जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि भएको मतदान सकिएको छ। आज साँझ ८ बजेसम्म १८ सय ८१ मत खसेको छ।
कूल मतदाता १९ सय ३८ मा जम्मा १८ सय ८१ मत खसेको हो। धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
बुधबार नै मतदानको कार्यतालिका रहे पनि हिजो दुई समूहबीच झडप भएपछि मतदान प्रभावित भएको थियो।
कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भएको हो। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी यो संख्यामा मतदाता रहेका जनाइएको छ।
नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन छ। कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन्। निधि र शेखर कोइराका संयुक्त उम्मेदवार रामसरोज रहेकाले दुवै उम्मेदबारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
Facebook Comment
Comment