जनकपुरधाम। पुस्तौंदेखि लालपूर्जाविहीन भएर बसिरहेका बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपूर्जा पाउने भएका छन्।
बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले लालपूर्जा वितरणको अन्तिम तयारीमा रहेको बताए। उनले लागत संकलनदेखि लालपूर्जाको नक्सासमेत तयार भएकाले अब पूर्जा वितरण हुने बताए।
मेयर कार्कीले भने,‘‘डिजिटल प्रविधिबाट नक्सांकन समेत सम्पन्न भइसकेको छ। नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता गरी लागत संकलन तथा नाप जाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापूर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ।”
अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा पाउने बाटो खुलेको हो। लालपूर्जा वितरण भएपछि नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन्।
Facebook Comment
Comment