रङ्ग-संवाद

सरकारी प्रयत्नबाट मात्रै नाट्य क्षेत्रको विकास सम्भव छैन: हरिहर शर्मा (अन्तर्वार्ता)

सरकारी प्रयत्नबाट मात्रै नाट्य क्षेत्रको विकास सम्भव छैन: हरिहर शर्मा (अन्तर्वार्ता)

नेपाली रङ्गमञ्चलाई नयाँ गरिमा, अर्थवत्ता र उचाइ प्रदान गर्न सदैव क्रियाशील केही रङ्गकर्मीको लहरमा आउँछन्– हरिहर शर्मा। शर्मा बितेको साढे पाँच दशकयता नेपाली रङ्गकर्ममा समर्पित छन्। निश्चय नै, उनीजस्तै समर्पित नाट्यकर्मीको गति तथा ऊर्जाको प्रतिफलस्वरूप नेपाली रङ्गमञ्च समृद्ध बन्न पुगेकोमा कुनै दुईमत नहोला।

२०११ सालमा मध्यपश्चिमको पहाडी जिल्ला प्युठानमा जन्मिएका शर्मा विद्यालय तहको अध्ययनदेखि नै रङ्गमञ्चमा उत्रिए, जतिबेला उनी मात्र ११ वर्षका थिए। सानैदेखि रङ्गमञ्चप्रति बढ्दो समर्पण भावले डोर्‍याउँदै लैजाँदा २०३० सालदेखि उनी ‘प्रतिबद्ध रङ्गकर्मी’ कै रूपमा चिनिन थाले। सो वर्ष अग्रज नाटककार विजय मल्लद्वारा लिखित ‘जीवन बिमा’ मा अभिनयको खुट्किला टेकेयता दर्जनौं नाटकमा अभिनय गरिसकेका छन् उनले। शर्माद्वारा अभिनित अन्धाको पनि आँखा हुन्छ, जीवन बिमा, बौलाहा कहींका, फर्केर हेर्दा, मानिस र मुकुन्डो, एक सीमा यही टुङ्गिन्छ, पृथ्वीनारायण शाहलगायत नाटकले विभिन्न कालखण्डका नेपाली रङ्गमञ्चको आयामलाई प्रतिनिधित्व गर्दछ।

नाटकबाहेक केही उत्कृष्ट चलचित्रमा पनि उनको अभिनय–क्षमता देख्न सकिन्छ। चलचित्र ‘वासुदेव’ को मुख्य पात्र अर्थात् एक इमानदार प्राध्यापकका रूपमा उनले निर्वाह गरेको चरित्रलाई नेपाली चलचित्र जगतमा सदैव सम्झिइरहने चरित्रका रूपमा लिइन्छ। जीवन्त र सदावहार चरित्र। अरू चलचित्रमा पनि उनको अभिनय क्षमता देख्न सकिन्छन्।

लामो रङ्गमञ्चीय अनुभव बटुलेका शर्मा पछिल्लो समय संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा छन्। तीन वर्ष उपकुलपतिको जिम्मेवारी निर्वाह गरिसकेका शर्मासँग एकेडेमीले मूलतः नाट्य क्षेत्रको विकास र उन्नयनमा गरेका कार्यहरूका साथै उनको अभिनयको पाटोबारे विवश वस्तीले गरेको संवाद–अंशः

नेपाली रङ्गमञ्चमा प्रारम्भिक पाइला राख्दा हामीकहाँ संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन होला र त्यसको उपकुलपतिको कुर्सीमा बस्न पाइएला भन्ने सोच्नुभएको थियो?

थिइँन। पटक्कै थिइँन। संगीत–नाट्य विधामा काम गर्दै जाने एउटा पाटोको रूपमा रह्यो। तर संस्थागत रूपमा काम गर्दै जाँदा कालान्तरमा के कुराको बोध भयो भने, संगीत तथा नाट्य विधाको बेग्लै एकेडेमी हुनुपर्छ। हुन त, पहिलेदेखि नै नेपाल प्रज्ञा–प्रतिष्ठान नभएको होइन। जुन प्रतिष्ठानमा सबै विधा समाहित थिए– संगीत, नाटक, ललितकला, विज्ञानलगायत। पछिल्लो समय भने विधाहरू फराकिला हुँदै गए। विधाहरू फराकिला हुँदै गएपछि संगीत, नाट्य र ललितकला क्षेत्रका प्रतिभाहरूले बेग्लै प्रज्ञा–प्रतिष्ठान गठन हुनुपर्ने महसुस गर्न थालें।

बिस्तारै मलाई पनि बेग्लै संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन हुनुपर्छ भन्ने महसुस हुन थाल्यो। अब नाट्य विधालाई स्थापित गर्नुपर्छ भन्नेमा गहन रूपमा बोध पनि हुन थाल्यो। तर, २०३० सालमा नाट्य क्षेत्रमा पूरै समर्पित ढंगले लागेको बेलामा भने मलाई संगीत तथा नाट्य एकेडेमी बन्ला र त्यसको जिम्मेवारीमा पुगुँला भन्ने सोचाइ रत्तिभर आएको थिएन। तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा कलाकारको रूपमा प्रवेश गरेर नाट्य विधामा बिस्तारै भिज्न थालेपछि भने मलाई यो विधा व्यापक छ र यसको बेग्लै एकेडेमी हुनुपर्छ भन्ने महसुस भने हुँदै गयो।

हाम्रा छिमेकी मुलुक भारतमा संगीत तथा नाट्य एकेडेमी गठन भएको करिब सात दशक पुग्न लाग्दैछ। हामीकहाँ भने बल्ल एक दशक मात्र भयो। हामीकहाँ यति विलम्ब गठन हुनुमा किन प्रयत्नको कमी रह्यो ?

विगतमा संगीत तथा नाट्य विधा भाषा–साहित्य विधासँगै जोडिएर रहेको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानकै मातहतमा रहेर यो विधामा काम भइरहेको थियो। एकेडेमी त २०१४ सालमा नै गठन भएको हो। छ दशक पार गरिसकेको एकेडेमीभित्र नै संगीत, नाट्यलगायत विधालाई अटाइएको थियो। तर संगीत तथा नाट्यको अलग्गै एकेडेमी हुनुपर्छ भन्ने बोधचाहिँ केही पछि नै भएको हो। किनभने रङ्गकर्मीहरू सल्बलाएको पछिल्लो समयावधिमा नै हो।

२०७२ सालमा सरकारले बाल मन्दिरको १५ रोपनी जग्गा यो एकेडेमीलाई दिएको थियो। तर विभिन्न मुद्दा झेल्नु पर्‍यो। गएको वर्ष सर्वोच्च अदालतबाट मुद्दा छिनियो र सो जग्गा एकेडेमीको स्वामित्वमा आएको छ। उक्त जग्गामा प्रशासनिक भवनका लागि प्रिफ्याकको तयारी हुँदैछ र सम्भवतः आगामी वर्षभित्र हामी त्यहाँ सर्ने योजनामा छौं।

२०६२-०६३ को जनआन्दोलनको उपजस्वरूप संगीत तथा नाट्य र ललितकला एकेडेमी जन्मिएका हुन् भनिन्छ। यो परिवर्तनको उपज मात्र थियो कि आवश्यकताले पनि जन्माएको हो ?

संगीत तथा नाट्य एकेडेमी र ललितकला एकेडेमी गठन हुनुपर्छ भन्ने आवाज पहिलादेखि नै उठ्दै आएको हो। मलाई याद छ, २०५०-०५१ सालदेखि नै यस्तो आवाज उठ्न थालेको हो। त्यति बेला नै बेग्लाबेग्लै एकेडेमी गठन हुनुपर्छ भनेर सम्भाव्यता अध्ययन नभएका होइनन्। लामो समयको प्रयत्नपछि नै संगीत तथा नाट्य र ललितकला एकेडेमी गठन भएका हुन्।

तर, दुइटा एकेडेमी बन्न त जनआन्दोलनपछि नै बन्यो नि।

हो, गठन हुन समय लाग्यो। तर हामीले आवाज उठाएको त करिब तीन दशक नै भइसकेको थियो। गठनचाहिँ बल्ल एक दशकअघि मात्रै भयो। हामीले लामो समयदेखि आवाज उठाउँदै आयौं, यी दुई एकेडेमीको औचित्यबारे राज्यलाई बुझाउन कहिल्यै छाडेनौं। दुवै एकेडेमी गठनले मूर्त रूप भने २०६४ सालमा ऐन बनेपछि मात्रै लियो र २०६७ सालमा गठन भए।

त्यसअघि भने २०६२-०६३ को जनआन्दोलनपछि वरिष्ठ कवि वैरागी काइँलाको अध्यक्षतामा म सदस्य–सचिव रहेको एउटा कार्यदल पनि गठन भएको थियो। सो कार्यदलले एकेडेमीको पुनःसंरचना गर्नुपर्छ भनेर दिइएको सुझावको आधारमा नै दुइटा एकेडेमी गठन भएका हुन्।

उपकुलपतिको चार वर्षे कार्यकालमा तीन वर्षजति व्यतित गरिसक्नुभएको छ। यो अवधिमा नेपाली नाट्य क्षेत्रको विकासका लागि केकस्ता प्रयत्न गर्नुभयो ?

यो जिम्मेवारीमा आएपछि मेरा कामहरू नाट्य क्षेत्रमा मात्र सीमित हुने खालका रहेनन्। अलि फरक खालका कामहरूमा पनि व्यस्त रहनु पर्‍यो। नाट्य क्षेत्रमा नाट्य विभागका सदस्यहरू केन्द्रित हुनुहुन्छ। तर, नाट्य क्षेत्रको विकासमा नीतिगत रूपले जेजति काम गर्नुपर्ने हो, त्यसमा भने म केन्द्रित रहँदै आएको छु।

मूलतः कलाकारहरूको उत्पादन, अध्ययन, अनुसन्धान, प्रशिक्षणदेखि विभिन्न प्रदर्शनीका काममा मैले समय दिएको छु। गठन भएदेखि नै यो एकेडेमी सम्पत्तिविहीन र स्थानविहीन अवस्थामा थियो। स्थापनाकालदेखि नै भाडामा बसिरहेको एकेडेमी अहिले पनि भाडाकै घरमा छ। पहिला छाउनीमा थियो, अहिले बालुवाटारमा सरेको छ। अब भने सरकारले दिएको जग्गामा संरचना बन्ने तयारी हुँदैछ।

२०७२ सालमा सरकारले बाल मन्दिरको १५ रोपनी जग्गा यो एकेडेमीलाई दिएको थियो। तर विभिन्न मुद्दा झेल्नु पर्‍यो। गएको वर्ष सर्वोच्च अदालतबाट मुद्दा छिनियो र सो जग्गा एकेडेमीको स्वामित्वमा आएको छ। उक्त जग्गामा प्रशासनिक भवनका लागि प्रिफ्याकको तयारी हुँदैछ र सम्भवतः आगामी वर्षभित्र हामी त्यहाँ सर्ने योजनामा छौं।

सोही जग्गामा संगीत र नाट्य एकेडेमीका लागि आवश्यक पर्ने आधुनिक थिएटर सहितको भवन पनि निर्माण गर्नका लागि डिपिआरको काम अघि बढिसकेको छ। भवन निर्माणको लागि आर्किटेक्चरले डिजाइनसमेत गरिसकेका छन्। उक्त भवनमा एउटा ठुलो, एउटा सानो थियटरका साथै केही व्यापारिक स्थलहरू पनि बनाउँदै छौं।

यो अवधिमा सरकारले दिएको जग्गालाई एकेडेमीको नाममा ल्याउन पनि हामी व्यस्त रह्यौं। अर्कोतिर, विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीले पनि हाम्रो काममा धेरै हदसम्म बाधा पुर्‍यायो। यिनै कारणहरूले गर्दा हामीले सोचेका लक्ष्यहरू पूरा गर्नमा ढिलाइ हुन पुग्यो। तर हामी लक्ष्यतिर नै उन्मुख छौं।

थिएटरको कुरा निकाल्नु भयो। कस्तो खालको हुनेछ त्यो थिएटर ?

हामीले एकेडेमीलाई आर्थिक रूपले सघाउ पुगोस् भन्ने हेतुले थिएटर निर्माणको योजना अघि सारेका हौं। त्यसलाई हामी व्यावसायिक रूपमा सञ्चालन गर्नेछौं।
त्यसमा ठुला नाटक र कन्सर्टहरू हुनेछन्। त्यस्तै, रङ्गमञ्चीय गतिविधिहरू सदैव भइरहुन् भन्ने उद्देश्यले अर्को सानो थियटर पनि बनाउने योजना रहेको छ।
थिएटरलाई सुन्दर बनाउन बाहिरी भागमा बगैंचाहरूको निर्माण पनि गर्ने योजना रहेको छ।

हुन त हामीकहाँ संगीत तथा नाट्य एकेडेमी गठन भएको एक दशक मात्रै भयो। अरू देशका एकेडेमीहरूले जति काम गरिरहेका छन्, हामीकहाँ त्यस अनुपातमा काम नभइरहेको देखिन्छ। किन होला ?

हामीले सोचेअनुरूप काम गर्न अझै समय लाग्छ। यसमा दुइटा कुरा छन्। एउटा, आर्थिक रूपमा सम्पन्न भएर आफैले कार्य गर्ने पक्ष रहन्छ। किनभने, एकेडेमीसँग आर्थिक रूपमा आम्दानी गर्ने कुनै बाटा छैनन्, सरकारको अनुदानबाट सीमिततामा रहेर काम गर्नुपर्ने अवस्था छ। अर्को चाहिँ, सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरेर अघि बढ्ने पाटो रहन्छ। हामीले राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्नु पर्छ। तर आफूले आम्दानी गरेर, आफूले पनि लगानी गरेर अघि बढ्ने कुरा चाहिँ अहिले शून्य नै छ। किनभने, हामीसँग कुनै आम्दानी छैन। नयाँ भवन बनेर थिएटर सञ्चालन हुन थालेपछि यस्तो सम्भावना रहला।

अहिले त सरकारी अनुदानमा सीमित रहेर एकेडेमीले आफ्ना क्रियाकलापहरू मात्र गरिरहेको छ। त्यसैले विदेशका सम्पन्न एकेडेमीहरूका तुलनामा हामीले फराकिलो भएर काम गर्न सकिरहेका छैनौं। यो यथार्थलाई हामीले स्वीकार्नु पर्छ।

त्यसो भए थिएटर बनेर व्यापारिक गतिविधि नभई एकेडेमीले खुलेर काम गर्न सक्ने अवस्था छैन, हैन त ?

हो नि। त्यसपछि मात्र हामी खुलेर काम गर्न सक्छौं। हुन त हामीले गर्ने भनेका प्राज्ञिक र बौद्धिक गतिविधिहरू नै हुन्। थिएटर बनेपछि हामी व्यापारिक गतिविधिहरू मात्र गर्दैनौं। अहिले त हामीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै सेमिनार गरौं वा महोत्सवहरू गरौं भन्दा आफ्नै हल छैन। पटके रूपमा गर्ने हो भने जहाँका हल पनि भाडामा लिएर गर्न सकिन्छ। तर आफ्नै हल भयो भने काम गर्न धेरै सजिलो हुन्छ। अपेक्षा गरौं, आगामी दिनमा यो कार्य हुनेछ।

रङ्गमञ्चको इतिहासलाई व्यापक फलकमा देख्नका लागि यसको दस्तावेजीकरणको आवश्यकता पर्छ। यो दिशातिर एकेडेमीले कुनै कदम चालेको छ त ?

हामीले नेपाली रङ्गमञ्चको दस्तावेजीकरणका लागि केही काम गरेका छौं। एकेडेमी स्थापना भएयता देशभरिका प्रदर्शनी वा कलाका केही अनुसन्धानात्मक काम गरी कृति प्रकाशन गरेका छौं। केही वृत्तचित्र बनाएका छौं। तर स्थानाभावले गर्दा हामीले सहज रूपमा प्रदर्शन गर्न भने सकिरहेका छैनौं।

रङ्गकर्मीहरूलाई रङ्गमञ्चमा टिकाउन नसक्नुमा धेरै कारण छन्। रङ्ग क्षेत्रमा रङ्गकर्मीहरू भित्री मनदेखि नै लागेका हुन्छन्। उनीहरूलाई कसैले घचेटेर यो क्षेत्रमा लागेका हुँदैनन्। तर मनले लागेको ठाउँमा सोचेअनुरूप पारिवारिक जीवन चलाउने सामथ्र्यको विकास नहुँदाखेरी र त्यस्तो परिवेश र वातावरण नबन्दा रङ्गकर्मीहरूले विकल्प खोज्नुपर्ने आवश्यकता पर्दछ।

अरू देशकै उदाहरण लिने हो भने सरकारी प्रयत्नबाट मात्रै नाट्य र संगीत क्षेत्रको विकास भएका छैनन्। यी क्षेत्रको विकासका लागि निजी क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको देखिन्छ। अरू देशमा विभिन्न पाठ्यशाला बनेका हुन्छन्, विभिन्न रङ्ग महोत्सवहरू भइरहेका हुन्छन्। कुनै देशमा त देशभरि नै नृत्यको प्रशिक्षण चलिरहेका हुन्छन्। त्यसलाई संरक्षकत्व गर्ने, प्रोत्साहित गर्ने र अभिभावकत्व गर्ने कार्य एकेडेमीले गर्ने हो।

अहिले देशको कुनाकाप्चासम्मै यस्तो लहर र चाख बढ्दै आएको छ, कतै अभिनयको तालिम सञ्चालन भइरहेका छन्, कतै लाइट र साउन्ड प्रयोगका तालिम चलिरहेका छन्, कस्ट्युम डिजाइनको तालिम चलिरहेका छन्, सेट डिजाइनको तालिम चलिरहेका छन्। मूलतः नाटकको विकासको लागि आधुनिक प्रविधिको कसरी प्रयोग गर्न सकिन्छ भन्ने तालिम र प्रयोगहरू भइरहेका छन्। तर, उनीहरूलाई हामीले अपेक्षाकृत रूपमा प्रोत्साहित गर्न सकिरहेका छैनांै। हामीले उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ भन्ने लाग्छ।

नेपाली नाट्य क्षेत्रको विकास र उन्नयनमा निजी क्षेत्रमा भइरहेका काम र प्रयत्नहरू कतिको आशाप्रद छन् ?

निजी क्षेत्र वा जनस्तरबाट रङ्गमञ्चीय गतिविधिहरू सञ्चालित भएनन्, साङ्गीतिक गतिविधिहरू सञ्चालित भएनन् भने प्रदर्शनी र कलाका कार्यहरू हामीले सोचेजस्तो समृद्ध हुँदैनन्। सरकारी स्तरबाट त नीति बनाइदिने हो, अप्ठेरा कुराहरू फुकाइदिने हो र आर्थिक रूपले केही सहयोग गर्ने हो।

निजी क्षेत्रका रङ्गकर्मीहरूका साथै जनसहभागिताविना यो क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्न सक्दैन।

रङ्गमञ्चबाट उदाएका कलाकारहरू फिल्म, टेलिफिल्मतिर आकर्षित हुनु सामान्य बन्दै गएको छ। उनीहरूलाई रङ्गमञ्चमा किन टिकाउन सकिएन ?

रङ्गकर्मीहरूलाई रङ्गमञ्चमा टिकाउन नसक्नुमा धेरै कारण छन्। रङ्ग क्षेत्रमा रङ्गकर्मीहरू भित्री मनदेखि नै लागेका हुन्छन्। उनीहरूलाई कसैले घचेटेर यो क्षेत्रमा लागेका हुँदैनन्। तर मनले लागेको ठाउँमा सोचेअनुरूप पारिवारिक जीवन चलाउने सामथ्र्यको विकास नहुँदाखेरी र त्यस्तो परिवेश र वातावरण नबन्दा रङ्गकर्मीहरूले विकल्प खोज्नुपर्ने आवश्यकता पर्दछ। रङ्गकर्मीहरू केही समय एकदमै आशामुखी बनेर मरिमेटेर लाग्छन् तर हातमुख जोड्ने समस्या देखिएपछि विकल्प खोज्नतिर लाग्छन्। रङ्गमञ्चबाट उदाएका थुप्रै कलाकार कोही फिल्म, कोही टेलिफिल्म र कोही मिडियातिर छरिएका छन्। तर जता छरिए पनि कला क्षेत्रमै छन्। जति कलाकारहरू जुर्मुराएर नाट्य क्षेत्रमा लागेका छन्, उनीहरूले भनेजस्तो अवसर भने पाउन सकिरहेका छैनन्।

पछिल्लो समय कोभिडको महामारीले पनि कलाकर्मीहरूलाई धेरै नै असर पुर्‍यायो। उनीहरूले कष्टप्रद जीवन बाँच्नु पर्‍यो।

नाटक लेखन, मञ्चनमा नेपाली भाषामा जति विकास भएको छ, अरू राष्ट्रिय भाषामा नाटक लेखन, मञ्चन र त्यसलाई प्रवद्र्धन गर्नेतिर खासै प्रयत्न भएको पाइँदैन। अरू भाषाप्रति किन यस्तो उपेक्षाभाव हो ?

नाटक लेखन साहित्यसँग जोडिएको विषय पनि हो। यसका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आपसी रूपमा सहकार्य गरेर नाटक लेखनको वातावरण सिर्जना गरिनु आवश्यक छ।

केही समय पहिले नाटक लेखनका लागि हामीले नयाँ पुस्ताका लेखकहरूलाई आह्वान गरेका थियौं। उनीहरूलाई केही पारिश्रमिक दिने गरी यो प्रयास गरेका थियौं। हामीले जेजति अपेक्षा राखेर नाटक लेखनको आह्वान गरेका थियौं, अपेक्षाकृत रूपमा नाटक नै आएनन्। प्राप्त नाटकहरूलाई पुस्तकको रूपमा प्रकाशन गर्ने योजना पनि थियो। तर जम्मा ५–६ वटा मात्रै नाटक हामीलाई प्राप्त भयो। हामीकहाँ नाटक लेखनको यस्तो दयनीय अवस्था छ।

नाटक लेखनमा नयाँ पुस्ताले किन अभिरुचि नदेखाएका होलान् त ?

नयाँ पुस्तामा किन अभिरुचि नदेखिएको होला भन्ने कुरा बुझ्नै सकिएन। नाटक लेखनको विधा अप्ठेरो भएर हो कि ? के भएर हो ? थाहा पाउन सकिएन। साहित्यकै अरू विधामा जस्तैः कविता एक बिहानको बसाइमा लेख्न सकिन्छ। तर नाटक लेखनका लागि धेरै नै मस्तिष्क खियाउनुपर्ने हुन्छ, नाटक लेखनमा विशेष खालको प्रविधि र सीपको पनि ज्ञान हुनुपर्छ। नाटक मञ्चनयोग्य बनाउन धेरै कुराको ज्ञान हुनुपर्ने भएर हो कि ? अथवा, कथामा प्रयोग हुने पात्रहरूको विवेचना शूक्ष्म तरिकाले गर्नुपर्ने भएर हो कि ? वा, समयाभावले हो ? नाटक लेखनमा खासै अभिरुचि देखिएन।

मनको भाव त साना कथा, लघुकथा, मुक्तक वा हाइकु लेखेर पनि पोख्न सकिन्छन्। लेखनमा विकल्पहरू धेरै भएको हुँदा नाटक विधा कम महत्वमा परेको हो कि भन्ने लाग्छ मलाई।

पूर्ववर्ती पुस्ताका नाटककारहरूले ऐतिहासिक, सामाजिक, सांस्कृतिकलगायत विषयका उम्दा नाटक लेखे, जसलाई नेपाली नाट्य परम्पराको कोसेढुंगा नै मानिन्छन्। पछिल्लो समय यस्ता नाटक लेखिने क्रम ठप्पै छ। हामीकहाँ विषयवस्तुहरू पनि प्रशस्तै छन्। तर किन यस्ता नाटक लेखिन छाडे ?

नाटक लेखन सिर्जनात्मक पक्ष हो। सिर्जनाका लागि चाहिने विषयवस्तुको छनोट नितान्त व्यक्तिगत कुरा हो। यसमा जबरजस्ती केही पनि हुँदैन र हुनु पनि हुँदैन। तपाईंले कुनै विषयलाई आफ्नो ढंगले सोचेर प्रस्तुत गर्नु नै तपाईको मौलिकता र विशेषता हो। तसर्थ, एकेडेमीहरूले त प्रोत्साहित गर्ने मात्र हो। लेखिएका नाटकहरू प्रकाशनयोग्य छन् भने प्रकाशन गर्ने, मञ्चनका लागि उपयुक्त छन् भने मञ्चन गर्ने वातावरण बनाइदिने हो। यसका निम्ति एकेडेमी र लेखकबीच सहकार्यको आवश्यकता पर्छ।

मलाई लाग्छ, कुनै पनि समाज वा ठाउँमा विषयवस्तुको अभाव हुँदै हुँदैन। साना कुरालाई पनि विषयवस्तु बनाउन सकिन्छ। मात्र त्यस्ता विषयमा कसरी आफूले जाल बुन्ने हो, कसरी त्यसलाई डिजाइन गर्ने हो, त्यसको संरचना कसरी बनाउने हो र त्यसलाई कसरी सम्प्रेषण गर्ने हो, यो मात्र मुख्य कुरा हो।

राम्रा उपन्यास वा कथालाई नाट्यान्तरण गरेर पनि प्रदर्शन गर्न सकिन्छन् नि। बाह्य मुलुकहरूमा यस्ता थुप्रै उदाहरण छन्।

हामीकहाँ पनि केही साथीले प्रयत्न गरेका छन्। त्यसो गर्नेहरूलाई हामी प्रोत्साहित गर्न सक्छौं। उपन्यास, कथा वा नाट्य ढाँचामै लेखिएका भए पनि त्यस्ता सिर्जनालाई नाट्यान्तरण गरेर मञ्चन गराउनेतिर हाम्रो ध्यान जानेछ।

समस्या के भइदियो भने, हामी आर्थिक र स्थानाभावका कारण खुम्चिएर बस्नु परिरहेको छ। अलिक फराकिलो भएर काम गर्ने वातावरण नभएर नै हामीले सोचेजस्तो काम हुन सकिरहेको छैन। निकट भविष्यमा हुन्छ नै।

तपाईंले थुप्रै नाटकमा अभिनय गर्नुभयो र फिल्महरूमा पनि। तर भित्री हृदयदेखि नै रमाउन सकिने चाहिँ नाटकमा रह्यो कि फिल्ममा ?

निश्चय नै, नाटकमै। नाटकमा नै सन्तुष्टि मिल्छ, आनन्द आउँछ। किनभने नाटकमा प्रत्यक्ष प्रस्तुति दिन सकिन्छ। आम दर्शकबीच प्रत्यक्ष साक्षात्कार र अनुभूति गर्न पाउने, आफूमा धेरै नै जिम्मेवारीबोध हुने विधा नाटक नै हो। न यसमा टेक गर्न पाइन्छ, न रिटेक नै। दर्शकहरूका दायित्वबोध स्वीकारेर उनीहरूलाई सन्तुष्टि दिने र सही रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने चुनौती नाटकमा हुन्छन्।

त्यसो त अभिनयको चुनौती त चलचित्रमा पनि हुन्छ नै। तर चलचित्रमा सुविधा छन्। क्यामराको सुविधा छ, टेक–रिटेक र सम्पादनका धेरै सुविधा छन्।

तपाईंले पछिल्लो समय अभिनय गर्नुभएको नाटक कुन हो ?

मैले ५–६ वर्षअघि शिल्पी थिएटरमा खेलेको नाटक हेनरी इव्सनको ‘द पिलर अफ सोसाइटी’ हो। त्यसको नेपाली नाम थियो, ‘समाजको नाइके।’ जसलाई घिमिरे युवराजले निर्देशन गरेका थिए।

नेपाली रङ्गकर्ममा करिब साढे पाँच दशक बिताइसक्नुभयो। यो क्षेत्रमा यति लामो समयसम्म तपाईंलाई टिकाइराख्ने आधार चाहिँ के हो ?

मलाई यो क्षेत्रमा टिकाइराख्ने आधार आम दर्शकको माया, प्रेम र अपनत्व हुन्, जुन मेरा लागि बाँच्ने प्रेरणाका स्रोत बनेका छन्। यदि दर्शकहरूको माया र प्रेम नपाएको भए मलाई प्रफुल्ल रूपमा जीवनयापन गर्ने ऊर्जा प्राप्त हुने थिएन। माया, प्रेम र सद्भावले नै म यो क्षेत्रमा टिकिरहेको हुँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved