कांग्रेस सभापति – ८

सत्ता राजनीतिका उम्दा खेलाडी

”किसुनजीले देउवाको बिहेमा ठट्टा गर्दै भन्‍नुभएको थियो रे, ‘आजसम्म शेरबहादुरजी हाम्रो मान्छे हुनुहुन्थ्यो। आजदेखि आरजुको मान्छे हुनुभयो।”

सत्ता राजनीतिका उम्दा खेलाडी

काठमाडौं। इन्जिनियर बनाउन काठमाडौं पढ्न पठाएको फलानोको छोरो त ‘अराष्ट्रिय’ भएर घर फर्केछ। इज्जत फाल्यो। अब के गरी गाउँमा नाक देखाउला?

काठमाडौं पढ्न गएको एउटा ठिटो जेलमुक्त भई डढेलधुराको सुदूर गाउँ रुवाखोला फर्कंदा चैते डढेलोजसरी ‘अराष्ट्रिय’ हावा फैलिएको थियो।

धनगढीबाट हिरादत्त भट्टले ५५ वर्ष पुरानो खबर सुनाउँदा शेरबहादुर देउवाले काठमाडौंमा कांग्रेस सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा भोट हालिसकेका थिए। उनी अहिले दोस्रोपटक सभापति निर्वाचित भइसकेका छन्।

इन्जिनियर बनाउन छोरो काठमाडौं पठाउने डढेलधुरा रुवाखोलाका प्रसादसिंह देउवा थिए, अराष्ट्रिय भएर फर्कने तिनै शेरबहादुर देउवा।

चाखलाग्दो त, भट्टका पिताले उनलाई अराष्ट्रिय भनिएका देउवासँगै बस्न काठमाडौं पठाइदिएका थिए, ‘असल’ हो भन्दै।

‘हामीले डिल्लीबजारमा डेरा गर्यौँ। महिनाको तीस-चालीस रुपैयाँ भाडा थियो,” देउवासित रुममेट भएर बसेका डढेलधुरा जिल्ला विकास समितिका पूर्व सभापति भट्टले २०२३ सम्झिए। डेरामा उनीहरुसँगै सुरजबहादुर देउवा(देउवाका काका) र नरबहादुर बलायर पनि थिए।

दुई वर्ष जति डेरा बस्दा खाना पकाउन र भाँडा माझ्न पालो गरेको पनि भट्टले सम्झिए। डेरामा देउवा र उनका साथीहरुको आउजाउ बढ्न थालेपछि अवस्था सम्हालिनसक्नु हुन थाल्यो। त्यसपछि उनी अलग भए।

“जेल परेपछि उहाँले त्यहीं आर्टस् पढ्नुभयो। मैले पनि त्रिचन्द्रमा आर्टसमै जोइन गरेँ। उहाँ मभन्दा दुई ब्याच सिनियर हो,” भट्टले भने।

सुदूरपश्चिमको पनि सुदूर गाउँबाट त्यसबेला काठमाडौंमा छोरा पढ्न पठाउने सोच्नु नै ठुलो थियो,  अलि चेत भएका र गाउँका हुने-खानेलेमात्र यतिका कुरा सोच्ने हो। गर्ने हो।

“देउवाहरु बलिया नै थिए। सरकारका सुबेदार थिए। तहबीलदार थिए। पहिले त रजवारा(राजा मातहतका) थिए,” भट्टले देउवा खलकीय इतिहास सुनाए, “त्यसबेलाको समाजको चेतनाअनुसार छोरो काठमाडौंमा पढाउने भनेको कहाँ सानो कुरा हो र? सुदूरपश्चिमको सामान्य देउवा परिवार भन्छन्। त्यसो होइन नि, त्यो समाजको प्रतिष्ठित परिवार पो हो त। सानतिनोले कहाँ काठमाडौं छोरा पढ्न पठाउनु।”

देउवा डढेलधुरी ठकुरी हुन्।

रजवार पनि हुन्। रजवार भएकाले त परिवारले उनलाई इन्जिनियर बनाउने चाहना राख्‍न सक्यो।

देउवा काठमाडौं पढ्न आएको बेला २०२२ सालमा जेल परेका थिए। त्यसबेला पंचायतले आफु इतरको राजनीतिमा लाग्नेलाई अराष्ट्रिय तत्व भन्थ्यो। हो, देउवा त्यही अराष्ट्रिय तत्व भएका थिए।

तहबीलदार शेरबहादुरका बा मालाखेती(धनगढी)मा व्यापार गर्थे। भट्ट पिताले पनि व्यापार गर्थे। जसले गर्दा दुई परिवार नजिकिएको थियो।

२०२३ सालमा काठमाडौंमा डिआइजी काण्ड भयो। भट्टका अनुसार त्रिचन्द्र कलेजका मानविकी संकायले राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम राखेको थियो। केटीहरु नाचिरहेको बेला मातेका डिआइजी पुगे। हातपात गरे। मुठभेडजस्तै भयो। रामशरण महत घाइते भए। देउवा डिआइजी काण्डमा जेल परे।

भट्टका अनुसार, २०२४ तिर तरुण दल प्रतिबन्ध थियो। बदलामा तन्नेरी सभा खुल्यो। त्यसले विभिन्न क्याम्पसमा छात्र संघ खोल्थ्यो। खासमा त्यो विद्यार्थी संघ बनाउने अभ्यास थियो।

“विपीन कोइराला, शिवबहादुर खड्का बाठा थिए। सोझा देउवालाई त्यस सभाको अध्यक्ष बनाए,” भट्टले इतिहास उत्खनन गर्दै सुनाए।

२०२७ वैशाखमा गठन भएर पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको नेपाल विद्यार्थी संघले २०२८ असारमा दोस्रो राष्टिय सम्मेलन गर्ने निर्णय गरेको थियो। तर, स्थगित भयो। २०२८ भदौ २९ देखि असोज १ सम्म यो सम्मेलन चितवन नारायणी किनारको वरपिपल चौतारामा भएको थियो। सम्मेलनले शेरबहादुर देउवालाई अध्यक्ष बनायो भने महामन्त्री रामशरण महत चुनिए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, पेज २५६)।

त्यसपछि झण्डै दश वर्ष २०३६ सम्म नै देउवा अध्यक्ष भए। त्यसबेला अध्यक्षमा मार्सल जुलुम शाक्य र वसन्तकुमार गुरुङ पनि उठ्न खोजेका थिए। तर, उनीहररुलाई पहिलो अध्यक्ष विपीन कोइराला र रामचन्द्र पौडेलसँगै सल्लाहकार परिषद्मा राखियो (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, पेज २५६)।

“खासमा सुदूरपश्चिममा कांग्रेसका नेता नभएकाले कांग्रेस कसैलाई नेता बनाउन चाहन्थ्यो। परिस्थितिले त्यो मौका शेरबहादुर पाउनुभयो,” भट्टले भने।

झण्डै एक दशक नेविसंघको अध्यक्ष भएपछि उनी ७५ जिल्लाका डाँडाकाँडा पैदलै पुगे। यसरी जिल्ला जिल्लामा हिँड्दा राजनीतिक जनसम्पर्क बढ्ने नै भयो। फेरि, उनी त नेपाल विद्यार्थी संघ बनाउने पुस्ताकै न परे।

“नेपाल विद्यार्थी संघ निर्माण गर्ने टिम नै यही थियो। देउवा, रामचन्द्र पौडेल नेवि संघ निर्माण गर्ने पुस्ता हो,” भट्टले भने, “कांग्रेस बनाउने पुस्ताका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको विदाइ पनि सुखद् रहेन। अन्तमा पार्टी नै त्यागे। नेवि संघ बनाउने पुस्ताका रामचन्द्र पौडेलको पनि त्यस्तै देखियो।”

गृहमन्‍त्रीमा देउवा

देउवाको लागि २०४८ को संसदीय चुनाव फलिफाप भयो। दार्चुलामा राप्रपाबाट अकबरबहादुर सिंहले जिते। बाँकी सिंगो सुदूरपश्चिम कांग्रेसले सोहोर्यो। गिरिजाप्रसाद कोइराला सरकारमा देउवा गृहमन्त्री भए।

तीन कारणले देउवा गृहमन्त्री भए। एक, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पार्टी सभापति कृष्णप्रसाद भट्टराई दुबैको रोजाइमा परे।

दुई, सुदूरपश्चिमबाट एक सिटबाहेक सबै सिट कांग्रेसले कुम्ल्याएको थियो। त्यसरी जिताउन गरेको मेहिनतलाई पुरस्कृत गर्न पनि गृहमन्त्री दिइयो।

तीन, लामो राजनीतिक इतिहास बोकेका देउवा यतिबेलासम्म विवादीत थिएनन्।

गृहमन्त्री बनेपछि के भयो?

भट्ट भन्छन्, “नेपाल विद्यार्थी संघको अध्यक्ष भएपछि देउवाको ७५ जिल्लामै राम्रो नेटवर्क बन्यो। गृहमन्त्री नै भएपछि त शक्ति आर्जन गरी प्रधानमन्त्री बन्ने पृष्ठभूमि तयार हुँदो रहेछ। वीपी पनि सुरुमा गृहमन्त्री थिए।”

२०५१ को मध्यावधि चुनावपछि कांग्रेस दुब्लायो। कोइरालाले संसद् विघटन गरेपछि मध्यावधि चुनाव भएको थियो। कांग्रेस दुब्लाए पनि त्यही चुनावले देउवालाई मोटाउने अवसर दियो।

चुनावी परिणाम सम्झदै भट्टले सुनाए, “डढेलधुरामा सँगै कोठामा सुतेका थियौँ। सिंगै सुदूरपश्चिम जितेको कांग्रेस त मध्यावधिमा चार सिटमा झर्‍यो। देउवाजीले भन्नुभयो कि, ‘अब कसरी मुख देखाउने होला? काठमाडौं कसरी जाऊँ म? काठमाडौं जानै अप्ठेरो पर्‍यो।’ मैले भनेँ, ‘जीत र हारको जिम्मा त गिरिजाले लिने हो। यसको उत्तरदायित्व गिरिजाले लिने हो।”

त्यसबेला भट्ट राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता थिए। उनले देउवालाई संसदीय दल नेतामा भिड्न सुझाए। बैठकमा कोइरालाले आफू निर्विरोध भएमात्र दल नेता हुने बताए। भट्टले भने, “गिरिजालाई निर्विरोध संसदीय दलको नेता मान्न चिरिञ्जीवी वाग्ले तयार भएनन्। उनले म दाबी गर्छु भन्न थाले। हारको कारण गिरिजाप्रसाद भएकाले कसरी उनलाई निर्विरोध गराउने भनेर प्रश्न उठाए।

वाग्ले छत्तीसे समूहको नेता नै थिए। चुनाव त चौहत्तरेले जितिहाल्थे। त्यसैले दुबैतिरकाले मान्नेखाले उम्मेदवार उठाउनपर्छ भन्ने कुरा आयो। त्यस्तो को हो त? शेरबहादुर देउवा। छत्तीसे समूहले ग्यारेन्टी माग्यो। देउवाले ग्यारेन्टी दिए। चुनाव हुने भयो। शैलजा आचार्य, खुमबहादुर खड्का, ढुण्डीराज शास्त्री र देउवाले दर्खास्त हाले। गिरिजाले भनेपछि शैलजाले फिर्ता लिइन् ‘नेताको आदेशले फिर्ता लिएँ’ भन्दै। देउवा संसदीय दलको नेता बने।”

केही समयमै मनमोहन अधिकारी सरकार ढल्यो। २०५२ मा देउवा पहिलोपटक प्रधानमन्त्री बने।

“संसदीय दलको नेता देउवा प्रधानमन्त्री भए। प्रधानमन्त्री भएपछि त शक्तिका सबै दरबाजा खुले,” देउवा सत्ताको भर्‍याङ चढ्दै गएको प्रसंग भट्टले सुनाए।

पहिलो कार्यकालमै पजेरो काण्ड, सुरासुन्दरी काण्ड, सांसदलाई बैंकक पुर्याएको जस्ता घटनाले देउवा बदनाम भए। महाकाली सन्धी संसद्बाट पास गर्ने बेला प्रतिपक्षी नेकपा एमाले नै फुट्यो।

२०५७ माघ ६–१० गतेसम्म पर्यटकीय नगरी पोखरामा सम्पन्न दसौं महाधिवेशनमा कोइरालासित शेरबहादुर देउवाले प्रतिस्पर्धा गरे। त्यसपटक पनि रामहरि जोशीले सभापतिमा उम्मेदवारी दिएका थिए। लेखक धुब्र सिम्खडा लेख्छन्, “उक्त महाधिवेशनमा कोइरालाले ९३६ मत र देउवाले ५०७ मत ल्याए। जोशीले भने १० मतमात्र पाए। यसै महाधिवेशनदेखि सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानमा व्यवस्था भयो।”

सभापतिमा पराजित भएका देउवा २०५८ मा फेरि प्रधानमन्त्री भए। सङ्कटकाल घोषणा गरे। माओवादी विरुद्ध सेना परिचालन गरे। माओवादी नेताका टाउकाको मोल तोकियो। संसदले सङ्कटकाल नलम्बाउने र देउवामाथि अविस्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला २०५९ मा उनले संसद् विघटन गरे।

यो कदमले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग झगडा चुलियो। पार्टी निर्णयविपरीत संसद् विघटन गरेको भन्दै सभापति कोइरालाले देउवालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरे। त्यसपछि देउवाले कांग्रेस फुटाए। आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। देउवा पहिलोपटक पार्टी प्रमुख भए। देउवाको बहिर्गमनपछि मुल पार्टीमा गिरिजको दबदबा रह्यो, तर उनी सर्वसम्मत भने हुन सकेनन्। २०६२ भदौ १४–१७ मा सम्पन्न एघारौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई अर्का नेता नरहरि आचार्यले सभापतिमा चुनौती दिएका थिए। उक्त महाधिवेशनमा कोइरालाले १२१५ र आचार्यले १६५ मत ल्याएका थिए। १४७२ मतदाता रहेकामा १४०२ मत खसेको थियो।

२०६४ सालमा भने प्रजातान्त्रिक कांग्रेस नेपाली कांग्रेसमा बिलायो।

देउवा वरिष्ठ नेता भए। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विरासत बोकेर उनले कोइरालापीडितहरुलाई समेट्ने कोसिस गरे। र, सभापतिको लिगलिगे दौडमा दौडिरहे।

“देउवाले ‘कोइरालाले अन्याय गरे र म न्याय दिलाउँछु’ भने। मैले न्याय स्थापित गर्छु भन्ने नारा दिए। असहमतलाई गोलबन्द गरे। गिरिजा र सुशीलको कार्यशैलीसँग असन्तुष्टलाई बटुले,” राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, “लिगेसीचाहिँ गणेशमान र किसुनजीको लिएका थिए। उनको आफ्नै संघर्षको इतिहास त छँदैथियो। त्यसैले उनले निरन्तर सभापतिको लागि नक गरे। गुट बनाए। निरन्तर गिरिजासँग लडे।”

२०६७ असोजमा काठमाडौँमा सम्पन्न बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका प्रत्यासी थिए। त्यसमा कोइरालाले १,६५२ र देउवाले १,३१७ मत पाएका थिए। अर्का प्रत्यासी भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए। यस महाधिवेशनदेखि पार्टी क्लस्टर अनुरूप समावेशी ढाँचामा गएको थियो।

१३ औं महाधिवेशन २०७२ फागुन २१–२५ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। सुशील कोइरालाको निधन भएकाले कार्यवाहक सभापति रामचन्द्र पौडेलले उक्त महाधिवेशन उद्घाटन गरे। ३ हजार १ सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी उक्त महाधिवेशनमा सभापतिका लागि पौडेल, देउवा र कृष्णप्रसाद सिटौलाले प्रतिस्पर्धा गरेका थिए।

८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ६४ पदमा निर्वाचन भएको थियो भने बाँकी मनोनित गर्ने व्यवस्था थियो। सभापतिको उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउनुपर्नेमा कुनै पनि उम्मेदवारले उक्त प्रतिशत पुर्‍याउन नसकेकाले दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा देउवाले १ हजार ८ सय २२ र पौडेलले १ हजार २ सय ९६ मत पाए। अर्का उम्मेदवार सिटौला भने पहिलो चरणबाटै ‘रिङ आउट’ भए। उनले ३२४ मत पाएका थिए (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।”

संस्थापक सभापति टंकप्रसाद आचार्यको कार्यकाल त जेलमै बितेको थियो। सुवर्ण शमशेर राणा र कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति भएपनि कोइराला विरासतबाट कांग्रेस बाहिर निक्लन सकेको थिएन। मातृकाप्रसाद कोइराला, वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालामै कांग्रेस घुम्यो। राणा, भट्टराईपछि कांग्रेस सभापति हुने कोइराला इतरका देउवा नै हुन्।

१४ औं महाधिवेसनमा फेरि कोइराला परिवारकै दाबीस्वरुप शेखर कोइराला देउवासँग सभापतिमा भिडे। र, दोस्रो चरणको मतदानमा कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन्। दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २३११ मत चाहिन्थ्यो। देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाए। ३५ मत बदर भएको थियो। पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए। तर बहुमत पुगेन। कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरे। सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए। कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधानअनुसार धेरै मत ल्याउने दुईजनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो।

पहिलो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेपछि दोस्रो चरणमा देउवा विजयी भए।

कुनैबेला कांग्रेसमा एसएस आर नामले तीन नेता चिनिन्थे। ती भर्भराउँदा कांग्रेस नेता थिए। एसएसआर भनेर चिनिने नेता थिए, शैलजा आचार्य, शेरबहादुर देउवा र रामचन्द्र पौडेल। शैलजा कोइराला परिवारकी थिइन्। यसै बलियो। तर, कोइराला परिवारभित्रको शक्ति संघर्षमा टिक्न सकिनन्। रामचन्द्र पौडेलको निर्णय क्षमता कमजोर थियो। उनी १३ औं महाधिवशेनमा देउवासँग नै सभापतिमा हारे। यसपालि आफ्नो समूहबाट सभापतिमा सर्वसम्मत उम्मेदवार समेत हुन सकेनन्। र, सभापति दौडबाट नै बिदा लिए।

लेखक जगत नेपालले भने, “तीनजनामा देउवा नै कमजोर मानिन्थे।” नेपालका अनुसार गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको झगडाबाट कमजोर मानिएका देउवाले सत्तारोहणको भर्‍याङ उक्लेका हुन्। दुई शीर्ष नेताको झगडा, छत्तीसे र चौहत्तरे विभाजनकै कारण त देउवा कांग्रेस संसदीय दल नेता भएका थिए। जसको माथि चर्चा भइसकेको छ। संसदीय दल नेता बनेपछि देउवा प्रधानमन्त्रीको लाइनमा लागे। त्यसैगरी देउवाले दरवार र गिरिजाबीचको द्वन्द्वको सिढीबाट पनि सत्तारोहनमा फड्को मारे चाहे पार्टी सत्ता होस् या राजकीय सत्ता।

दोस्रो कार्यकालको लागि पार्टी सभापति चुनिदाँसम्म उनले पाँचपटक प्रधानमन्‍त्रीका रुपमा देशको नेतृत्व गर्ने अवसर पाइसकेका छन्। देउवालाई कांग्रेस सभापति र प्रधानमन्त्रीको रुपमा जनताले कसरी सम्झेलान्? कोइराला खलकबाहिरका सर्वसाधारण पनि कांग्रेस पार्टी सभापति हुन्छन् र सुदूर गाउँका देउवा पनि पाँचपटक प्रधानमन्त्री बन्न सक्छन् भन्ने एउटा उदाहरणबाहेक उनले ‘सझनलायक’ के- के काम गरे होलान्? गर्लान्?

“गृहमन्त्री हुँदासम्म देउवाले पार्टी र लोकतन्त्रलाई दाग लाग्ने काम गरेनन्। एउटा रमाइलो प्रसंङ्ग छ, किसुनजीले देउवाको बिहेमा ठट्टा गर्दै भन्‍नुभएको थियो रे, ‘आजसम्म शेरबहादुरजी हाम्रो मान्छे हुनुहुन्थ्यो। आजदेखि आरजुको मान्छे हुनुभयो। संयोग, बिहेपछि पनि देउवाले सत्तारोहण त गरिरहे, तर पजेरो काण्ड भयो। उनकै पालामा संसद् र लोकतन्त्र पनि गयो। आर्थिक अनियमितता पनि भए। देखिने राम्रा काम गरेनन्,” लेखक नेपालले देउवाको व्यक्तित्व र उनको कार्यकाल सम्झदै भने, “याज अ ह्युमन, देउवा सिम्पल, इमान्दार हुन्। भएको कुरा लुकाउन नसक्ने चरित्रका। निरन्तर लडाइँ लडेका। पार्टी सभापति र प्रधानमन्त्री भएर देउवाले लोकतन्त्रलाई के दिए ? रिजल्ट भने देखिएन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved