सार्न मिल्ने गरी बनाइएको कतार विश्वकप फुटबल २०२२ को अनौठो स्टेडियम

नेपालभ्युज

सार्न मिल्ने गरी बनाइएको कतार विश्वकप फुटबल २०२२ को अनौठो स्टेडियम

काठमाडौं। विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र बनेको कतारले आउँदो वर्ष आयोजना हुने विश्व फुटबलको कुम्भमेला सञ्चालनका लागि धेरै अविश्वनीय काम गरिरहेको छ।

जसमध्ये एक हो ‘स्टेडियम ९७४’। विश्वकपका लागि कतार सरकारले तयार पारेको आठ प्रमुख फुटबल स्टेडियमहरूमा यो पनि एक हो। यो स्टेडियम आफैंमा एउटा अनौठो निर्माण किन हो भने यसका निर्माताले यसलाई अर्को ठाउँमा सार्न मिल्ने गरी बनाएका छन्।

“फिफा विश्वकप २०२२ को एक अंगको रूपमा यो परियोजना रहन गएकोमा हामी निकै खुशी छौं। हामीले गौरव महसुस गरेका छौं कि यो स्टेडियमले इतिहासमा नै पहिलोपटक अन्य ठाउँमा सार्न मिल्ने र पुनः प्रयोग गर्न मिल्ने फिफा विश्वकपको स्टेडियमको रेकर्ड बनाउने छ।”

यो स्टेडियमको डिजाइन बनाएको कम्पनीका आर्किटेक्ट, मार्क फेनविक बताउँछन्, “हामी विस्वशत छौं कि यो नयाँ र दिगो अवधारणाले अन्य स्टेडियम निर्माता र आर्किटेक्टका लागि प्रेरणाको काम गर्नेछ।”

यो अनौठो डिजाइन करिब ३ दशक पुरानो ‘फेनविक लिराबरेन आर्किटेक्ट’ नामक स्पानिस ‘आर्किटेक्चरल डिजाइन स्टुडियो’ ले बनाएको हो।

यसको प्रमुख र अनौठौ विशेषता भनेको यसलाई छोटो समयमा नै जोड्न, भत्काउन र अर्को ठाउँमा सारेर पुनः जोड्न सकिन्छ। ९७४ ओटा पानि जहाज ढुवानीका लागि प्रयोग गरिने कन्टेनरलाई पुनः प्रयोग गरी यसको समायोजनबाट यो स्टेडियममा बनाइएको छ।

कतारको दोहास्थित रास एबु एबोउडमा सन् २०२२ को फिफा विश्वकपका लागि बनाइएको यो फुटबल स्टेडियमको निर्माण प्रक्रिया सन् २०१७ मा शुरु गरिएको थियो।
यो ठाउँमा रहेको औद्योगिक क्षेत्रको इतिहासको सम्मान स्वरूप र यहाँको अन्तर्राष्ट्रिय डायल कोड प्लस ९७४ को प्रतिबिम्बात्मक रूपमा स्टेडियम निर्माणका लागि ९७४ कन्टेनरको प्रयोग गरेको थियो।

निर्माणको शुरुआतमा स्थानको हिसाबले यसको नाम रास एबु एबोउड स्टेडियम राखिएको थियो। तर ९७४ कन्टेनरको प्रयोग भएकै कारण उद्घाटन दिनमा यसलाई आधिकारिक रूपमा स्टेडियम ९७४ मा पुनः नामांकन गरिएको घोषणा भयो।

स्वरूप परिवर्तन गरेर विभिन्न आकारमा बनाइएका कन्टेनरहरूलाई फलामको फ्रेमको सहयोगमा मिलाएर राखेर यो स्टेडियम तयार पारिएको छ। यी कन्टेनरहरूलाई स्टेडियमको विभिन्न आधारभूत कक्षहरू जस्तै शौचालय, प्राविधिक कोठा मात्र नभई भर्‍याङका रूपमा पनि प्रयोग गरिएको छ।

यो डिजाइनका कारण स्टेडियम बनाउन कम समय, कम लागत, कम निर्माण सामग्री प्रयोग भएको छ। साथै निर्माण दौरान अन्य परम्परागत भवन बनाउने प्रक्रियामा भन्दा कम फोहोर र प्रदूषण उत्सर्जन भएको पनि बताइएको छ।

साथै यो स्टेडियम निर्माण दौरान अन्य स्टेडियमभन्दा ४० प्रतिशत पानीको कम प्रयोग भएको निर्माण कम्पनीले जनाएको छ। साथै करिब तीन वर्षमा नै निमार्ण सकिएको यो स्टेडियम बनाउन अन्यभन्दा कम समय लागेको पनि बताइएको छ।

यसलाई विश्वकप सम्पन्न भएपछि भत्काइने योजना कतार सरकारको छ।

यो स्टेडियम यसकारण खास छ कि हालसम्मको विश्वकप फुटबल इतिहासलाई हेर्दा कुनै पनि विश्वकपका लागि बनाइएको यो पहिलो अस्थायी स्टेडियम हो। विश्वकपपछि कतार सरकारको योजना यसलाई भत्काएर यहाँ प्रयोग भएका कन्टेनरहरूलाई अफ्रिकाका अल्पविकसित देशहरूमा स्टेडियम निर्माणका लागि सहयोग स्वरूप पठाइनेछ।

कतारको अनुदान तथा सहयोग वितरण उच्च किमिटीका महासचिव हसन अल थवाडी भन्छन्, “यो स्टेडियमको अति नै बहुमूल्य छ, यसलाई नयाँ ठाउँमा लगेर अर्को पूर्ण स्टेडियम बनाउन सकिनेछ। अथवा यसलाई साना साना धेरै खलकुद स्थल वा सांस्कृतिक स्थल पनि बनाउन सकिनेछ।”

उनी थप्छन्, “यो स्टेडियमले पहिलेभन्दा अझ दिगोगत हिसाबले बनाइएको छ जसले विश्वकप दौरान समर्थकहरूलाई फुटबलबाहेक पनि बेग्लै माहोलको अनुभूति गराउनेछ। म खुशी छु कि यो डिजाइनले भविष्यमा ठूला इभेन्ट आयोजना गर्ने र ठूला निर्माणकर्ताको लागि ब्लुप्रिन्टको काम गर्नेछ।”

यो स्टेडियम गत नोभेम्बर ३० मा मात्र उद्घाटन गरियो। उद्घाटन भएको दिनमा पहिलो खेलको रूपमा फिफा अरब कपको प्रतियोगिता दौरान यूएई र सिरियाबीच खेल भएको थियो।

चार लाख ५० हजार स्काएर मिटरमा फैलिएको छ। जसले चार तारे स्टेडियमको मान्यता पाएको छ। ४० हजार सिट क्षमताको यो स्टेडियम दोहाको दक्षिणपूर्वी समुद्र तटमा छ। यो दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलभन्दा करिब डेढ किलो मिटर मात्र टाढा छ।

साथै कतार विश्वकपका लागि प्रयोग हुने आठमध्ये यो एक मात्र समुद्र नजिकै रहेको स्टेडियम हो। विश्वकपपछि यो स्टेडियम भत्काएर यो स्थानमा स्थानीका लागि पार्क बनाउने कतार सरकारको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved