रामगोपालपुर नगरपालिकाको प्रमुख प्रशासकीय को ? दुवैको दाबीले काम प्रभावित

नेपालभ्युज

रामगोपालपुर नगरपालिकाको प्रमुख प्रशासकीय को ? दुवैको दाबीले काम प्रभावित

जनकपुरधाम। महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दुई जनाको दाबीले विवाद उत्पन्न भएको छ। दुई पक्ष बीचको विवादले दैनिक कामकाजसमेत प्रभावित बनेको छ।

नगरपालिकाका शिक्षा शाखाका अधिकृत धीरेन्द्रलाल कर्ण र प्रशासनतर्फका प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डल दुवैले उक्त पद दाबी गरेका हुन्। जसको विवादले नगरपालिकाको दैनिक कामकाज प्रभावित भएको हो।

एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शिक्षा शाखा अधिकृत कर्णको ठाउँमा मण्डलले पनि दाबी गरेपछि रामगोपालपुर नगरपालिकामा हाकिम को भन्ने विवाद उत्पन्न भएको मेयर अशोक कुमार मण्डलले बताए।

स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासन तर्फका कर्मचारी हुन्। जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाउँदै मेयर अशोककुमार मण्डलले उनलाई कामकाज गर्नबाट रोक लगाएका छन्।

मेयर मण्डलकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत २५ पुसमा कर्णलाई दिएको जिम्मेवारी खोस्दै उनको स्थानमा शिवेन्द्रकुमार मण्डललाई पठाएको हो। मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी हुन्। मण्डल यसअघि जनकपुरधामस्थित श्रम कार्यालयका प्रमुख थिए।

तर यही १४ माघमा कर्णले सामान्य प्रशासन मन्त्रालयबाट आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मवोरी दिएको पत्र देखाउँदै सो पदमा दाबी गरेपछि विवाद शुरु भएको हो। माघ १६ गते १३ जना कार्यपालिका सदस्यसहित आफू नगरपालिका कार्यालयमा हाजिर भएको उनको भनाइ छ।

१४ माघमा सामान्य प्रशासन मन्त्रालयले कर्णलाई आर्थिक तथा प्रशानिक काम गर्न दिनू भनेकै दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मण्डललाई महोत्तरीकै लोहारपट्टी नगरपालिकामा सोही पदमा काज सरुवा गरेको कुरा पत्रमा उल्लेख छ भने कर्णलाई मन्त्रालयले जिम्मेवारी दिएको पत्रमा प्रमुख प्रशासकीय अधिकृत नआउदाँसम्म नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्न भनी उल्लेख गरिएको छ।

यता मेयर अशोककुमार मण्डलले प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै शिक्षा अधिकृत कर्णलाई कार्यालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिनु कानुनसम्मत नभएको दाबी गर्दै उनले कर्णलाई जिम्मेवारी दिन नचाहेको बताए।

मेयर मण्डलले यही १६ माघमा कर्णलाई फिर्ता पठाएकोबारे सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए। पत्रमा कर्ण जिम्मेवारीमा रहेका बेला कार्यालयको रकम हिनामिना गरेको आरोप मेयरले लगाएका छन्। कार्यालयमा काट्नुपर्ने चेक लेखासँग कुरा मिलाएर जनकपुर गई काटेर कर्णले आर्थिक हिनामिना गरेको मेयर मण्डलले आरोप लगाएको छ।

मेयर मण्डलले भने, ‘कर्ण प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा लेखासँग मिलेर व्यापक रकम हिनामिना गरे। फिल्डमा जाँदा उपभोक्ता समितिसँग कमिसन मागे। उनको विषयमा चौतर्फ रूपमा गुनासो आइरहेको थियो। उनले कार्यालय प्रयोजनमा सरसल्लाह नगरी लाखौं रकम खर्च गरेका छन्। काम भएको छैन। त्यो शीर्षकको लाखौं बजेट खर्च भइसकेको बैंकको स्टेटमेन्टबाट थाहा पाएँ। अनि बाध्य भएर कर्णलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा पहल गरी प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेका हौं।”

मेयर मण्डलले कर्णले गत आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न भएका दर्जनभन्दा बढी योजनाको भुक्तानी नदिएको र केही वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यसँगको सेटिङमा उनीहरूको सबै भुक्तानी दिएको आरोपसमेत लगाएका छन्।

ममाथि मेयरले आरोप लगाए, मेयर झुटा हुन् : कर्ण

यता कर्णले आफूमाथि मेयर लगाएको सबै आरोप झुटा भएको दाबी गरेका छन्। उनले भने, “ममाथि लगाएको सबै आरोप झुटो हो। काम नगरीकन रकम भुक्तानी हुँदैन। अहिले अनलाइन चेक काटिन्छ। कुनै चेक काट्यो भने कोलेनिका, मलेनिका सबैले देख्छन्। कुनै योजनाका लागि भुक्तानी हुँदा प्रक्रिया पुर्याएर गर्नुपर्छ। तर मयेरले जबजस्ती गर्न खोजेकोमा मैले नियमपूर्वक नभएको चिज गर्न नखोजेपछि उनले ममाथि झुटो आरोप लगाएका हुन्।” मेयरको कुरा मान्दा ठीक नभए बेठिक यस्तो पनि हुन्छ भनेर कर्णले बताए।

त्यस्तै अर्का प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डलले मन्त्रालयले आफूलाई सरुवा गरेको पत्र कुनै पत्र प्राप्त नगरेको दाबी गरेका छन्। उनले वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था नरहेको तर्कसमेत गरे।

“म संघको प्रशासन तर्फको कर्मचारी हुँ। थुप्रै नगरपालिकामा यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेको छु। म यस नगरपालिकामा पनि हाजिर भएको मन्त्रालयको पत्रमा प्रमुख प्रशासकीय अधिकृत तोकेरै उल्लेख गरेको छ। म प्रशासन तर्फको तृतीय श्रेणीको कर्मचारी हुँ। तहले प्रमुख प्रशासकीय अधिकृत हुँदैन”, उनले अगाडि भने, “कर्णले आठौं तह र वरिष्ठ हुँ भनेर दाबी गर्नुहुन्छ। यस्तो भयो भने धेरै नगरपालिकामा विद्यालयका प्रधानाध्यापकहरू नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार हुने अवस्था आउन सक्छ।”

अर्कोतर्फ प्रशासकीय अधिकृतको विषयमा नगरपालिकाका जनप्रतिनिधिसमेत विभाजन भएका छन्।

नगरपालिकाको हाकिक को भन्ने विषयमा दैनिक दुई पक्षका सयौं मान्छे भेला हुने गरेकाले नगरपालिका कार्यालयमा तनावको अवस्था छ। सामान्य प्रशासन मन्त्रालयको बदमासीले नगरपालिकामा प्रशासकीय अधिकृतको विषयमा विवाद भएको आरोप स्थानीयले लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved