हिजाब लगाउने विवादमा कलेजभित्र हिन्दू-मुस्लिम विवाद, अदालतमा बहस

भारतको कर्नाटक प्रान्तमा हिजाब लगाएका छात्रालाई कलेजले प्रतिबन्ध लगाएसँगै शुरू भएको विवाद सडकदेखि अदालतसम्म पुगेको छ।

नेपालभ्युज

हिजाब लगाउने विवादमा कलेजभित्र हिन्दू-मुस्लिम विवाद, अदालतमा बहस

काठमाडौं। भारतको कर्नाटक प्रान्त अहिले अशान्त छ। मुस्लिम धर्मका अनुयायी महिलाले शैक्षिक संस्थामा हिजाब लगाउन पाउने, नपाउने विषयको विवाद सडकमा धार्मिक विवादको रूपमा पोखिएको छ।

मुस्लिम छात्राहरूले शैक्षिक संस्थामा पनि हिजाब लगाउन पाउनुपर्ने माग राख्दै प्रदर्शन शुरू गरेपछि त्यसको विरोधमा हिन्दू संगठनका छात्रहरूले गेरू रङको सल अनिवार्य गरिनुपर्ने माग राखे।

हिन्दू संगठनका विद्यार्थीहरूले गरेको प्रदर्शन मुस्लिम छात्रामाथि आक्रमणसम्म पुगेको छ। अतिवादी प्रदर्शनकारीहरूले छात्राहरूलाई आक्रमण गरेको विभिन्न भिडिओ सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ।

उता कर्नाटको उच्च अदालतमा अहिले शैक्षिक संस्थामा हिजाब लगाउन पाउने नपाउने विषयमा बहस चलिरहेको छ। मुस्लिम छात्रा रेशम फारूकले दायर गरेको मुद्दा न्यायाधीश कृष्ण एस दीक्षितको इजलासमा सुनुवाई भइरहेको हो।

विवादको शुरूआत

यो विवादको शुरूआत कर्नाटकको उडुपीस्थित कुंडापुरा कलेजबाट शुरू भएको हो।

१ जनवरीको दिन कलेज गएका ६ जना मुस्लिम छात्राहरूलाई हिजाब लगाएर कक्षा प्रवेश गर्न रोक लगाइयो। छात्राहरूले त्यसको विरोध गर्दै कलेजको गेटमा धर्ना दिए।

साथै छात्रा रेशम फारूकले भारतको संविधानको अनुच्छेद १४ र २५ अनुसार मौलिक अधिकार हनन भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरिन्।

१९ जनवरीमा कलेज प्रशासनले छात्राहरू, तिनका अभिभावक र अधिकारीहरूसँग एउटा बैठक आयोजना गर्‍यो। तर बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

यो विषय सल्टाउन कर्नाटक सरकारले एउटा समिति गठन गरेको छ। समितिले उक्त विषयमा कुनै निर्णय नगर्दासम्म छात्राहरूले कलेजको नियम मान्नुपर्ने बताएको छ।

कक्षामा हिजाब लगाउन पाउने/नपाउने विषयमा चर्चा गर्न कलेजले अभिभावक, छात्रा र अधिकारीहरूसँग फेरी ३१ जनवरीमा बैठक राखेको थियो। उक्त बैठकमा कलेज प्रशासनले कमिटिको निर्णय नआउँदासम्म कलेज परिसरसम्म छात्राहरूले हिजाब लगाउन पाए पनि कक्षामा भने खोल्नुपर्ने निर्णय सुनाएको थियो।

मुस्लिम छात्राहरूले हिजाब लगाएर आउनुपर्ने माग राख्दै प्रदर्शन शुरू गरेपछि केही हिन्दू छात्रहरूले गेरू रङको पछ्यौरा लगाएर गए।

१ फेब्रुअरीमा उडुपीका विधायक रघुपति भटले सञ्चारमाध्यमसँग छात्राहरूले हिजाब लगाएर कलेज आउन नहुने धारणा राखेपछि स्थिति झनै बिग्रिँदै गएको छ।

उनीहरूले बुर्का वा हिजाब लगाउन पाउनुपर्ने माग राख्नेहरू ‘पाकिस्तान जान सक्ने’ भन्दै नारा लगाए। उनीहरूले ‘जय श्री राम’ भन्दै नारा लगाएपछि त्यसको मुस्लिम छात्राहरूले पनि प्रतिवादमा ‘अल्लाह हु अकबर’को नारा लगाएको भिडिओ फुटेज सामाजिक सञ्जालमा छाइरहेको छ।

कलेजमा गेरू वस्त्र लगाउन पाउनुपर्ने माग राख्दै हिन्दू संगठनका विद्यार्थी।

प्रतिबन्ध कायम राख्ने सरकारी निर्णय

यही विवादबीच कर्नाटक सरकारले भने उच्च अदालतको फैसला नआउँदासम्म शैक्षिक संस्थाहरूमा हिजाब लगाउन नपाउने ड्रेस कोड राख्ने निर्णय गरेको छ। ५ फेब्रुअरीमा मुख्यमन्त्री बासवाराज बोम्मईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

सरकारले कर्नाटक एजुकेशन एक्ट-१९८३ को धारा १३३(२) लागू गर्ने घोषणा गरेको थियो। उक्त धारा अनुसार सबै विद्यार्थीले विद्यालयमा एकै खालको कपडा लगाउनुपर्छ।

सरकारले सबै सरकारी विद्यालयमा तोकिएको पोशाक लगाउनै पर्ने र निजी स्कुलका विद्यार्थीले पनि प्रशासनले तोकेको पोशाक लगाउनुपर्ने आदेश जारी गरेको छ।

कलेजको व्यवस्थापन समितिले पोशाक नतोकेको भए स्कुल-कलेजमा सामुदायिक सौहार्द, समानता र शान्ति व्यवस्थालाई हानी पुर्‍याउने कपडा लगाउन नपाउने सरकारी आदेश छ।

– ‘टाइम्स अफ इण्डिया’, ‘दैनिक भास्कर’, ‘स्क्रोल इन’ लगायतका भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारको आधारमा तयार पारिएको।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved