मधेशी, जनजाति, मुस्लिम महिलाहरूलाई अब कसैले वञ्चित गर्न सक्दैन : उपेन्द्र यादव

नेपालभ्युज

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सदियौंदेखि विभेदमा रहँदै आएको मधेशी जनजाति, मुस्लिम महिला लगायतलाई हक अधिकारबाट अब कसैले वञ्चित गर्न नसक्ने बताएका छन्।

धनुषाको मुखीयापट्टी मुसरहनीया आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकमा भएका ठूला ठूला आन्दोलनहरूले शासक मात्र परिवर्तन गर्दै आए पनि मधेश विद्रोहले शासन व्यवस्था नै परिवर्तन गरेको उल्लेख गर्दै शोषित उत्पीडित समुदाय अब अधिकारसम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य एवं संघीय सरकारका भौतिक पूर्वाधार एवं यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौंदेखि विभेदमा रहेको मधेशीहरू मधेश विद्रोहको कारण आज सम्मानपूर्वक जीवनयापन गर्न थालेको बताइन्।

मधेश आन्दोलनकै कारण शोषित वर्गहरू आज आरक्षण पाएको उल्लेख गर्दै नेतृ यादवले मुखियापट्टी मुसरहनियाका जनताहरूले जसपाप्रति देखाएको आशा विश्वासलाई आफूहरू सदैव सम्मान गर्ने बताइन्।

नेतृ यादवले मधेशका हजारौं नागरिक अझै नागरिकताविहीन रहेको बताउँदै मधेशीहरूबाट डराएका शासकहरू उनीहरूलाई नागरिकताबाट वञ्चित बनाइरहेको उल्लेख गरिन्। उनले नागरिकता विहीनहरूका लागि अझै संघर्ष गर्नुपर्ने बताइन्। गणतन्त्रका लागि ज्यानको आहुति दिने शहिद दुर्गा नन्द झाको चर्चा गर्दै नेतृ यादवले दुर्गा नन्द झा मधेशी भएकै कारण फासिमा झुण्डिनुपरेको बताइन्।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र जसपा मात्र रहेको दाबी गरे।

उनले मधेश आन्दोलनको जगमा बनेको जनता समाजवादी पार्टीको सरकार मधेश आन्दोलनको म्याण्डेटअनुसार अघि बढेको बताउँदै प्रदेश सरकारले शोषित पीडित वर्गका लागि काम गरिरहेको बताए।

मुख्यमन्त्री राउतले जनसंख्याको अनुपातमा आरक्षण गर्दै प्रदेश सरकारले सबै समुदायको हक अधिकार सुनिश्चित गर्न क्रमबद्ध रुपमा अघि बढिरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved