म्यानमार सेनाद्वारा बर्बर यातानापछि ४० जनाको सामुहिक हत्या

‘हामीहरूले उनीहरूलाई यस्तो नगर्न भन्यौं, तर उनीहरूले हाम्रो चित्कार सुनेन्, भने- यिनमा तिमीहरूका श्रीमान् परेका भए अन्तिम संस्कार गर्नू।’

नेपालभ्युज

म्यानमार सेनाद्वारा बर्बर यातानापछि ४० जनाको सामुहिक हत्या

एजेन्सी। जुलाई २०२१ मा म्यानमारको सेनाले एकै पटक धेरै सर्वसाधारणको नरसंहार गरेको बाहिरिएको छ। अनुसन्धानका क्रममा कम्तीमा ४० पुरुषको मृत्यु भएको पत्ता लागेको छ।

उक्त नरसंहारमा बाँचेकाहरूले पहिले यातना दिएर पछि सामूहिक रूपमा चिहानमा गाडिएको बताएका छन्, धेरै मानिसलाई मार्नुअघि यातना दिएर सामूहिक रूपमा चिहानमा गाडिएको भिडिओ फुटेज र तस्वीरहरूमा पनि देखिन्छ।

कानी क्षेत्रमा मात्रै चार छुट्टाछुट्टै यस्ता घटना भएको अनुसन्धानले देखाएको छ। यो मध्य म्यानमारको सागिङ जिल्लाको एउटा क्षेत्र हो, जसलाई विपक्षीको बलियो गढ मानिन्छ।

गत फेब्रुअरीमा आङ सान सुकीलाई नियन्त्रणमा लिई त्यहाँको सेनाले सुकीको नेतृत्वमा रहेको प्रजातान्त्रिक नागरिक सरकार ‘कू’गरेपछि नागरिकले विरोध जनाइरहेका छन्। उक्त घटनाले गृहयुद्धको रूप लिएको छ।

कानीमा, बीबीसीले ११ प्रत्यक्षदर्शीसँग कुरा गरेर म्यानमारमा भइरहेका मानवअधिकार उल्लंघनबारे अनुसन्धान गरिरहेको बेलायती एनजीओ ‘म्यानमार विटनेस’ को मोबाइल फोन फुटेज र फोटोहरूसँग तुलना गरेको थियो।  उक्त अनुसन्धानबाट  सबैभन्दा बढी यिन गाउँमा हत्या भएको खुलेको छ, जहाँ कम्तीमा १४ जनालाई क्रूर यातना दिई कुटपिट गरी मारिएको थियो र उनीहरूको शव जंगलमा फ्याँकिएको थियो।

यिनका एक प्रत्यक्षदर्शीले बताएअनुसार पुरुषहरूलाई डोरीले बाँधेर मृत्युदण्ड दिनुअघि निर्ममतापूर्वक कुटपिट गरिएको थियो। ‘हामीहरूले उनीहरूलाई यस्तो नगर्न भन्यौं, तर उनीहरूले हाम्रो चित्कार सुनेन्, भने- यिनमा तिमीहरूका श्रीमान् परेका भए अन्तिम संस्कार गर्नू,’ उक्त घटनामा भाइ, भतिजा र जेठाजु गुमाएकी एक महिलाले भनिन्, ‘हामीले त्यो क्रूरता हेर्न सकेनौं, टाउको निहुरायौं र रोइरह्यौं।’

उक्त हत्याको घटनाबाट भाग्न सफल एक पुरुषले‍ भने, ‘मार्नुअघि उनीहरूलाई बाँधेर दिनभर ढुंगा, राइफल र बुटले पिटियो।’ उक्त हत्यामा संलग्न केही सिपाही भर्खरका जवान र केही वृद्ध भएको उनले बताए। उनले भने, ‘केही सिपाही धेरै जवान थिए, सायद १७ वा १८ वर्षका, केही धेरै वृद्ध थिए। उनीहरूसँगै एउटी महिला पनि थिइन्।’

जुलाईको अन्त्यतिर जीबिनड्विन भनिने नजिकैको गाउँमा सामुहिक चिहानमा सडिसकेका १२ शव फेला परेका थिए। तीमध्ये एउटा शव बच्चाको जस्तो देखिन्थ्यो, एक अपांग भएका व्यक्तिको जस्तो पनि। त्यही दिन रुखमा बाँधिएको अवस्थामा करीब ६० वर्षभन्दा माथिका एक व्यक्तिको शव भेटिएको थियो। उक्त शवको फुटेज हेर्दा चरम यातनाका प्रष्ट संकेत देखिन्थे।

सेना गाउँमा पसेपछि छोरा र नाती भागेको तर आफूलाई केही नगर्लान् सोचेर आफूहरू गाउँमै बसेको उक्त गाउँका एक वृद्धले बताए।

केही समयअघि यस क्षेत्रमा केही युवाहरूको समूहले प्रजातन्त्र पुनर्स्थापनाका माग गर्दै सेनालाई आक्रमण गरेको थियो। यो निर्मम हत्यालाई सोही घटनाको विकशित रूपमा हेरिएको छ।

म्यानमारमा नागरिक लडाकु समूह पिपुल्स डिफेन्स फोर्स र सेनाका स्थानीय शाखाहरूबीच भिडन्त जारी छ। जीबिनड्विन लगायतका क्षेत्रमा सामूहिक हत्या हुनुअघि झडप तीव्र भएको थियो।

बीबीसीले प्राप्त गरेका तस्बिर र सार्वजनिक गवाहीहरूका आधारमा सेनाले पुरुषहरूलाई विशेष लक्षित गरि आक्रमण गरेको देखिन्छ। जनप्रतिनिधि र सेनाबीच भएको झडपमा गाउँका सर्वसाधारणको सामूहिक हत्या भएको छ। मारिएका परिवारले हत्या भएकाहरू सेनाविरुद्धको कुनै आक्रमणमा संलग्न नभएको बताएका छन्।

यिन गाउँमा भएको घटनामा भाइ गुमाएकी एक महिलाले भनिन्, ‘मैले उहाँहरूलाई बिन्ती गरेँ, माफ गरिदिन आग्रह गरेँ तर उनीहरूले- एउटा गुलेल पनि सम्हाल्न सक्दैन, केही नबोल्, हामी धेरै थाकेका छौं नत्र तलाईं पनि मार्नेछौं, भनेर धम्की दिँदै मारे।’

म्यानमारमा भएको विद्रोहपछि विदेशी पत्रकारलाई प्रवेश निषेध गरिएको छ। धेरै गैर-सरकारी मिडिया संगठन बन्द गरिएका छन्। जसकारण ग्राउन्ड रिपोर्टिङ असम्भवप्राय: भएको छ। बीबीसीले पाएको यस घटनाबारे बुझ्न सेनाका प्रवक्ता जनरल जाव मिन टुनलाई सम्पर्क गरेको थियो। उनले उक्त आरोप नकारेनन्। भने, ‘उनीहरू हामीलाई दुश्मन जस्तै व्यवहार गर्छन्, हामीले पनि त आत्मरक्षा गर्नपर्‍यो।’

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले गरेको मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको छ।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved