देउवा-ओली भेटले बढायो आशंका, एमसीसीले गठबन्धन टुटाउने खतरा

‘एमसीसीबारे छलफल गर्न जानुभएको भन्ने छ नि त ?’ भन्ने जिज्ञासामा उनले भने, “एमसीसीबारे पनि छलफल गर्न जानुभएको हो तर उहाँले भनेर मात्र संसद्‌मा टेबल हुँदैन। त्यसमा सत्तारुढ गठबन्धनभित्र पनि सहमति हुनुपर्‍यो। सभामुख पनि त तयार हुनुपर्‍यो- एमसीसी अघि बढाउन।”

नेपालभ्युज

देउवा-ओली भेटले बढायो आशंका, एमसीसीले गठबन्धन टुटाउने खतरा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार अपराह्न प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगे।

अघिल्लो दिन नै ओलीसँग समय मिलाएका देउवाले त्यहाँ ओलीसँग एक्लाएक्लै एक घण्टा कुराकानी गरे। एमाले उच्च स्रोतका अनुसार त्यहाँ पुगेर देउवाले ओलीलाई प्रस्ताव गरेका थिए, “म एमसीसी ल्याउँछु, तपाईंले त्यसलाई पास गर्न सघाउनुपर्‍यो।”

मित्रवत् सम्बन्ध रहेका देउवाले छोटकरीमा राखेको सीधा प्रस्तावको त्यस्तै गरी जवाफ फर्काएनन् ओलीले। उनले देउवालाई आग्रह गरे, “सत्तारुढ गठबन्धनभित्र पहिले सहमति गरेर संसदभित्र प्रक्रिया अघि बढाउनुस्, त्यसपछि एमालेले निर्णय गर्छ।”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको प्रमाणित भइसकेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका थिए देउवा। तर, त्यो जानकारी हुँदाहुँदै बालकोट गएका देउवाले ओलीसँगको भेटमा प्रचण्डलाई पोजिटिभ पुष्टि भएकोले आफू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेको पनि बताएका थिए।

प्रधानमन्त्री देउवा र विपक्षी नेता ओलीबीचको संवादपछि शनिवार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गरे। एक्लाएक्लै भएको लामो छलफलबारे विस्तृत केही पनि सार्वजनिक भएको छैन।

बालकोट पुगेका सञ्चारकर्मीसामु प्रधानमन्त्री देउवाले केही पनि बोलेनन्। ओलीले भनेका थिए, “उहाँ आउनुभो। भेटघाट राम्रो भयो।”

ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले आफूलाई पनि ‘बाहिर ब्रिफिङ गर्ने तहको केही पनि कुराकानी नभएको ओलीले बताएको’ जानकारी दिए।

प्रमुख प्रतिपक्षी दलको त धर्म नै हो- सत्तारुढ गठबन्धन फुटाउन खोज्नु। त्यसमाथि सर्वोच्च अदालतको आदेशबाट ओली सरकार ढलेपछिको एमालेले आफूलाई ‘घाइते बाघ’ का रूपमा संसद्भित्र प्रस्तुत गर्दै आएको छ। ६ महीनादेखि सदन अवरुद्ध पार्दै आएको छ।

एमाले सरकार ढाल्ने खेलमा नलागे पनि गठबन्धन टुटाउन भने प्रयत्नशील छ। विशेष गरी कांग्रेसले माओवादी केन्द्र र एमाले फुटाएर माधव नेपालको नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) लाई कांग्रेससँगको गठबन्धन टुटाउने प्रयत्नमा छ।

एमाले उपमहासचिव विष्णु रिमालले ‘नेपाल भ्यूज’सँगको कुराकानीमा  एमसीसी ‘डेभलप्मेण्ट एजेण्डा’ मात्र नरहेको बताउँदै भने, “एमसीसी डेभलप्मेण्ट एजेण्डा थियो, यसलाई राजनीतिक एजेण्डा बनाइयो। पोलिटिकल स्टन्ट बनाइसकेपछि जबसम्म यो विषय संसद्‌मा टेस्ट हुने ठाउँमा सत्ताधारी गठबन्धन पुग्दैन, तबसम्म एमाले केही पनि बोल्दैन। जब संसद्‌मा पेश हुन्छ, त्यसपछि मात्र एमालेले के गर्ने भन्ने निर्णय गर्छ।”

सत्तारुढ गठबन्धनको दोस्रो घटक माओवादी केन्द्र नै एमसीसीको विपक्षमा छ। माओवादी संसदीय दलका मुख्य सचेतक एवम् पार्टी स्थायी कमिटी सदस्य देव गुरूङले प्रधानमन्त्री संसद् खुलाउने प्रयासमा ओलीसँग छलफल गर्न बालकोट पुगेको बताए।

‘एमसीसीबारे छलफल गर्न जानुभएको भन्ने छ नि त ?’ भन्ने जिज्ञासामा उनले भने, “एमसीसीबारे पनि छलफल गर्न जानुभएको हो तर उहाँले भनेर मात्र संसद्‌मा टेबल हुँदैन। त्यसमा सत्तारुढ गठबन्धनभित्र पनि सहमति हुनुपर्‍यो। सभामुख पनि त तयार हुनुपर्‍यो- एमसीसी अघि बढाउन।”

नेता गुरूङले प्रधानमन्त्री एमसीसी पास गर्ने पक्षमा लागेको त बताए तर त्यसो हुन नदिने पनि अडान राखे। ‘गठबन्धन नै टुटाएर पनि पास गरिछाड्छु भन्नुभएको छैन, प्रधानमन्त्रीले पनि तर गठबन्धनमा सहमतिबिना त्यो संसद्‌मा अघि बढ्दैन,” उनले भने, “कार्यव्यवस्था परामर्श समितिमा सहमति नभई सभामुखले अघि बढाउनुहुन्न।”

एमसीसी सम्झौता संघीय संसद्बाट बहुमतले पारित गराउन अमेरिकाले चासो देखाएपछि नेपालका राजनीतिक दलभित्र यसको प्रभाव देखिएको छ। एमसीसीको पक्ष र विपक्षमा दलहरू विभाजित भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘नरम’ देखिए पनि कार्यकर्ता पंक्ति यसको विपक्षमा उभिएको छ। नेकपा एस, राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छन्। गठबन्धन समन्वय समितिको बैठकमा पनि यसबारे सहमति जुट्न सकेको छैन।

देउवा-ओलीबीचको बैठकमा के कुराकानी भयो भन्नेबारे जानकारी आइनसकेको बताउँदै गुरूङले भने, “गठबन्धनमा सहमति नभई प्रधानमन्त्रीले चाहेर पनि त्यो अघि बढ्न सक्दैन।”

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटमा पनि एमसीसी संसद्बाट पारित गर्न सरकारले प्रक्रिया अघि बढाए त्यसलाई एमालेले समर्थन गरेर पारित गर्नेबारे कुराकानी भएको र यसमा एकमत रहेको उनले बताए। तर, आफूहरूले गठबन्धन छाड्नेबारे कुनै पनि कुरा नभएको पनि उनले जानकारी दिए।

‘सत्तारुढ गठबन्धन समन्वय समिति’ का संयोजक रामचन्द्र पौडेल तीन दिनअघि यस्तै प्रस्ताव लिएर बालकोट पुग्दा ओलीले प्रधानमन्त्रीसँगै छलफल गर्ने बताएका थिए। पौडेल पनि प्रतिनिधिसभाको अवरोध हटाएर एमसीसी पास गर्ने प्रस्ताव लिएर बालकोट पुगेका थिए।

माओवादी अध्यक्ष प्रचण्डले ओलीले एमसीसीलाई सत्ता गठबन्धन टुटाउने हतियारको रूपमा प्रयोग गर्न खोजेको तर कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताउँदै आएका छन्। एमालेबाट फुटेर छुट्टै दलको अध्यक्ष बनेका नेकपा (एकीकृत-समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि ओलीको योजना सफल हुन नदिने बताउँदै आएका छन्।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र गोप्य नै राखिएको छ। त्यसमा लेखिएको विषय गोप्य नै राखिए पनि त्यसपछि बसेको माओवादी केन्द्रीय समिति बैठकले पास नगर्ने निर्णय गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved