काठमाडौं। पहेलो रङ पोतिएको, जस्ता पाताले छाएको लामो घर। कोठै कोठा। तिनै कोठामा छ उनीहरूको बास। काठमाडौं बनस्थली चोकबाट थोरै भित्र। जहाँ अडिएको छ उनीहरूको जीवनको आस।
वर्षौंदेखि बसिरहेका भएर होला त्यो क्षेत्रका सबैले चिन्छन् उनीहरूलाई। डायलासिस गराइरहेका बिरामी भन्नासाथ बनस्थली चोकका जोकोहीले उनीहरूको ठेगानासम्म पुर्याइदिनसक्छ।
त्यो क्षेत्रमा करीब ७ वर्षदेखि डायलासिस गराइरहेका ११ जना मिर्गौला रोगी परिवारसहित बस्दै आइरहेका छन्। नजिकै राष्ट्रिय मिर्गौला उपचार केन्द्र नेपाल रहेकोले डायलासिस गर्न सजिलो होस् भनेर उनीहरू त्यहाँ बसेका हुन्।
हरेकका आफ्नै कथा छन्। छन्, आफ्नै व्यथा।
दाता पर्खिरहेकी आमा
पारिलो घामसँग छेलिँदै उनी लुसुक्क अँध्यारो कोठाभित्र पसे। स्वभाविक थिएन हिँडाइ। निलो स्वेटर। सुन्निएको अनुहार। निर्दोष आँखा। उनका औंला मोबाइलमा व्यस्त थिए।
हुनुपर्ने त उनी विद्यालयमा हो। तर रुकुम पश्चिम आविसकोटका १६ वर्षीय गणेश मल्ल पाँच वर्षदेखि यसरी नै यही कोठामा बस्ने, अस्पताल जाने आउने गरिरहेछन्।
पाँच वर्ष अघिसम्म उनको दैनिकी स्वाभाविक थियो। स्कुल जाने आउने गर्थे। कान्छो छोरा, सबैका प्रिय थिए। तर २०७२ फागुनतिर उनको स्वास्थ्य एकाएक बिग्रन थाल्यो। शरीर सुन्निने, खाना नपच्ने, वाकवाकी लागिरहने हुनथाल्यो। गाउँलेले भने- ‘बोक्सी लागेको हो।’
विश्वास गरिन् आमा मिना मल्लले। ०७३ असारसम्म चार ओटा बोका र २२ वटा कुखुराका चल्ला काट्न लगाएर झारफुक गराइन्। तर गणेशको स्वास्थ्य सुध्रिएन। स्कुल जान्थे तर उकालो चढ्न सकस हुन्थ्यो। कतिपटक त साथीहरूले बोकेर पुर्याए।
असारको महीना। बर्खे झरी शुरु भइसकेथ्यो। मध्यरातमा गणेश एक्कासी छटपटाउन थाले। उनका बुबा घर बनाउन लागेको ऋण तिर्न पैसा कमाउने आशाले मजदुरी गर्न भारत गएका थिए। गणेशका दाई घरमा थिएनन्। आपत पर्यो गणेशकी आमा मिनालाई। पहाडको टाकुराको एक्लो घर। न बोलेको कसैले सुन्छ। न सुनाउन कोही छ। हातमा मोबाइल फोन त थियो तर उठाउन मात्र जान्दथिन्।
“ठुलो छोरो पनि साथमा थिएन्, रातको दुई बज्या थियो कि ? छोरो कुखुरा काट्या जसरी छट्पटियो। बाबु किन यस्तो गर्छइ भन्या बेला गाह्रो भाहा, सास सुन्किन्छ, मुटु नी क्या अकै भा छ भन्दा भन्दै लुडिनबुढि खेला खेल्दै छोरोले मुख बङ्गउँदै मरिगो, सास मात्रै अलिअलि धुकधुक गथ्र्यो, त्यो डाँडामा हाम्रो मात्र घर थियो, फोन हान्ने आफ्नो सिप छैन्, सुन्ने गाउँ छैन्, छोरोलाई काखमा चेपेर बेसरी रोए, दुई घण्टापछि छोरो फेरि फर्किया, त्यो रात त्यसै कट्यो”, आफ्नै लवजमा सुनाइन् उनले त्यो रातको सास्ती।
चाहन्थिन् आफैले बोकेर छोरालाई अस्पताल पुर्याउँ। तर किसानको घर। वस्तुभाउ, खेतबारीमै गाडिएको हुन्छ जरा। सकिनन्।
“घरव्यवहार चट्कै छोडिन जानै मिलेन बिरामी भएको छोरोसँग पनि जान नपाउँदा निकै मन पल्यो इस्ट (नन्दको पति) को भरमै छोरोलाई पठाए,” उनले सुनाइन्।
नेपालगञ्ज मेडिकल कलेजमा जाँच गर्दाे कल्पना समेत नगरेको रिर्पोटले मीना तर्सिएको सुनाइन।
डाक्टरले भनेछन्, गणेशका दुवै मिर्गौला बिग्रिसकेका छन्। त्यहाँ उपचार हुन नसक्ने भन्दै भोलीपल्ट नै काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल पठाए।
छोरालाई काठमाडौं लगेको २४ औं दिनमा आइपुगिन् उनी। छोरालाई देखेर विचलित भइन्। कमाउन भारत पुगेका पति पनि आइपुगे। १२ वर्षकै उमेरमा छोराले दुवै मिर्गौला गुमायो भन्ने पत्याउन चाहन्नथिन् उनी। तर यथार्थ त यथार्थ नै थियो।
टिचिङ अस्पतालमा २५ दिनसम्म राखेर साढे पाँच लाख बिल तिर्दा पनि गणेशको स्वास्थयमा खासै केही परिर्वतन नआएको गुनासो गर्छिन् मिना। अस्पतालले हप्तामा तीनपटक डायलासिस गर्न पठाएपछि उनीहरूको परिवार त्यहाँ पुग्यो। राष्ट्रिय मिर्गौला उपचार केन्द्रको पछाडि।
मीनाका पति ज्यालादारी श्रमिक हुन्। दैनिक एक हजारदेखि १२ सयसम्म कमाउँछन्। त्यतिले गणेशको उपचार र चार जनाको परिवारको खर्च जुटाउन, कोठा भाडा तिर्न गाह्रो भएको उनको दुखेसो छ। औषधि उपचार गर्न निकै गाह्रो भएपछि घरजग्गा सबै बेच्न परेको बेदना सुनाउन बिर्सन्नन उनी।
“माओवादी, कांग्रेस, एमालेले यत्रो भोजभतेरमा बेत्थै मासुभात फालेर राम-रमिता गर्या छन्। यस्तो गर्नुभन्दा कठै मेरो छोरोलाई एकुन लाख कसैले सहयोग गर्या भए छोरो बाच्थ्यो। कोही नेता, आफ्न्त, दाजु भाइ कोहिले हेर्दाइन। फोन गर्दा पनि उहि पुइसा कै लागि हो भन्दै फोनै उठाउनन्।”
पाँच वर्ष देखि छोराको डायलासिस गराउँदै आएकी मिनाले छोरालाई मिर्गौला दिन चाहन्थिन्। गत मंसीरमा डाक्टरले सबै जाँच गरेपछि मिर्गौला दिन मिल्ने भनेपछि खुशी भएका थिए उनीहरू। ६-७ लाख लाग्छ भनेकाले जुटाएका पनि थिए।
गणेश पनि मिर्गौला पाएपछि गाउँ जाने, भैसीको दुध खाने, स्कुल पढ्ने भनेर उत्साही थिए।
“कति बेला उज्यालो हुन्छ र जाउँला भयो त्यो रात निकै लामो लाग्यो बिहानै जहान भरि सबै तयारी गरेर अस्पताल गयौं”, मिना सम्झिन्छिन्।
तर अस्पताल पुगेपछि जाँच गरेर डाक्टरले सबथोक मिले पनि गणेश र मिनाको रगतमा प्लाज्माको मात्र नमिलेकाले सातपटक रगत फिल्टर गर्नुपर्ने बताएछन्। एकपटक फिल्टर गर्दा ८० हजार खर्च लाग्ने बताएछन्। सबै गरेर १५-१६ लाख भन्दा बढि खर्च लाग्न सक्छ भन्दा आफू बेहोस नै भएको मिना बताउँछिन्।
मीना सम्झिन्छिन्, “क्या सोचेर गएका थियौं क्या भयो मुत बेहोसै भैगेछु। छोरो त्यहि लुढिबुडि गर्यलेछ, बच्चाले उइ दिन पनि खाना खाएन। अर्को दिन नी खाएन त्यस्तै भैगो। कति सोच्या थिए केहि पुरा भएन्, मुनले नै मानेन आफु सम्हालिनै सकिन क्या गरुँ ?”
उनले आफन्तसँग सहयोग पनि मागिछन्। तर कसैले पत्याएनछन्।
“त्यहिँ पनि कतै सबै आफन्तलाई एकुन लाख ऋृण हाल्दिन्छन् कि भन्दै मागे कसैले पताएनन्”, उनले भनिन्, “कसरी तिर्छस ? तेरो अर्को छोरो छ, त्यसलाई मर्नदे, सबैले त्यसलाई बचाएर के गर्छस् तेले खेप ल्याउला न घाट लेउला भन्नु, त्यइलाई बुचाइ के गर्छस् जति सक्छै डायलासिस गर् नत्र मर्न दे भनेर सकैले एक पैसा दिएनन्।”
छोरोले पढेको, खेलेको हेर्न चाहिन्छन् तर उपचार गर्न पुग्ने पैसा छैन। दाताको आसमा छिन् उनी।
“माओवादी, कांग्रेस, एमालेले यत्रो भोजभतेरमा बेत्थै मासुभात फालेर राम-रमिता गर्या छन्। यस्तो गर्नुभन्दा कठै मेरो छोरोलाई एकुन लाख कसैले सहयोग गर्या भए छोरो बाच्थ्यो। कोही नेता, आफ्न्त, दाजु भाइ कोहिले हेर्दाइन। फोन गर्दा पनि उहि पुइसा कै लागि हो भन्दै फोनै उठाउनन्।”
पतिले अर्को बिहे गरे, एक्लै संघर्ष गरिरहिछन्
धादिङकी ४३ वर्षीय कृतिका कुमारी गुरुङको व्यथा भने गणेशको भन्दा केही फरक छ।
तीन वर्ष पहिले शरीर सुन्निने भएपछि गाउँकै अस्पतालमा जाँच गराएर औषधी खाएकी थिइन् उनले। एक महीना पनि औषधी खाँदा निको नभएपछि काठमाडौंको क्षेत्रपाटीमा आएर होलबडी जाँच गराउँदा दुवै मिर्गौला बिग्रिसकेको थाहा पाइन्। थप उपचारका लागि टिचिङ अस्पताल पुगिन्। त्यहाँ केही समय उपचार गरेपछि सुमेरु अस्पतालमा पुगिन्। चार-पाँच त्यहाँ उपचार गराएपछि अस्पतालले राष्ट्रिय मिर्गौला उपचार केन्द्र पठाएको उनले बताइन्।
“श्रीमानले घर निकै बिग्रियो अब बिरामी मान्छेले घर चलाउन सक्दिनौ भन्दै यो जेठमा अर्को बिहे गर्नुभयो,” भन्दाभन्दै भक्कानो छुट्यो उनको।
बनस्थलीमा सबैजसो बिरामी परिवारसँगै बस्छन् तर कृतिका भने एक्लै छिन्। शुरुका ६ महीना सँगै बसे पनि त्यसपछि पतिले छोडेर गएपछि दुई वर्षदेखि एक्लै बसिरहेको सुनाउँछिन् उनी। सकेको दिन आफैँ खाना बनाउँछिन् नभए कसैले दिए खान्छिन् नत्र भोकै बस्छिन्।
एक्लै बस्नुको पिडा त उनीसँग छदै छ तर उनलाई अहिले अकै पीडाले दिन रात पिरोली रहेको छ। कृतिकाको मिर्गौला मात्र बिग्रिएको छैन् उनको घरबार पनि बिग्रिसकेको छ।
“श्रीमानले घर निकै बिग्रियो अब बिरामी मान्छेले घर चलाउन सक्दिनौ भन्दै यो जेठमा अर्को बिहे गर्नुभयो,” भन्दाभन्दै भक्कानो छुट्यो उनको।
“आजभोली जति बेला पनि आँसु मात्रै आउँछ” भन्दै रोइरहिन्। घरमा सातदेखि १९ वर्षसम्मका गरी चार जना छोराछोरी भएको सुनाइन् उनले।
अर्को बिहे गर्नुअघि कहिलेकाहीँ भेट्न आए पनि त्यसपछि पतिले पैसा मात्रै पठाउने गरेको उनले बताइन्। पति टाढिएजसरी पैसा पठाउन छोडे कसरी उपचार खर्च जुटाउने होला ! – डर मडारिरहन्छ मनमा।
“हप्तामा दुईपटक डायलासिस गर्नु पर्ने हुन्छ,” उनले भनिन्, “सरकारले एक्पटक डायलासिस गर्दा २५ सय बराबरको निशुल्क सेवा दिने भएकाले केहि राहत मिलेको छ। यति गर्दा पनि हप्ताको एकपटक तीन हजार पर्ने सुई लगाउनु पर्छ यताउता सबै गरेर एक महिनामा ४० हजार जति खर्च लाग्छ। कहिलेकाहिँ श्रीमानले यो पटक पैसा पठाउन सक्दिन भनेर फोन गर्छ, यताउता उधारो चलाउँछु, पैसा आयो भने तिर्छु। कहिलेकाहीँ त पैसा नै नभएर सुई नै नलगाइ बसेको पनि छु।”
लकडाउनले काम खोस्यो, छोरीकै छ आश
दाङका चन्द्र बहादुर घर्ती अहिले ५० वर्ष पुगे। २०६८ सालमा उनले आफ्नो मिर्गौला बिग्रिएको थाहा पाए। ०७१ सालबाट भने उनले नियमित डायलासिस गर्दै आइरहेका छन्।
साथमा श्रीमति दरमती घर्ती पनि छिन्। दरमर्तीले दिनरात काम गर्दै श्रीमानको उपचारका लागि केहि पैसा जुटाइरहेकि थिइन तर लकडाउन त्यो पनि खोस्यो। लकडाउनपछि दरमतीले काम नखोजेकी होइनन्।
“दुईटा छोरीले बिहे गरे सानो भाइलाई उनीहरूले नै हेरी रहेका छन्, घरको आधार मानिने ठुलो छोरो मलामीको भारी मात्र भयो,” चन्द्र भन्छन्, “आधार दिनु पर्ने छोरो कता छ थाहा छैन, छोरीकै आशामा अहिलेसम्म बाँचिएको छ।”
“तर तँ बुढी भइस्, काम गर्न सक्दैनस् भनेर काम दिँदैनन्”, उनले सुनाइन्।
दुई छोरा र दुई छोरीलाई जन्म दिएका यी जोडि अहिले एक्ला भएका छन्।
“दुईटा छोरीले बिहे गरे सानो भाइलाई उनीहरूले नै हेरी रहेका छन्, घरको आधार मानिने ठुलो छोरो मलामीको भारी मात्र भयो,” चन्द्र भन्छन्, “आधार दिनु पर्ने छोरो कता छ थाहा छैन, छोरीकै आशामा अहिलेसम्म बाँचिएको छ। अहिले त आफैँ हिड्न पनि सक्दिन बुढीको सहारा चाहिन्छ धेरै दुःख भोग्नुपर्यो।”
प्रेमिल पतिको भर
तनहुँकी सीता रिमालको पनि उस्तै पीडा छ। २७ वर्षमै दुवै मिगौला बिग्रिएपछि परिवार पनि टाढा भयो।
२३ वर्षकी हुँदा सीताको मागी विवाह भएको थियो। बिहे गरेकै वर्ष पति विदेशीए। आफुले पनि सानो व्यवसाय गरिरहेकी थिइन् उनले।कमाइ राम्रो नभएपछि दुई वर्षपछि पति फर्किए।
“श्रीमानको साथ यतिसम्म नपाएको भए त कहिले मरिसक्थ्ये होला उहाँ नै मेरो बाँच्ने आधार बन्नु भएको छ। मजदुरी गर्दै मलाई औषधि उपचार गर्ने खर्च जुटाइरहनु भएको छ।”
पति फर्किएको केही समयपछि उर्नी दिन प्रतिदिन बिरामी पर्न थालिन्। पति-पत्नी सँगै बसेको एक वर्ष पुग्दा पनि बच्चा नभएपछि जाँच गराउँदा थाहा लाग्यो, उनको स्वास्थ्य समस्याका कारण रहेछ। त्यहीबेला थाहा पाइन्, उनका दुवै मिर्गौला बिग्रिसकेका छन्।
“सुन्दर संसार सजाइरहेको थिएँ, सिसा जस्तै चकनाचुर भएर टुट्यो के गर्नु !” उनले सुनाइन्। पतिको साथले बाँचेको सुनाउँछिन् उनी।
भन्छिन्, “श्रीमानको साथ यतिसम्म नपाएको भए त कहिले मरिसक्थ्ये होला उहाँ नै मेरो बाँच्ने आधार बन्नु भएको छ। मजदुरी गर्दै मलाई औषधि उपचार गर्ने खर्च जुटाइरहनु भएको छ।”
तर परिवारको साथ भने नपाएकोमा उनले दुःख व्यक्त गरिन्। बिरामी श्रीमतीलाई लिएर काठमाडौं गयो भन्दै घरका सबैले बोलचाल नै बन्द गरेकोे उनले बताइन।
“श्रीमानले मिर्गौला दिन्छु भन्दा पनि मिलेन”, उनले भनिन्, “अरू दिने कोहि छैनन्, डायलासिसले कहिलेसम्म बचाउने हो कुन्नी ?”
Facebook Comment
Comment