माओवादीको राष्ट्रिय सम्मेलनले सबै पदको निर्क्योल गर्ला?

नेताहरूले अध्यक्षमा दाहालको विकल्प हाललाई नभएको बताउँदै गर्दा महासचिव पदमा भने निर्वाचन हुनसक्ने देखिएको छ।

माओवादीको राष्ट्रिय सम्मेलनले सबै पदको निर्क्योल गर्ला?

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसको मंसीरमा सम्पन्न महाधिवेशनबाट पुरानै नेतृत्वले निरन्तरता पाउँदै गर्दा नेकपा माओवादी (केन्द्र)को अध्यक्ष पदमा पनि पुरानै नेतृत्व दोहोरिने पक्काप्राय: छ। काठमाडौंमा ११-१३ पुसमा आयोजना हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष बाहेकका पदमा नेताहरूले आकांक्षा व्यक्त गर्दा अध्यक्षमा भने पुष्पकमल दाहालकै आवश्यकता भएको नेताहरूले बताउँदै आएका छन्।

अध्यक्ष पदमा दाहाल सर्वसम्मत हुँदै गर्दा अन्य पदमा भने निर्वाचन प्रक्रियाका माध्यमबाट नै नेतृत्वको चयन गर्ने पार्टीले संकेत गरेको छ। पार्टीका नेता लीलामणी पोखरेलले सहमतिमा पदको व्यवस्थापन हुन नसक्दा निर्वाचनमा जानसक्ने बताएका छन्। “सहमतिको प्रयास हुन्छ, सहमतिमा पदाधिकारी चयन हुने अवस्था नआएको अवस्थामा निर्वाचनमा जान सकिन्छ,” पोखरेल बताउँछन्।

पार्टीका नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल लगायत नेताहरूले अध्यक्षमा दाहालको विकल्प हाललाई नभएको बताउँदै गर्दा महासचिव पदमा भने निर्वाचन हुनसक्ने देखिएको हो। पार्टीका नेताहरूले औपचारिक, अनौपचारिक रूपमा महासचिव पदमा आफ्नो दाबी गरिरहेका छन्।

महासचिव पदमा नेताहरूको आकांक्षा पनि बढी नै देखिन्छ। पार्टीका संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मादेखि लिएर केन्द्रीय कार्‍‍यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुन महासचिव पदका दाबेदार हुन्। चीनमा उपचारार्थ पुन पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै नेपाल आउँदैछन्। देवेन्द्र पौडेल र पम्फा भुसालसमेतले महासचिव पदमा आफ्नो दाबी गरिरहेका छन्।

पार्टीले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा महिलाको सहभागिता उल्लेख रहेको बताउँदै नेता भुसालले पार्टीको नेतृत्वमा महिला स्थापित हुनुपर्छ भनेर महासचिव पदका लागि आफू योग्य रहेको बताएकी हुन्।

यसअघि पार्टीको पदाधिकारी ५ सदस्यीय मात्रै रहेकोमा त्यसलाई बढाउने विषयमा छलफल पार्टीमा छ। पदाधिकारीलाई ५ बाट बढाएर १५ पुर्‍याउनुपर्ने नेताहरूले शुक्रबारको स्थायी समितिमा प्रस्ताव गरेका छन्। पदाधिकारीको संख्या बढ्दै गर्दा महासचिवपदमा देखिएको आकाक्षा व्यवस्थापन गर्न पार्टीलाई सहज हुन सक्छ।

अहिले पार्टीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी पाँच पदाधिकारी छन्। प्रस्तावित १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी बनाउनुपर्ने प्रस्ताव पेश भएको छ।

यद्यपि, राष्ट्रिय सम्मेलनबाट अध्यक्ष र महासचिव मात्रै छनोट गर्ने वा सबै पदाधिकारी सहित केन्द्रीय सदस्य पनि छनोट गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन।

यसअघि भएका अन्य पार्टीका महाधिवेशनमा मानिस भेला मात्रै भएको पार्टीले आरोप लगाएको पार्टीको राष्ट्रिय सम्मेलनमा भने विचारको मन्थन हुने दाबी गरेको छ। प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दाबी गरेको छ।

देशकै ठूलो पार्टीको हैसियतबाट हाल साँघुरिदै गएको पार्टीका अध्यक्ष दाहालले पार्टीलाई रूपान्तरण गर्दै क्रान्तिकारी पार्टी बनाउने बताउँदै आएका छन्। टुटफुटको अवस्थाबाट अगाडि बढेकाले पार्टीलाई २०६४ को जस्तै अवस्थामा स्थापित गर्ने दाबी उनको छ। पार्टीभित्र वैचारिक अस्पष्टता रहेको बताउँदै अध्यक्ष दाहालले पार्टी रूपान्तरणका लागि विचारमा प्रष्टता ल्याउनुपर्ने बताउँदै राष्ट्रिय सम्मेलनबाट त्यो हासिल गर्ने दाबी गरेका छन्।

पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीमा विचारको नयाँ लहर ल्याउने पार्टीका उनको भनाइ छ। यस्तै काठमाडौंमा आयोजना हुने सम्मेलनपछि पार्टीमा नयाँ क्रमभंगता ल्याउने दाहालले बताएका छन्।

राष्ट्रिय सम्मेलनपछि पार्टीले मूलभूत रूपमा चार विषयमा नयाँ क्रमभंगता ल्याउँदै छ। पार्टीमा हाल केन्द्रीय तहमा ७ दलित रहेकोमा त्यसलाई बढाएर ४५ पुर्‍‍याउने तयारी हुँदैछ। सम्मेलनपछि ४५ जना दलितलाई केन्द्रिय स्तरको नेतृत्वमा ल्याउने तयारीमा पार्टी लागेको छ।

नेपालको संविधानले नै महिलालाई राष्ट्रका विभिन्न अंगमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चिता गरेकोमा पार्टीले भने ३५ प्रतिशत महिलालाई पार्टीको केन्द्रिय तहमा ल्याउने तयारी गर्दैछ। यस्तै हाल १ जनामा सीमित मुस्लिम समुदायबाट १५ जनालाई भूमिका दिने तयारी पार्टीले गरेको छ। २० प्रतिशत युवालाई पार्टीको केन्द्रिय स्तरको नेतृत्वमा ल्याउने तयारीमा पनि पार्टी रहेको छ।

संविधानमा सुनिश्चित भएका धेरै बूँदामा मओवादीको भूमिका रहेको माओवादीका नेताहरू बताउँछन्। देशको संविधानमा नै आफ्नो मुद्दालाई स्थापित गराउन सफल भए पनि राष्ट्रिय राजनीतिमा भने पार्टीको भूमिका साँघुरिदै गएको पार्टीको प्रदेश सम्मेलन उद्घाटनका क्रममा अध्यक्ष दाहाल नै बताएका छन्। संगठनलाई नयाँ रूप दिन पनि अबको राष्ट्रिय सम्मेलनपछि पार्टीले आन्तरिक जीवनमा आमूल परिवर्तन गर्ने तयारी गरेको नेता देव गुरुङ बताउँछन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ। काठमाडौंमा तीन दिनसम्म चल्ने सम्मेलनमा केन्द्रीय समिति, सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, विभाग र प्रदेशका गरेर १ हजार ४ सय ८३ प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्। यस्तै सम्मेलनमा सहभागी हुने प्रतिनिधिको १० प्रतिशत प्रतिनिधि छनोटको जिम्मा भने अध्यक्ष दाहाललाई दिइएको छ। जसअनुसार अध्यक्ष दाहालले १ सय ४८ प्रतिनिधि छनोट गर्नेछन्।

यसअघि अध्यक्ष दाहालले ५ प्रतिशत प्रतिनिधि मात्रै छान्ने बताएको पार्टीको शुक्रबार बसेको स्थायी समितिको बैठकले १० प्रतिशत छनोट गर्ने अधिकार दिएको हो। पार्टी एकीकरणका क्रममा छुटेका समेतलाई मिलाएर लैजानुपर्ने बताउँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षलाई यस्तो जिम्मेवारी दिएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved