पुरानो विरासतको रजगजमा युवाको हस्तक्षेप

विशेषतः थापा र शर्माको उदय कांग्रेसभित्र र बाहिर चर्चामा छ। उनीहरूलाई कांग्रेसभित्रको बेथिति र नयाँ पुस्तालाई हाँक्न सक्ने नेताका रूपमा उभ्याइएको छ। यस्तोमा उनीहरूले कांग्रेसलाई कसरी लैजान्छन् जुन चौतर्फी चासोका रूपमा हेरिन र विश्लेषण गर्न थालिएको छ।

पुरानो विरासतको रजगजमा युवाको हस्तक्षेप

काठमाडौं। २४ मंसीरबाट शुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ। २ पुससम्म पदाधिकारीहरूको मतगणना चलेको कांग्रेसले यो महाधिवेशनमा पदाधिकारी संख्या १४ पुर्‍याएको छ। जुन, दोब्बरभन्दा बढी हो।

कांग्रेस महाधिवेशनबाट १३ सदस्यीय पदाधिकारीको टुंगो लागिसकेको छ। १३ जना निर्वाचित भएका छन् भने एक जना (कोषाध्यक्ष पद) सभापतिले मनोनित गरेपछि पदाधिकारी संख्या टुंगो लाग्नेछ।

महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित भइसकेका छन्। बाँकी एक कोषाध्यक्ष पद भने सभापतिले मनोनित गर्ने कांग्रेसको विधानमा छ।

यो पटक कांग्रेसको पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहारका नेताहरूको उदय भएको छ।

यी ११ जना पदाधिकारीले यसअघि केन्द्रीय कार्यसमितिमा रहेर काम गरेको थिए। उनीहरू नयाँ अनुहारका साथै प्रायः नयाँ पुस्ताका छन्। उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवापुस्ता उदाएका छन्।

निर्वाचित सहमहामन्त्रीहरूमा पनि महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार, फरमुल्लाह मन्सुर, खानेपानीमन्त्रीसमेत उमाकान्त चौधरी र किशोरसिंह राठौर पनि नयाँ पुस्ताका नयाँ अनुहार हुन्।

१३ पदाधिकारीमा सभापति देउवा पक्षका ८, शेखर कोइराला पक्षका ४ र प्रकाशमान सिह पक्षका १ जना छन्। देउवा खेमाबाट सहमहामन्त्रीमा थारू कोटामा जितेका उमाकान्त चौधरी सिटौला समूहका नेतामा गनिन्छन्।

उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्रीमा आठै जना निर्वाचित अनुहारहरूका कारण कांग्रेसमा नयाँ पुस्ताको उदय भएको देखिन्छ। किनकि देशकै पुरानो पार्टीमा अहिलेसम्म यसरी नयाँ अनुहारको आगमन भएको थिएन।

पदाधिकारीमा नयाँ पुस्ताले उल्लेख्य ठाउँ बनाएपछि कांग्रेसको १४ औं महाधिवेशनले अर्को नयाँ सन्देश पनि दिन सफल भयो।

नेपाली कांग्रेसमा विद्यार्थी राजनीतिबाट आएका महामन्त्री थापा यसअघि १३ औं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए। तर असफल भए। त्यतिबेला कांग्रेसमा उनको चर्चासँगै लोकप्रियता बढेर गएको थियो।

पार्टी रूपान्तरणको एजेण्डा अब कांग्रेसभित्र बलियो गरी उदाउनेमा दुई मत नै नरहेको तिवारी विश्लेषण गर्छन्। तर सभापति देउवाले त्यसलाई कसरी लिन्छन् त्यो भने हेर्न बाँकी रहेको तिवारी बताउँछन्। संसद् र बाहिर पनि उत्तिकै बुलन्द आवाज र तर्कसहित विश्लेषण गर्ने थापाले अब पार्टीलाई कसरी व्यवस्थापन गर्छन् त्यो भने हेर्न बाँकी रहेको तिवारी बताउँछन्। 

१३ औं महाधिवेशनमा असफल भए पनि थापा पार्टी र राष्ट्रिय राजनीतिमा सधैं चर्चामै रहेका थिए। महामन्त्रीमा थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित भए। ५१ वर्षीय शर्मा पनि युवामाझ निकै लोकप्रिय नेता मानिन्छन्। पार्टीलाई लोकतान्त्रिक बाटोमा डोहोर्‍याउने, सरल र मृदुभाषी शर्मालाई यो महाधिवेशनमा प्रतिनिधिहरूले रुचाए, कमजोर प्यानलबाट आए पनि उनले महामन्त्रीमा दोस्रो सर्वाधिक भोट ल्याउन सफल भए।

त्यसो त महामन्त्रीका सबै उम्मेदवार युवा नै हुन्। तनहुँका प्रदीप पौडेल पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको सभापति थिए। त्यस्तै पराजित अर्का उम्मेदवार डा राजाराम कार्कीलाई पनि नयाँ पुस्ता नै मानिन्छ भने मीनेन्द्र रिजाल पनि कांग्रेस राजनीतिमा अन्य महामन्त्री उम्मेदवारभन्दा धेरै अघिका नेता होइनन्।

विशेषतः थापा र शर्माको उदय कांग्रेसभित्र र बाहिर चर्चामा छ। उनीहरूलाई कांग्रेसभित्रको बेथिति र नयाँ पुस्तालाई हाँक्न सक्ने नेताका रूपमा उभ्याइएको छ। यस्तोमा उनीहरूले कांग्रेसलाई कसरी लैजान्छन् जुन चौतर्फी चासोका रूपमा हेरिन र विश्लेषण गर्न थालिएको छ।

कांग्रेसमा नयाँ पुस्ताको हस्तक्षेप

महामन्त्रीमा थापाको उदयलाई नजिकबाट नियालिरहेका विश्लेषक शंकर तिवारीको भनाइलाई मान्ने हो भने कांग्रेसमा अब गगन थापाको हस्तक्षेप प्रभाव बढेर गएको छ। यद्यपि महाधिवेशनको सम्पूर्ण नतिजा आइनसकेकाले थापा हाबी हुन सक्ने/नसक्ने भने प्रस्ट भइसकेको उनले बताए। केन्द्रीय समितिले पूर्णता पाएपछि भने कांग्रेसभित्र युवापुस्ताको दबादबाबारे भन्न सकिने तिवारीको आकलन छ।

महामन्त्री थापा सभापति देउवाइतर समूहका हुन्। शेखर कोइराला समूहबाट उनले भारी मत ल्याए। उपसभापतिमा निर्चाविच धनराज गुरु पनि शेखर प्यानलबाटै निर्वाचित भएका हुन्। विश्लेषक तिवारी भन्छन्, “०६२/०६३ सालपछि पार्टीमा लागातार हस्तक्षेप बढाउँदै लगेका थापा महामन्त्री भएपछि त्यसले संस्थागत स्वरूप ग्रहण गर्नेछ।”

पार्टी रूपान्तरणको एजेण्डा अब कांग्रेसभित्र बलियो गरी उदाउनेमा दुई मत नै नरहेको तिवारी विश्लेषण गर्छन्। तर सभापति देउवाले त्यसलाई कसरी लिन्छन् त्यो भने हेर्न बाँकी रहेको तिवारी बताउँछन्। संसद् र बाहिर पनि उत्तिकै बुलन्द आवाज र तर्कसहित विश्लेषण गर्ने थापाले अब पार्टीलाई कसरी व्यवस्थापन गर्छन् त्यो भने हेर्न बाँकी रहेको तिवारी बताउँछन्।

महामन्त्रीमा निर्वाचित भएपछि थापा र शर्माको वास्तविक परीक्षा बल्ल शुरु भएको अर्का विश्लेषक पुरन्जन आचार्य बताउँछन्। भन्छन्, “उनीहरूले विगतका लोकप्रियतालाई कसरी बढाउँदै लैजान्छन् त्यो अहं सवाल हुन्छ।”

संस्थापन पक्षसँग सधैं ‘बागी’ देखिएका थापा र पार्टीभित्र युवापुस्ताको वकालत गर्ने शर्माको मनोविज्ञानलाई अब भने पार्टीले आत्मसाथ गर्न थालेको पनि कतिपय कांग्रेसनिकट नेताहरू बताउने गर्छन्। महामन्त्रीमा थापा र शर्माको उदयलाई कांग्रेसभित्र आएको ठूलो परिवर्तन मान्दै राजनीति शास्त्री प्राध्यापक लोकराज बराल पनि कांग्रेसमा नयाँ युग शुरु भएको टिप्पणी गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved