सञ्चारजगते गरेका छन्। सिन्च्याङ र हङकङसँगै तिब्बतका विषय उछालेर चीनलाई अस्थिर बनाउन खोजेको आरोप चीनले अमेरिकामाथि लगाउँदै आएको छ।
अमेरिका र चीनबीचका विवादका भुँवरीमा चीनले आयोजना गरिरहेको शीतकालीन ओलम्पिकमा अमेरिकाले खेलाडी पठाएर सहभागी जनाएता पनि कुटनीतिक रुपमा बहिस्कार गरेको छ। यही तितोपनका बीचमा शीतकालीन ओलम्पिकको फोटो राख्दै बिम्बात्मक शीर्षक राखेपछि शिकागो ट्रिबुनको उक्त समाचारलाई चीनमा खुब रुचाइएको छ। एकातिर खेलको विकासमा चीनको लगानी र अर्कातिर वातावरण संरक्षणमा चीनले गरेको प्रयास दुवै कुरालाई यो फोटो र समाचारले समेटेको छ। त्यही भएर त शिकागो ट्रिबुनमा प्रकाशित समाचार हेरेर चिनियाँहरु दङ्ग परेका छन्।
ओलम्पिक खेलकूदको फोटोमा कारखानाको चिम्नी कसरी देखियो भन्ने कुरा आफैँमा रोचक छ।
शीतकालीन ओलम्पिक बेइजिङका विभिन्न भाग र चाङच्याखौका केही भागमा चलिरहेको छ। ओलम्पिक आयोजना भएका स्थलहरुमध्ये बेइजिङको पश्चिमपट्टि पर्ने सचिङशान जिल्लाको सचिङशान क्षेत्र पनि एक हो।
बेइजिङको पाँचौ चक्रपथभन्दा साढे चार किलोमिटर बाहिर रहेको यो स्थलमा पहिले चीनको क्यापिटल स्टिल कारखाना थियो। यो कारखाना चीनका ठूला कारखानामध्ये एक थियो र आधुनिक चीनको पूर्वाधार विकासमा यो कारखानाले मेरुदण्डको काम गरेको छ।
वायु प्रदूषणलाई कम गर्नका लागि चीनले ठूला कारखानालाई बेइजिङ बाहिर सार्ने निर्णय सन् २००८ मा आयोजित गृष्मकालीन ओलम्पिकको समयदेखि नै गरेको हो। त्यही निर्णय अनुसार क्यापिटल स्टिल कारखाना पनि सन् २०११ देखि बेइजिङ नजिकैको प्रान्त हपेइमा सारियो।
कारखाना सारिएपछि उक्त क्षेत्रलाई रमणीय उद्दानका रुपमा विकास गरिएको छ। कारखानाको अवशेषका रुपमा विशाल चिम्नी अहिले पनि उस्तै छ। पार्कभित्र प्रस्वस्त पानी, खुल्ला क्षेत्र, रमणीय बगैँचा र फराकिलो खेल्ने ठाउँ भएकाले शीतकालीन ओलम्पिकका केही इभेन्ट यस क्षेत्रमा पनि हुँदैछन्।
यतिबेला शीतकालीन ओलम्पिक खेलकूदका केही इभेन्ट आयोजना भइरहेको उक्त क्षेत्रमा यो स्तम्भकारले १८ वर्ष अगाडि भ्रमण गर्ने मौका पाएको थियो। यस आलेखमा १८ वर्ष अगाडि भ्रमण गर्दाको केही अनुभव राख्ने अनुमति चाहन्छु।
सन् २००४ को मे २५ देखि जुन ५ (१२ देखि २३ जेठ २०६१) सम्म झन्डै दुई साता लामो चीन भ्रमण गर्ने अवसर मैले पाएको थिएँ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले आयोजना गरेको एक प्रतियोगितामा विश्वभरबाट १० जना व्यक्तिहरुलाई छनोट गरेर उत्कृष्ट पुरस्कार ग्रहण गर्नका लागि बेइजिङ बोलाइएको थियो।
नेपालबाट उत्कृष्ट श्रोताका रुपमा पुरस्कार ग्रहण गर्नका लागि बेइजिङ आउँदा म अचम्मसँग खुशी भएको थिएँ। विदेशको नाममा भारतमात्र टेकेको र कहिल्यै विमान नचढेको एकैचोटि चीनको राजधानी बेइजिङ आइपुग्दा मेरो खुशी सरमाथाभन्दा चुलिएको थियो।
त्यतिबेला चीन भ्रमणका फोटाहरु र भ्रमणका सबै पक्ष समेटेर लेखेको डायरी अहिले हेर्दा आफैँलाई ताजुप लाग्छ। डिजिटल क्यामरा भरखरै चलनमा आएको भए पनि मसँग चाहिँ रोलवाला क्यामरा नै थियो। फोटो खिच्दा निकै फारो गर्नुपर्थ्यो। नेपालबाट मैले पाँचवटा रिल र केही ब्याट्री पनि ल्याएको थिएँ। त्यतिबेलाका फोटा र डायरी अझै सुरक्षित छन्।
पहिलो विदेश भ्रमण त्यसमा पनि पुरस्कार पाएको महत्वले गर्दा चीन भ्रमणका ससाना कुरालाई पनि मैले टिपोट गरेर डायरी लेखेको थिएँ। दिनभर भ्रमणको टिपोट गर्ने र फोटो खिच्ने अनि राति १ बजेसम्म होटलमा बसेर डायरी लेख्ने गर्थेँ।
जेठ १६ गते शनिबार अपराह्न मलाई अहिले ओलम्पिक भइरहेको स्थल त्यतिबेलाको क्यापिटल स्टिल कारखानाको अवलोकन गराउन लगिएको थियो। त्यो दिनको डायरीको एक अंश यस्तो छ।
दिउँसोको खानापछि हामीलाई क्यापिटल स्टिल कारखानामा भ्रमण गराउन लगियो। बिहानै दिइएको कार्यतालिकामा हामीलाई लन्चपछि चीनको ख्यातिप्राप्त स्टिल कारखानाको अवलोकन गर्ने कुरा उल्लेख थियो।
बेइजिङको पश्चिमी क्षेत्रमा पर्ने क्यापिटल स्पात कारखाना चीनको औद्योगिक विकासको एउटा धरोहर रहेछ। चीनको तेस्रो ठूलो स्पात कारखानाका रुपमा चिनिएको यो कम्पनी सन् १९१९ मा स्थापना भएको जानकारी पाइयो।
कारखानाको सूचना विभागमा काम गर्ने मिस ल्यू हामीलाई स्वागत गर्नका लागि कारखानाको मुख्यद्वारमा उभिएकी थिइन्। उनले बताए अनुसार कारखानाले साढे पाँच वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। कारखानामा १ लाख ५० हजार व्यक्तिले काम गर्छन् भन्ने थाहा पाउँदा म आश्चर्यचकित भएँ।
फलाम तथा खानी प्रशोधन र स्पात उत्पादन गर्नु यस कारखानाको मुख्य कार्य हो। सन् २००३ मा मात्र यस कारखानाले ४६ अर्ब ६० करोड चिनियाँ युआनको मालसामान उत्पादन गरेको ल्यूले जानकारी दिइन्।
चीन सरकारको नियन्त्रण र संचालनमा रहेको यस कारखानाको अर्को महत्वपूर्ण पक्ष भनेको वातावरण संरक्षण गर्नु रहेछ। कारखाना क्षेत्रको वायु प्रदूषणलाई जोगाउनका लागि मात्र कारखानाले प्रत्येक वर्ष एक करोड चिनियाँ युआन खर्च गर्दोरहेछ।
कारखाना क्षेत्रको ७० हजार वर्गमिटर क्षेत्रफलमा २०० प्रजातिका ८० हजार फूलहरु रोपिएका छन्। यो अचम्मको कुरा हुन सक्छ सायद नेपालमा यति ठूलो फूलबारीमा यति धेरै थरिका फूलहरु छैनन् होला। यो फूलबारी नभएर एउटा औद्योगिक क्षेत्रको कारखाना भएकाले मलाई अचम्म लागेको हो।
कारखानाले ओगटेको क्षेत्रफलको ३४ प्रतिशत भूभाग हरित वनस्पति र बगैँचाले भरिएको रहेछ। कारखाना क्षेत्रमा पस्ता कारखाना जस्तो महसुस नभएर कुनै रमणीय र आनन्ददायी पार्कमा पसेको जस्तो भान भयो। कारखाना परिसरमा १० हजार वर्गमिटर क्षेत्रफलमा रहेको पोखरीले कारखानाको शोभालाई सुनमा सुगन्ध थपिदिएको छ।
अत्यन्त सफा र स्वच्च पानीमा माछाहरु पौडिरहेका, झिँगेमाछाहरु तैरिरहेका र जङ्गली हाँसहरु नाचिरहेको दृश्यले मजदूरहरुलाई थकाइको एकरति पनि अनुभव हुन दिँदैन। पानीको सरदर तापक्रम १५ डिग्री सेल्सियस रहेका र पोखरीको सबैभन्दा गहिरो भाग ७ मिटर हरेको छ। पानी सफा भए पनि त्यहाँ पौडी खेल्न अनुमति छैन। अनि अर्को महत्वपूर्ण कुरा के छ भने यहीँको पानीलाई कारखानाको इन्जिन चिसो पार्न प्रयोग गरिएको छ। उक्त इन्जिनलाई चिसो पारएको पानी पुन पोखरीमा नै मिसन आउँछ र यो चक्र चलिरहन्छ।
कारखाना नजिकैको सानो पहाडको नाम शचिङसान रहेछ। त्यही पहाडको नामबाट उक्त क्षेत्रको नाम शचिङसान राखिएको रहेछ। हामी कारखानाको बाहिरी भागको अवलोकन सिध्याएर पहेँलो स्टिलको टोपी लगाएर कारखानाभित्र पस्यौँ।
ओहो कारखानाभित्र मिसिनहरुको होहल्ला र अत्यन्त गर्मी वातावरण। एक हजार डिग्री तापक्रममा स्टिललाई पगालेर तरल बनाउने र त्यसबाट विभिन्न आकारका स्पातका सामग्री बनाइने रहेछ।
त्यो गर्मी छिचोलेर हामी अर्को क्षेत्रमा पुग्यौँ। त्यहाँ जस्ता पाता काट्ने, गुणस्तर परीक्षण गर्ने, खोल्सा बनाउने र स्टोर गर्ने जस्ता प्रकृया हुने रहेछन्। साथै रड उत्पादन गरिरहेको पनि राम्ररी हेर्न पाइयो।
***
१८ वर्ष अगाडि मैले अवलोकन गरेको उक्त कारखाना बेइजिङबाट विस्थापित भएको पनि ११ वर्ष भइसकेको छ। पहिले कारखाना भएको सो क्षेत्रलाई अहिले सचिङशान पार्क भनिन्छ।
बेइजिङमा रहेका १६ वटा जिल्लामध्ये सचिङशान एउटा हो। आफ्नो कार्यालय र बसोबास पनि यही जिल्लामा भएकाले ओलम्पिकको फ्रि स्की बीग एयर इभेन्ट भइरहेको उक्त सचिङशान पार्क बसोबास क्षेत्रबाट जम्मा साढे ६ किलोमिटर पश्चिममा रहेको छ।
बेइजिङमा भइरहेको शीतकालीन ओलम्पिक खेलदूतका बारेमा नेपालबाट साथीहरुले सोध्ने गरेका जिज्ञासा निकै रोचक छन्। उनीहरु भन्छन् ‘बेइजिङमै बसेर पनि ओलम्पिकका बारेमा चालचुल केही छैन त। दैनिक गइन्छ होला नि ओलम्पिक खेलकूद क्षेत्रमा?’
नेपालमा जस्तो पत्रकारको कार्ड भिरेपछि रङ्गशालामा आयोजना हुने खेलकूदमा पस्न पाइहालिन्छ भन्ने बुझाइ साथीहरुको हुन सक्छ। चीनमा खेलकूदको समाचार सम्प्रेषणको आफ्नै काइदा हुन्छ। समाचार केन्द्रबाट खटेका सम्बन्धित विषयका विज्ञ पत्रकार, फोटोग्राफर तथा भिडियोग्राफरले तयार बनाएका सामग्रीलाई एकीकृत गरी सबै सञ्चार संस्थालाई वितरण गरिन्छ। ती सामग्रीलाई चिनियाँ सहकर्मीहरुले नेपालीमा अनुवाद गरेपछि सम्पादन गर्ने जिम्मेवारी गरिरहेका हामी विषेशज्ञहरुले नेपालीले जस्तै टेलिभिजनमा हेर्ने हो ओलम्पिक। त्यसमाथि यो त कोरोना महामारीका बीचमा हुँदै गरेको ओलम्पिक।
शीतकालीन ओलम्पिकका बारेमा लेख्ने थुप्रै विषय छन्। चीनले ओलम्पिकलाई हरित विकाससँग जोडेको विषय सर्वथा महत्वपूर्ण छ। त्यही भएर नै अमेरिकी पत्रकारले पनि यसको प्रशंसा गरेका छन्।
चीनले विस्थापित कारखानाको क्षेत्रलाई ओलम्पिक स्थल बनाइनु आफैँमा सांकेतिक कार्य हो।
१८ वर्ष पुरानो संस्मरण पनि जिवन्त छ। सामग्री पठनीय छ।