जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याइँदै

नेपालभ्युज

जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याइँदै

जनकपुरधाम। नेपाल सरकारको स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना (जचुकालि) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

करिब दुई दशक बढीदेखि बन्द रहेको कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थ मन्त्रालयले समिति बनाएको छ। उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरिराज ज्ञवालीले कारखाना सञ्चालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिए। उनले अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको बताए।

उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ। समितिले तत्काल सञ्चालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ।

यही पुस २५ गते कम्पनीको साधारणसभा डाकिएको छ। सञ्चालक समितिको २ पुसको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आह्वान गरिएको छ।

साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने बताइएको छ। हाल अध्यक्ष-महाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ।

यस कारखानाबाट शुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो। विशेषगरी याक, देउराली र गैंडा ब्राण्डका चुरोट उत्पादन गर्ने यस कारखानामा शुरुआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए।

२०५७ सालबाट चुरोट उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो।तर कामबिनाका कर्मचारीलाई पाल्न राज्यलाई भार हुने भन्दै सरकारले २०७० सालमा कारखाना बन्द गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved