जनकपुरधाम । किसान आन्दोलनको नाम दिएर केही दिनदेखि आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज धनुषामा पनि एक ट्रकमा आगजनी गरेका छन्।
जनमत पार्टीका कार्यकर्ताहरूले पूर्व-पश्चिम राजमार्गमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ छघरियामा ना१क ७७६९ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीहरुले आज साँझ आगजनी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ। आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नवीन पण्डित छन्।
धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी जीतेन्द्र कुमार बस्नेतले तीनै जनालाई ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
Facebook Comment
Comment