नेपालका प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

नेपालभ्युज

नेपालका प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं। नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। उनले ब्याडमिन्टनमा इतिहास रच्न सफल भएका छन्।
विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका छन्। उनको १० हजार ५ सय अङ्क छ।

महासंघले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन्। उनको नौ हजार पाँच सय ९० अंक छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९ सय २५ अंकसहित तेस्रो स्थानमा छन्। फ्रान्सका एलेक्स लानिर ६ हजार ७ सय अंकका साथ चौथो तथा भारतका एस शंकर मुथुसामी सुब्रमन्यम ६ हजार ३ सय ४० अंकसहित पाँचौँ स्थानमा छन्।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए। अबको ध्यान वरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।
नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ। राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ। कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन्। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved