च्याउ खेतीमा मन्त्री श्रेष्ठ, डेढ करोड लगानी

गण्डकी एग्रिकल्चर फार्म दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन्।

नेपालभ्युज

च्याउ खेतीमा मन्त्री श्रेष्ठ, डेढ करोड लगानी

तनहुँ। भानु नगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउ खेती गरिएको हो।

करीब डेढ करोड रुपैयाँ लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउ खेती गरिएको गण्डकी एग्रिकल्चर फार्मका लेखापाल सुरेन्द्र पण्डितले जानकारी दिए। गण्डकी एग्रिकल्चर फार्म दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन्।

फार्ममा १० हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको पण्डितले बताए। फार्मले दिनमै ४० देखि ५० किलोसम्म च्याउ बिक्री गर्न सक्ने क्षमता रहेको बताइएको छ।

माछा–मासुमा भन्दा तीन गुणा धेरै पोषण तत्व हुने र जस्तोसुकै किसिमका बिरामीले पनि सो च्याउ खान मिल्ने हुँदा यसको माग बढ्दै गएको छ।

सिताके च्याउखेतीको विधि

शुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ। च्याउको बीउ रोपेको सात महिनापछि चौबीस घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खाना र टिप्न योग्य हुने बताइएको छ।

यसरी रोपिएको च्याउ एकपटक रोपेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर फल दिइरहने फार्मका अर्का कर्मचारी जीवन जीसीले जानकारी दिए। उत्पादित च्याउ जिल्लाका विभिन्न बजारका साथै पोखरा, काठमाडौंलगायत बजारमा बिक्री गर्दै आइएको लेखापाल पण्डितले जानकारी दिए।

उक्त च्याउ बाह्य जिल्लामा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको बताइएको छ। तर, उक्त फार्मले प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्दै आएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved