न्युयोर्कको अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु

नेपालभ्युज

न्युयोर्कको अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु

अमेरिकी शहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ। घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका हुन्।

अरु कैयौँ व्यक्ति घाइते भएका छन्। प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको मेयर एडम्सले जानकारी दिए।

न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलका अनुसार यहाँको एक १९ तले भवनको एक तल्लामा आगो लागेको थियो। तर घाइतेहरू भने त्यस तलाबाहेक अरु पनि धेरै तलामा भेटिएका थिए। उनका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरूमा पनि धुँवा भरिएको थियो। सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए।

यहाँका समाचार माध्यमहरूले आगलागीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन्। कतिपय मिडियाले यो आगलागी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन्।न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो।

आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरू धुवाँले निसास्सिएका थिए। अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन्। यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। तर अधिकारीहरूले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्।

आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो। अहिले आगो नियन्त्रणमा आएको बताइएको छ। तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved