मधेशमा महन्थदेखि उपेन्द्रसम्मको ‘स्पेस’ आफ्नो बनाउने दाउमा सीके राउत

उखु किसानको मुद्दालाई यसअघि लोसपाकै नेता राकेश मिश्राले काठमाडौंसम्म ल्याए पनि पार्टीले त्यसलाई आफ्नो मुख्य मुद्दा बनाउन सकेन। तर, यतिबेला जनमत पार्टीले उक्त मुद्दालाई पनि मुख्य मागको रुपमा अघि सारेको छ।

मधेशमा महन्थदेखि उपेन्द्रसम्मको ‘स्पेस’ आफ्नो बनाउने दाउमा सीके राउत

काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टी केही समययता तराई मधेशमा हिंसामुखी आन्दोलनरत छ। सिरहाबाट गहुँको बिउ जफत गरेपछि जनमत पार्टीको स्थानीय कार्यकर्ता पक्राउ परेपछि शुरु भएको आन्दोलन पूर्वदेखि पश्चिम तराई मधेशमा फैलिएको छ।

धनुषाको पोर्तहामा आइतबार भएको प्रर्दशनको क्रममा प्रहरीले गोली चलाएपछि जनमत पार्टीको प्रर्दशनलाई लिएर विभिन्न अनुमान हुन थालेका छन्। १२ नेता कार्यकर्ता पक्राउ परेपछि जनमत पार्टीले शुरुमा सिरहामा मात्रै प्रर्दशन गरेको थियो।

प्रदर्शनको क्रममा सिरहाको मिर्चैयामा राउतका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रशासनले पक्राउ परेका जनमत पार्टीका स्थानीय नेता कार्यकर्तालाई रिहा गर्यो। तर उक्त पार्टीले आफनो विरोध कार्यक्रम स्थगित गरेन। बरु किसानहरुसँग सम्बन्धित विभिन्न मागहरु अघि सार्दै आन्दोलनलाई थप फैलाउदै लग्यो।

११ बुँदे मागसहित भनिएको किसान आन्दोलनमा तराई मधेशमा पूर्वदेखि पश्चिमसम्मको राजमार्गमा जनमत पार्टीले अनिश्चतकालीन बन्दको घोषणा गरेको छ। पूर्वदेखि पश्चिमसम्मको सबै जिल्लाको राजमार्ग बन्द घोषणा गरे पनि राउतको प्रभाव प्रदेश दुईमा बढी देखिएको छ। अन्यतिर भने पश्चिमको रुपन्देही, बाँके, बर्दियामा देखिएको छ।

गत कात्तिकमा जनकपुरमा एक सरकारी कार्यालय प्रमुखलाई कालोमोसोसहित शहर घुमाएर चर्चामा आएको राउतको पार्टीले त्यसयता लागातार विरोध कार्यक्रमह गर्दै आइरहेको देखिन्छ। ०७५ सालको फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सहमति गरेर मुलधारको राजनीतिमा आएको राउत त्यसयता सार्वजनिक रुपमा खासै यस्ता कार्यक्रम गरेको देखिएको थिएन।

मुलधारको राजनीतिमा आउने सहमति गरेसँगै पहिलाको सांगठनिक संरचनाहरु भत्काएर राउतले जनमत पार्टी निर्वाचन आयोगमै दर्ता गराए। त्यसपछि उनी केही स्थानीय तहमा भएको उपनिर्वाचनमा भागसमेत लिए।

सुुस्त देखिएका राउत पछिल्लो केही महीनायता लागातार सक्रिय देखिन थालेका छन्। जसलाई धेरैले मधेशको राजनीतिक स्पेसमा राउतले आफनो ठाउँ विस्तार गर्न लागेको बताउँछन्।

संयोग वा राउतको रणनीति जे पनि हुनसक्छ, उनी महन्थ ठाकुर र उपेन्द्र यादवको पार्टी फुटेपछि सक्रियता देखिएका हुन्।

गत भदौमा जसपाबाट अलग्गिएर ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका थिए। दुुई वर्ष अगाडि यादव र ठाकुरले तत्कालीन समाजवादी र राजपाबीच पार्टी एकीकरण गरेर जसपा नेपाल गठन गरेका थिए। तर एकीकरणको एक वर्षमै दुवै पक्ष फेरि दुुई धारमा बाँडिदै अलग अलग दल बनाएका छन्।

यसरी मधेश राजनीतिको स्पेसमा ठाकुर र यादव अलग बटोबाट अघि बढिरहँदा राउतले गर्न खाजेको ‘नयाँ इन्ट्री’ले धेरैको ध्यान तानिरहेको छ। यता किसान आन्दोलनको नाममा राउतले प्रर्दशनलाई चर्काइरहँदा संघीय सरकारका कृषिमन्त्री यादवकै पार्टीका छन्। जसपा नेता तथा कृषिमन्त्री महेन्द्र यादव प्रर्दशनकारीहरुको ब्यानरको साम्रगी बनेका छन्।

प्रदेश २ का नीति आयोगका अध्यक्ष भोगेन्द्र झा भन्छन्, “यसले मधेशको राजनीतिलाई नै क्षति पुर्‍याइरहेको देखिन्छ। राउतको गतिविधि जसपाप्रति बढी लक्षित देखिन्छ, जसले मधेशको समग्र राजनीतिलाई नै असर पार्ने देखिन्छ।”

प्रदेश दुुईको सरकारलाई शुरुदेखि नै आफनो निशाना बनाउदै आएका राउतले जारी आन्दोलनमार्फत जसपाको संघीय सरकारको सहभागितालाई पनि मधेशमा विवादित बनाएका छन्। यसले मधेशी राजनीतिको मनोविज्ञान राउतले आफूतिर तान्न सक्ने आंकलन गर्न थालिएको छ।

यता आन्तरिक विवादमा रुमल्लिएको लोसपाको एउटा ठूलो तप्का अहिले अध्यक्ष महन्थ ठाकुरबाट पार्टी चल्न नसक्ने भन्दै समानान्तर गतिविधिमा ब्यस्त छ। ठाकुरको गतिविधिबाट असन्तुष्ट नेताहरु पनि समाजिक सञ्जालमार्फत राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनको पक्षमा देखिएका छन्।

उखु किसानको मुद्दालाई यसअघि लोसपाकै नेता राकेश मिश्राले काठमाडौंसम्म ल्याए पनि पार्टीले त्यसलाई आफ्नो मुख्य मुद्दा बनाउन सकेन। तर, यतिबेला जनमत पार्टीले उक्त मुद्दालाई पनि मुख्य मागको रुपमा अघि सारेको छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार राउतको अहिलेको गतिविधि निर्वाचन लक्षित  देखिन्छ। यसले समग्रमा कांग्रेस, एमालेलाई भन्दा पनि मधेशकै राजनीतिक शक्तिलाई बढी लक्षित गरेको देखिन्छ।

“मधेशी शक्तिहरु यसअघि आन्दोलनका लागि राजमार्गमा जान डराइरहेको परिस्थितिमा राउतको गतिविधि भने बढी राजमार्ग केन्द्रित छ”, उनी भन्छन्, “यसको एउटा पक्ष राउतको प्रचार प्रसार रहेको छ भने दोस्रो पक्ष मधेशी राजनीतिमा रहेका मान्छेले पनि राजमार्गमा पहुँच पुर्याउन राउतको पक्षमा लाग्ने देखिन्छ।”

१५ वर्ष अगाडि संघीयता र समावेशीताको मुद्दालाई लिएर मधेशमा आन्दोलन गरेरै राष्ट्रिय राजनीतिमा स्पेस बनाएका उपेन्द्र यादव र त्यससँगै कांग्रेस परित्याग गरेका महन्थ ठाकुरले मधेशको मुद्दालाई राष्ट्रियकरण गरे पनि पार्टी संगठन बनाउन नसकेको आरोप मधेशवृत्तमा खेपिरहेका छन्।

पटक पटकको पार्टी फुटदेखि एकीकरणसम्मको राजनीति गरे पनि यादव र ठाकुरले पार्टी संगठन बलियो नबनाएको बन्दै मधेशमा आलोचित भइरहेका बेला जनमत पार्टीको सम्भावित उदयलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका तथा भइरहेका छन्।

धेरैले अर्को वर्ष हुन लागेको तीन तहको निर्वाचनदेखि मधेशमा जसपा, लोसपा फुटसम्मको राजनीतिमा राउतले आफनो स्पेस बढाउन सबै शक्क्ति परिचालन गरेर लागिपरेको दाबी गर्छन्। तर यसको प्रभाव आगामी चुनावमा देखिनेछ।

यो पनि

मधेशमा अराजकताको बाटो रोज्दै सीके राउत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved