विश्लेषण

प्रचण्डले कोल्टे फेर्दा गठबन्धनभित्र कम्पन, स्थानीय चुनाव टार्ने प्रस्तावभित्र लुकेको माओवादी स्वार्थ

प्रचण्ड–प्रस्तावभित्र षड्यन्त्रको गन्ध देख्छ– एमाले । तर, उनको नयाँ प्रस्तावले एमाले उत्साहित छ । कारण– प्रतिनिधिसभा दुई पटकसम्म विघटन गर्दा पनि सर्वोच्च अदालतबाट उसको प्रयासलाई असफल बनाइएको थियो । प्रचण्डको नयाँ प्रस्तावले एमालेको प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गरेको छ । अनि उनैको विगतको तर्कको खण्डन पनि गरेको छ ।

प्रचण्डले कोल्टे फेर्दा गठबन्धनभित्र कम्पन, स्थानीय चुनाव टार्ने प्रस्तावभित्र लुकेको माओवादी स्वार्थ

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण १० दिनलामो ‘होम आइसोलेसन’ बाट मुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा कम्पन पैदा गरेका छन्- प्रतिनिधिसभा विघटन गरी बैशाखमा नयाँ चुनाव गर्न प्रस्ताव गरेर।

पाँचवर्षे कार्यकालअगावै प्रतिनिधिसभा विघटन हुनुलाई ‘प्रतिगमन’ को संज्ञा दिँदैआएका थिए- प्रचण्डले। तर, १० दिनलामो गुप्तवासबाट बाहिर निस्कँदा उनले ‘यू-टर्न’ गरेका छन्। अब प्रचण्ड पनि प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको पक्षमा पुगेका छन्। उनको विचारले कोल्टे फेर्दा राजनीतिक वृत्तमा कम्पन पैदा भएको छ- मूलत: कांग्रेस वृत्तमा। कांग्रेसको दुवैखेमा उनको प्रस्तावको निन्दा गरेका छन्।

प्रचण्ड-प्रस्तावभित्र षड्यन्त्रको गन्ध देख्छ- एमाले। तर, उनको नयाँ प्रस्तावले एमाले उत्साहित छ। कारण- प्रतिनिधिसभा दुई पटकसम्म विघटन गर्दा पनि सर्वोच्च अदालतबाट उसको प्रयासलाई असफल बनाइएको थियो। प्रचण्डको नयाँ प्रस्तावले एमालेको प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गरेको छ। अनि उनैको विगतको तर्कको खण्डन पनि गरेको छ।

प्रचण्डको यू-टर्न

प्रचण्ड कोभिडग्रस्त छँदै सरकारलाई निर्वाचन आयोगले ताकेता गरेको थियो- स्थानीय चुनावको मिति तोक्नेबारे। आयोगको प्रस्ताव थियो- १४ वैशाखमा एकै दिन देशभरि स्थानीय तहको चुनाव गरौँ। एकै दिन गर्न संभव नभए बैशाख १४ र २२ गते गरौं। यसबारे आयोगले दलहरुलाई बोलाएर छलफल समेत गरिसकेको थियो।

त्यसैले प्रचण्ड कोभिडमुक्त भएको पर्सिपल्ट माघ ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा गठबन्धनका दलहरूसँग बैठक राखे- स्थानीय चुनावबारे गर्न। उक्त बैठकमा प्रचण्डको प्रस्ताव थियो, “स्थानीय निकायको चुनाव पछि सारौँ, प्रतिनिधिसभाको निर्वाचन बैशाख-जेठमा गरौँ।”

प्रस्ताव सुनेर प्रधानमन्त्री देउवाचाहिँ आश्चर्यचकित भए। उनले तत्काल यसको प्रतिवाद गरे। जेठ ५ गतेअघि गरिसक्नुपर्ने स्थानीय चुनावचाहिँ आगामी असोज २ गतेपछि ६ महिनाभित्र गरे हुने भन्ने उनको तर्क थियो।

प्रचण्डले बैठकमा जानुअघि नै सत्तारुढ गठबन्धनको ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’का संयोजक रामचन्द्र पौडेलसँग यसबारे कुरा मिलाइसकेका थिए। नेकपा (एकीकृत-समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग त पहिले नै यसबारे छलफल भइसकेको थियो। एमाले नेताहरू त प्रचण्डको यो सोच नै नेपालको ‘ब्रेन चाइल्ड’ भएको शंका गर्छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा ‘ताजा जनादेशका लागि’ प्रतिनिधिसभा विघटन गर्दा ‘प्रतिगमन’ को संज्ञा दिँदै सडक आन्दोलन गर्ने र सर्वोच्च अदालतमा रिट हालेर दुईपटक पुनर्स्थापना गराएका नेता हुन्- प्रचण्ड र माधवकुमार नेपाल। उनी स्वयमले संसद् विघटनको प्रस्ताव गर्दा ओलीको विघटन सही थियो भन्ने पुष्टि भएको बताउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालभ्यूजसँग भने, ‘तर प्रचण्डको प्रस्ताव षड्यन्त्रपूर्ण छ।’

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, “स्थानीय तह पदाधिकारीबिहीन बनाउनु असंवैधानिक र गलत हुन्छ। निर्वाचन आयोगले स्थानीय तहको चुनाव समयमा गराएन भने त्यो प्रतिगामी कदम हुन्छ।”

कांग्रेस महामन्त्री गगन थापाले त प्रचण्ड प्रस्ताव सार्वजनिक हुनेबित्तिकै त्यसप्रति सार्वजनिक रूपमै आपत्ति जनाएका छन्- ट्वीट गरेर। उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री देउवासँग लामो छलफल गरेका कांग्रेस नेता रमेश लेखकले प्रचण्डको प्रस्ताव कांग्रेसका लागि राम्रो नभएको प्रतिक्रिया दिए।

”यो नेपाली कांग्रेसका लागि त्यति राम्रो कुरा होइन। मैले सभापतिजीलाई पनि भनेको छु- कांग्रेस जस्तो पार्टीले  निर्वाचनलाई तलमाथि गर्ने कुराले कुनै हालतमा पनि राम्रो गर्दैन”, नेता लेखकले नेपालभ्यूजसँग भने, ‘जेठको ५ गतेभित्र स्थानीय तहको चुनाव हुनुपर्छ- नो बट, नो इफ ! यदि प्रतिनिधिसभा निर्वाचन गर्ने हो भने त्यसअघि गर्न सकिन्छ तर एमालेलाई पनि सहमत नगराई गर्न पाइँदैन।”

प्रचण्ड रणनीति- माओवादीको रक्षा

प्रचण्डको मनसाय हो- फूटबाट गुज्रिएको माओवादीकेन्द्रलाई आशन्न चुनावमा सकेसम्म धेरै सीटमा जिताउने।

कांग्रेसका देउवानिकट एक नेताले बताएअनुसार, कांग्रेस यसपटकको स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्न तयार हुँदैन। त्यो माओवादीको अवस्था अत्यन्त नाजुग हुनसक्छ। स्थानीय तहमा नजित्दा त्यसले प्रदेशलाई त असर गर्छ नै, गठबन्धन साझेदारहरूले माओवादीको स्थानीय तह परिणामको अवस्था हेरेर प्रतिनिधिसभाको सीट बाँडफाँटमा पनि ‘बार्गेनिङ’ हुन्छ।

प्रचण्डको दाउ छ- प्रतिनिधिसभामा सकेसम्म कांग्रेससँग गठबन्धन गर्ने। कांग्रेससँग संभव नभए अघिल्लो संसदीय चुनावमा जस्तै एमालेसँग गठबन्धन गर्ने। दुवैसँग गठबन्धन नभएमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत-समाजवादी त छँदैछ।

गठबन्धन गर्न नसकेमा माओवादी केन्द्रको प्रतिनिधिसभामा उपस्थिति अलि बलियो हुने र त्यसको बलमा त्यसपछि हुने स्थानीय तह चुनाव लड्ने प्रचण्डको आँकलन हो। अहिलेको यू-टर्न त्यसैका लागि भएको हुनसक्ने कुरामा कांग्रेस नेता लेखकले पनि सहमति जनाए।

नेता लेखकले भने, “जेठ ५ गते चुनाव हुन सकेन र स्थानीय तह कामयावी रहेनन् भने त्यसपछि कांग्रेसविरुद्ध जो जनमत तयार हुन्छ नि, त्यो कांग्रेसका लागि थेगिनसक्नु हुन्छ।”

देउवा प्रस्ट तर नरम

देउवालाई आफूले अब हार्छु कि जित्छु भनेर हेर्न नहुने सुझाज लेखकले पनि दिएका छन्। अब प्रधानमन्त्री देउवाले कसरी यो प्रणाली बलियो हुन्छ भनेर मात्र हेर्नुपर्ने उनले बताए।

“ओलीले संविधान भत्काउनुभो भनेर यत्रो हल्ला गरेर आउनुभो। आफैँ भत्काउने काममा लाग्नुभो भने के हुन्छ ? अस्तिको भेटमा पनि यो स्मरण गराएको छु”, नेता लेखकले भने,  “यसमा सभापतिजी पनि प्रस्ट हुनुहुन्छ। उहाँको बाध्यता छ- गठबन्धनलाई कसरी जोगाएर राखिराख्ने। उहाँ प्रस्ट नभएको होइन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved