झोलुङ्गे पुल बगाएपछि समस्यामा थलाराका स्थानीय

गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।

नेपालभ्युज

झोलुङ्गे पुल बगाएपछि समस्यामा थलाराका स्थानीय
सांकेतिक तस्वीर

बझाङ। बझाङको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत ३ मंसीरसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पुर्‍याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउँथे।

उनीमात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस–१ का स्थानीयबासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत ३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन्।

रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका—१ का स्थानीयबासीलाई अहिले कृषि उपज बजारसम्म पु¥याउन कठिन भइरहेको बताइएको छ।

केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार रुपैयाँ चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएका छन्। त्यसपछि अहिले भने स्थानीयबासीलाई ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए।

तर, त्यही काठे पुल पनि जोखिममा रहेको छ। सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ। अहिले विकल्पका रुपमा हालिएको साँघु केही महीनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयबासीकोे माग छ।

बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन्।

झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ। गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved