भारतमा घट्दै कोरोना संक्रमण

नेपालभ्युज

भारतमा घट्दै कोरोना संक्रमण

एजेन्सी। भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या चार करोड १० लाख ९२ हजार पुगेको छ।

एक दिनको अवधिमा कोरोना संक्रमणका कारण भारतमा आठ सय ९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

भारतमा पछिल्लो समय दैनिक संक्रमितहरूको संख्यामा निरन्तर कमी आइरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले संक्रमित अवस्थामा रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरूकाअनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ४।५९ प्रतिशत भएको जनाइएको छ।

दैनिक नयाँ संक्रमितहरूको संख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकाले पनि अहिले सक्रिय संक्रमितहरूको संख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या एक लाखभन्दा बढी रहेको छ।

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved