विराटनगर। द्वन्द्वकालमा बेपत्ता परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’का पदाधिकारीसँगको छलफलमा आज (आइतबार) उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने बताए। भने, “प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ, धेरै नभए पनि सांकेतिक रूपमा केही आर्थिक दायित्व लिन्छौँ।”
उनले बेपत्ता पारिएकाहरूका परिवारलाई रोजगारी दिने, सीपमूलक तालिम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्य उपचार एवं बीमाजस्ता कार्यक्रमबाट लाभान्वित गर्न सकिने बताए। उक्त छलफल कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले देशभर ३ हजार २९२ व्यक्ति बेपत्ता भएको उजुरी आएको जानकारी दिए।
Facebook Comment
Comment