सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिए।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।
यसअघि, पक्राउ परेका किसान नेताहरुको रिहाई, किसानमाथिको मुद्दा फिर्ता, मलखाध उपलब्ध गराउनेलगायतको माग राख्दै जनमत पार्टी सिरहा र किसान आन्दोलन संघर्ष समिति सिरहाले आमहड्ताल घोषणा गरेका थिए।
यसैबीच, लुटपाटको अभियोमा पक्राउ परेका किसान मिथिलेस यादवलाई तारेखमा छाड्नका लागि आज जिल्ला अदालत सिरहाले आदेश दिएको छ।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए। त्यसयता, गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।
Facebook Comment
Comment