कजाखस्तान, जहाँ जनतासँग आत्तिएका शासकले विदेशी सैनिक गुहारे

जनजेमको विद्रोह ”खरानी बनाइसक्यौं” भन्ने सत्ताको दम्भ दशकपछि गलत साबित हुँदै छ। देशव्यापी सल्किएको आन्दोलनको डढेंलोले आफुलाई खरानी बनाउने त्रास सत्ताधारीमा थपिएको छ। त्यही त्रासले उनीहरूलाई विदेशी सेनाको शरणमा पुर्‍याएको हो।

कजाखस्तान, जहाँ जनतासँग आत्तिएका शासकले विदेशी सैनिक गुहारे

काठमाडौं । इन्धनको मूल्यवृद्धि भएको विरोधमा शुरु भएको प्रर्दशनले राजनीतिक रुप लिँदा कजाखस्तानको स्थिर राजनीतिमा अस्थिरता उत्पन्न हुँदैछ। स्थिति यतिसम्म बिग्रियो कि सत्ता जोगाउन राष्ट्रपति कास्यम जोमार्त तोकायेभ विदेशी सैनिकको शरणमा पुगे।

४ जनवरीमा तोकायेभले संयुक्त सुरक्षा सन्धी संगठन (सीएसटीओ) सँग सैन्य सहयोगको आग्रह गरे। यस्तो आग्रहलाई ५ जनवरीमा स्विकारेको सीएसटीओले २४ घण्टा नबित्दै नुर सुल्तानमा सेना उतार्यो।

सीएसटीओ पूर्वसोभियत संघ सम्बद्ध सैन्य गठबन्धन हो। देशभित्र आउनसक्ने सुरक्षा चुनौतीको सामना गर्न यी देशले संयुक्त रुपमा यस्तो सुरक्षा संगठन स्थापना गरेका थिए। आणविक शक्तिसम्पन्न रुसको नेतृत्वमा रहेको यस गठबन्धनमा अर्मेनिया, बेलारुस, किर्गिजस्तान, ताजकिस्तान र स्वयंम् कजाखस्तान सदस्य छन्।

प्रदर्शन कसरी चल्दैछ ?

पूर्वसोभियत संघका देशमध्ये तुलनात्मक रूपमा स्थिर मानिएको कजाखस्तानको छवि जारी आन्दोलनले  धुलो बनाइदिएको छ। अल्माती शहरमा भएको प्रदर्शनका क्रममा जनताले मंगलबार देशकै पहिलो राष्ट्रपति तथा सर्वोच्च नेता नुरसुल्तान नजरबाएभको शालिक ढाले, यहाँ आगजनीका घटना पनि भए। अहिलेसम्म २६ प्रदर्शनकारी र १८ सैनिकको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्रालयले आन्दोलनमा विदेशबाट तालिमप्राप्त ”बन्दूकधारी अपराधी” संलग्न रहेको दाबी गरेको छ। उसले  विदेश भनेर अमेरिकातर्फ संकेत गरेको हो।

यस्तो परिस्थितिमा आन्दोलन रोक्न रूस नेतृत्वको सेना प्रवेश गरेसँगै अवस्था थप विकराल बनेको छ।

प्रदर्शन बढ्दै गएकाले त्यहाँको सरकारले ५ जनवरीमा राजीनामा दिएको थियो। राष्ट्रपति तोकाएभले सरकारको राजीनामा स्वीकृत गर्दै अलीखान स्माइलोभलाई कार्यकारी प्रधानमन्त्री बनाए, तर अवस्था सुर्धनुको साटो उल्टो जर्जर बन्दैछ।

सतही रूपमा हेर्दा अहिलेको आन्दोलन मूल्यवृद्धिको उपज हो। किनकी, कजाखस्तानमा ७० प्रतिशतभन्दा बढी सवारी साधन एलपिजी ग्यासबाट सञ्चालन हुन्छन्। र, १ जनवरीमा सरकारले एलपिजी ग्यासको मूल्यवृद्धी गर्ने निर्णय गरेपछि आन्दोलन शुरु भएको थियो।

तर, यसको पृष्ठभूमी गहिरो छ। स्रोत साधनमाथि सिमित व्यक्तिको एकाधिकार र आर्थिक असमानता जनता आन्दोलित हुनुको मुख्य कारण हो। प्रति व्यक्ति आय ६ सय अमेरिकी डलरमात्रै रहेको यस देशमा बहुसंख्यक नागरिक अभावको जीवन बाँच्न विवश छन्। समृद्ध देशका नागरिक भएर पनि गरिबीमा बाँच्नुपर्दाको पीडा अहिले सडकमा पोखिएको जानकारहरू बताउँछन्।

अहिलेको विद्रोह जनजेम प्रान्तबाट शुरु भएको हो। यो त्यही प्रान्त हो, जहाँ २०११ मा पनि प्रदर्शन भएको थियो। आय बढाउनुपर्ने माग राख्दै मजदूरले थालेको आन्दोलनले त्यतिबेला विश्वव्यापी चर्चा पाएको थियो। किनकी, अरब दुनियाँमा सत्ता परिवर्तनको लहर र यहाँका मजदूरहरूको आन्दोलन एकै समय चलिरहेको थियो। तर, अरबका जनताले आफ्ना निरंकुश शासकलाई सत्ताच्युत गर्दा यहाँका मजदूर सत्ताको लाठी र गोलीले थलिए, विद्रोह दबियो।

अहिलेको आन्दोलन फरक ढंगले उठेता पनि विज्ञहरूले पुरानै विद्रोहको बचे-कुचेको अवशेष नयाँ अवतारमा देखिएको मानेका छन्। जनजेमको विद्रोह ”खरानी बनाइसक्यौं” भन्ने सत्ताको दम्भ दशकपछि गलत साबित हुँदै छ। देशव्यापी सल्किएको आन्दोलनको डढेंलोले आफुलाई खरानी बनाउने त्रास सत्ताधारीमा थपिएको छ। त्यही त्रासले उनीहरूलाई विदेशी सेनाको शरणमा पुर्‍याएको हो।


सधैंको विदेशी हस्तक्षेप

कजाखस्तानमा फैलिएको प्रदर्शनलाई बुझ्न यस देशको इतिहास र भौगोलिक अवस्थितीबारे बुझ्नुपर्ने हुन्छ। चीनको सिजियाङसँग कजाखस्तानको पूर्वी सीमा जोडिएको छ। सिजियाङ त्यही स्थान हो, जहाँ (पश्चिमा सरकारको दाबीअनुसार) चिनियाँ सरकारले उईगुर मुस्लिमलाई ‘सुधार गृह’ र ‘पुनःशिक्षा केन्द्र’ को नाममा ‘बन्दी’ बनाएर राखेको छ।

त्यस्तै कजाखस्तानको उत्तरमा रुस रहेको छ। कजाखस्तान चीन र रुस दुबै देशको नियन्त्रणमा रहेको इतिहास छ। चङगेस खान को थिए नामक पुस्तकका लेखक कालीबेक दानियारोवले चङगेसका पुर्खा कजाख भएको दाबी गरेका छन्।

यसको सम्बन्ध ८ औँ शताब्दीको अरब आक्रमणसँग जोडिएको छ। अरब आक्रमणकारीले इस्लाम धर्मलाई आफूसँगै ल्याएका थिए। १३ औँ शताब्दीको शुरुवातसँगै मंगोलहरुको प्रभुत्व चरम अवस्थामा थियो। चङगेस खानको सेनाले मध्य एशियालाई आफ्नो कब्जामा लिँदा कजाखस्तान खानको कब्जामा परेको थियो।

८ औँ शताब्दीमा अरब आक्रमण गर्ने इस्लामिक र मंगोलको मिश्रणले जन्मिएको अर्को जाति हो, कजाख। १५ औँ शताब्दीबाट कजाखले आफूलाई स्वतन्त्र राज्यका रुपमा अघि बढाउन थाल्यो। त्यसैले कजाखस्तानका पूर्व राष्ट्रपति नुरसुल्तान नजरबाएभले राज्य स्थापनाको ५५० औँ वार्षिकोत्सव मनाउने प्रस्ताव नै राखेका थिए, केही समयअघि। सन् १४६५ मा राज्य स्थापना भएको बताउँदै उनले यस्तो प्रस्ताव राखेका थिए।

१५ औँ शताब्दीमा कजाखस्तानको स्थापना भएता पनि स्थापनाको केही समयमा कजाख तीन जातिमा विभाजित थिए। त्यही समयमा फेरी मंगोलको पुनः आक्रमणबाट बच्न कजाखीहरुले रुसको साहारा खोजे। यसरी कजाखस्तान रुसी साम्राज्यको अंग बन्यो। रुसी साम्राज्यको अंग बनेको कजाखलाई रुसले आफ्नो हिसाबमा सञ्चालन गर्न खोजेको थियो, तर कजाखीहरुले त्यसमा विरोध गर्दै रुसी जारशाही (सम्राट_विरुद्ध आन्दोलन छेडे। रुसले प्रर्दशनलाई कुल्चदै कजाखस्तानमा आफ्नो गर्भनर नियुक्त गर्यो। कजाखलाई नियन्त्रणमा राखिराख्नका लागि रुसी र युक्रेनी किसानलाई त्यहाँ बस्न पठायो। सन् १९१६ सम्म यसरी नै चल्यो।

जारका तर्फबाट २५ जुन १९१६ मा कज्जाख युवालाई रुसी सेनामा काम गर्नुपर्ने आदेश जारी गरियो । पहिलो विश्व युद्धपछि कज्जाखले देशलाई स्वतन्त्र घोषणा गर्यो तर, लामो समय टिकेन। भ्लादिमिर लेनिनका ‘रेड आर्मी’ ले कजाखस्तानको स्वतन्त्रता घोषणामा धावा बोल्दा कज्जाखको स्वतन्त्र हुने चाहना पूरा भएन। विद्रोह गरेर कज्जाखलाई स्वतन्त्र घोषणा गर्ने प्रयास असफल भएपछि नै कजाखस्तानलाई सोभियत संघमा विलय गराइएको हो।

१९२४ मा जोसेल स्टालिन सोभियतको नयाँ शासक बने। स्टालिनले सामूहिक खेतीको नयाँ योजना अघि बढाए। स्टालिनको योजना असफल हुँदा १० लाख कज्जाख नागरिकको भोकमारीका कारण निधन भएको थियो। त्यसैलाई इंगित गर्दै कजाखस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले सन् १९३० को भोकमारीको छानबिन गर्नुपर्ने मुद्दा उठाउँदै आएका छन्।

दोस्रो विश्वयुद्धपछि तत्कालीन महाशक्ति अमेरिका–सोभियत संघबीच परमाणु हतियारको दौड चल्यो, यतिबेला सोभियतको परमाणु हतियारको परीक्षणस्थल कजाखस्तान थियो। सोभियत संघले आफ्नो पहिलो परमाणु परीक्षण कजाखस्तानमा गर्यो भने सोभियत संघको पहिलो मानवयुक्त रकेट पनि कजाखस्तानबाट नै उडेको थियो।

सन् १९५३ मा स्टालिनको निधनपछि निकिता ख्रुश्चेभ त्यहाँको नयाँ शासक बने, उनी सोभियत संघमा कृषि उपज बढाउन चाहन्थे। त्यसका लागि कृषि उपज राम्रो हुने जमिनको खोजीमा थिए। कजाखस्तान उनको रोजाइमा पर्नुका दुई कारण थिए :  एक, प्रशस्त जमिन।  अर्को, कृषि उत्पादनका हिसाबले उपयुक्त स्थान। कृषिका लागि ख्रुश्चेवसँग जमिन भयो, तर किसान भएन। खेती गर्नका लागि २० लाख किसान रुसबाट कजाखस्तान पुगे ख्रुश्चेवको निर्देशनमा।

ती किसानले कज्जाखलाई अल्पमतमा पार्न ठूलो भूमिका खेले। सन् १९८५ मा मिखाइल गोर्भाचेव सोभियत संघको नेतृत्वमा आए। आफ्न पूर्व शासकले जस्तै गोर्भाचेवले पनि कजाखस्तानमा नयाँ परीक्षण थाले। उनले रुसी मुलका गेनेडी कोलविनलाई कम्युनिष्ट पार्टी कजाखस्तान (सीपिके) को प्रमुख बनाए। गोर्भाचेवको यो निर्णयले कज्जाखी असन्तुष्ट भए, अल्माटीमा ठूलो प्रर्दशन आयोजना भयो, जसकारण कोलविनले सत्ता सञ्चालन राम्रोसँग गर्न सकेनन्।

अफगानिस्तान कब्जा गर्ने प्रयास असफल भएपछि १९८९ मा सोभियत सैनिक त्यहाँबाट फर्किए। यस घटनाले बाँकी विश्वलाई सोभियत संघ जर्जर भइसकेको सन्देश दियो। उसको आफ्नै भविष्य के हुन्छ भन्‍ने ठेगान थिएन, किनकी सोभियतअन्तर्गतका राज्यहरूले यतिबेला स्वतन्त्रता मागिरहेका थिए।

यस्तो पृष्ठभूमीमा नुर सुल्तान नजरबायभ सीपिकेका नयाँ नेता चयन भए। डिसेम्बर १९९१ मा कखाजस्तानमा निर्वाचनको घोषणा भयो, नुर सुल्तान नजरबायभले निविरोध निर्वाचनमा विजयी भए। यससँगै कजाखस्तान सोभियत संघबाट औपचारिक रुपमा अलग भयो।

सोभियत संघबाट अलग भएपछि नजरबायभको शासनमा कजखास्तानले तेल र ग्यासको उत्पादनमा ठूलो परिमाणमा बढायो। तर, वृद्धि भएको इन्धन उत्पादनमा केही निश्चित व्यक्तिको मात्रै एकाधिकार रह्यो।

कजाखस्तानका यी पहिलो राष्ट्रपतिले आफ्नो विरोधीलाई नजरबन्द गरेका थिए, उनको शासनको विरोध गर्ने कसैलाई छुट थिएन। सञ्चार माध्यमदेखि निर्वाचन प्रक्रिया सबैमा राष्ट्रपतिको नियन्त्रण रह्यो। सत्तामोहमा फसेका नजरबायभले संविधान बदल्न पनि बाँकी राखेनन्, मार्च २०१९ मा राजिनामा गर्नुअघि उनले यसरी नै शासन गरे।

नयाँ पिढींलाई अवसर प्रदान गर्न राजिनामा दिएको नौटंकी गरेपनि नजरबायभले सत्ताबाट दूरी बनाउन भने चाहेनन्। उनी आफैले आफैलाई देशको सर्वोच्च नेता घोषित गरे।

कजाखस्तान संसदको माथिल्लो सदनमा सभामुखको भूमिकामा रहेका कास्यम जोमार्त तोकायेभ त्यसपछि रिक्त रहेको राष्ट्रपति पदमा चुनिएका हुन्। यद्यपी, अझै पनि शासनसत्तामा सबैभन्दा ठूलो भूमिका नजरबायभकै छ।

अर्कोतर्फ, सोभियत संघबाट ९० को दशकको शुरुवातमै स्वतन्त्रता पाएपनि कजाखस्तान रुसको हस्तक्षेपबाट भने अझै मुक्त छैन। नेतृत्व तहमा दुई देशबीच प्रगाढ सम्बन्ध छ। कोभिड–१९ बाट संक्रमित हुँदा राष्ट्रपति जोमार्त तोकायेभलाई सहयोग गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोबाट चिकित्सक र औषधी नै पठाएका थिए।

-एजेन्सीहरूको सहयोगमा 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved