विकराल बन्दैछ भिटामिन ‘डी’को कमी

बिहानीको घाम तापेरै पाइने भिटामिन डीको कमी आम समस्या बन्दै गइरहेको छ, जसले कृत्रिम स्रोतमा निर्भर बनाइरहेछ।

विकराल बन्दैछ भिटामिन ‘डी’को कमी

काठमाडौं। सानोमा आमाले घाममा बसाल्दै तेल लगाइदिएको आज पनि सम्झना आउँछ उनलाई। तर उनी चकित परिन् जब डाक्टरले भने- घाम ताप्न नपुगेरै उनलाई विभिन्न समस्या देखिएको हो।

ललितपुरमा बस्दै आइरहेकी २३ वर्षीया राधा थापा लामो समयदेखि हाड दुख्ने, केही नगर्दा पनि थकाइ लागिरहने, पढ्न मन नलाग्ने, अनावश्यक नकारात्मक सोच आइरहनेजस्ता समस्या देखिएपछि उनी डाक्टरकहाँ गएकी थिइन्।

“डाक्टरलाई समस्या सुनाएपछि धेरै जाँच गर्न पठाए, पैसा पनि निकै लाग्यो”, राधाले सुनाइन्, “सबै जाँच गरेपछि भिटामिन डीको कमी छ भन्दै दुई महीनासम्म हप्तामा एकपटक खाने औषधि दिएर पठाए।”

डाक्टरले भिटामिन ‘डी’को कमी छ भन्दा आफै अचम्ममा परेको उनले सुनाइन्।

राधाले मात्र होइन २५ वर्षीया मनिषाले पनि भिटामिन ‘डी’ को कमी भएकाले लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या सामना गर्नुपर्‍यो। समयमै रोग पत्ता नलाग्दा पैसा पनि उत्तिकै खर्च भएको उनले सुनाइन्।

अस्पतालमा स्वास्थ्य जाँच गर्दा भिटामिन डीको कमी भएको पुष्टि भएपछि डाक्टरले तीन महीनाका लागि भिटामिन डी क्याप्सुल सिफारिस गरेको उनले सुनाइन्।

बिहानीको पारिलो घाम ताप्दा मात्रै पनि पाइने भिटामिन डीको कमी अहिले यसैगरी धेरैको समस्या बनेको छ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक सयदेखि दुई सय जनाले भिटामिन डीको जाँच गराइरहेको र त्यसमध्ये आधामा यसको कमी देखिएकोे प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ता बताउँछन्।

नेपालमा भिटामिन डीको कमी कति जनामा छ भन्ने निश्चित आंकडा नभए पनि केही अध्ययनहरूले ६० प्रतिशतमा यसको अभाव भएको देखाएका छन्। सन् २०१४-२०१५ मा पोखरामा गरिएको एक अनुसन्धानले ७५ प्रतिशतमा भिटामिन डीको कमी भएको देखाएको थियो।

काठमाडौं उपत्यकामा बसोबास गर्नेहरूलाई यस्तो समस्या बढी हुने अनुमान गरिएको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पनि नेपालमा पछिल्लो केहि वर्षयता भिटामीन डी कमी हुनेको संख्या बढ्दै गइरहेको बताए।

घाम नतापेरै कमी

भिटामिन ‘डी’ को कमी नेपालमा मात्र नभई विश्वभरकै समस्या रहेको डा.अरूणा उप्रेतीले बताइन्।

उनका अनुसार भिटामिन डीको मुख्य स्रोत बिहानीको पारिलो घाम नै हो। ८० देखि ९० प्रतिशतसम्म भिटामित घामबाटै पाइन्छ। १० प्रतिशत भिटामिन भने अण्डाको पहेँलो भाग, माछा र चीजबाट पाइने डा. उप्रेतीले बताइन्।

“महिला र शहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा नै भिटामीन डीको कमी बढी हुने गरेको छ”, डा. उप्रेती भन्छिन्, “शहरमा बाक्ला घरहरूले घामका किरणहरूले छेकिरहने भएकाले यस्तो भएको हो।”

वर्षभरि घाम लागिरहने नेपालमा अहिले धेरै महिलालाई भिटामिन ‘डी’ को कमी भएको देखिएको र त्यस मध्ये पनि गर्भवतीलाई अझ बढि सताएको उनले जानकारी दिइन्।

भिटामिन डीको कमीबाट जोगिन घाम ताप्न सल्लाह दिँदा पनि कालो हुने डरले नमान्ने गरेको उनले सुनाइन्।

“सनस्क्रिन क्रिम र लामो लुडा लगाएर घाम तापिरहेका हुन्छन जसले गर्दा शरीरमा भिटामिन डी पुग्नै पाउँदैन”, उनले भनिन्।

सुर्यको किरणमा भएको पराबैजनी किरण (अल्ट्राभ्वाइलेट रे) शरीरभित्र प्रवेश गरेपछि मात्रै त्यसले छालाका कोषमा हुने कोलेस्ट्रोलबाट भिटामिन डी संश्लेषण हुन्छ। त्यसैले नाँगो छालामा सुर्यको किरण नपर्दासम्म शरीरमा भिटामिन डी बन्दैन।

किन चाहिन्छ भिटामिन डी?

डा. उप्रेतीका अनुसार हाम्रो शरीरलाई दैनिक ३५० युनिट भिटामिन ‘डी’ आवश्यक  पर्छ। बिहानको घाममा १५ देखि २० मिनेट बस्दा त्यति प्राप्त हुने उनी बताउँछिन्।

शरीरमा ३० देखि ७४ न्यानोग्राम प्रतिमिलिलिटर भिटामिन हुनु सामान्य हो। त्यसभन्दा तल २१ न्यानोग्राम हुनु अपर्याप्त हो भने १० न्यानोग्रामभन्दा कम हुनु अत्यधिक कमी हो। त्यस्तो अवस्थामा भने क्याप्सुल नै खानुपर्ने डा. उप्रेतीले बताइन्।

डा. रेग्मीका अनुसार भिटामिन डीको कमी आफैमा रोग नभए पनि विभिन्न रोगका कारक भने हो।

उनी भन्छन्, “भिटामिन ‘डी’ डेफिसिएन्सी नै रोग हो भन्न मिल्दैन तर यसको कमीले मुटुमा समस्या, हड्डीमा समस्या र रोगप्रतिरोधात्मक क्षमतामा कमी लगायतका समस्या जन्माउँछ।”

डा. उप्रेतीका अनुसार भिटामिन डीको कमीले हाड कमजोर हुन्छ। त्यस्तै मुटुको चाल अस्वाभाविक हुने, उदासी बढ्ने र नकारात्मक सोच बढ्ने उनले बताइन्।

क्याप्सुल अन्तिम समाधान होइन

भिटामिन डीको अभाव हुनासाथ क्याप्सुल खाने गरिएको छ। तर कम मात्रामा कमी हुँदैमा क्याप्सुल खाइहाल्नु गलत हुने डा. उप्रेतीको मत छ। केही चिकित्सकले भिटामिन डीको क्याप्सुललाई प्रोत्साहन गरेर व्यापारीकरणलाई प्रोत्साहन गरेको आरोप छ उनको।

“घाम नलाग्ने देशतिर भिटामिन ‘डी’ क्याप्सुल खुवाइनु स्वाभाविकै हो तर नेपालमा वर्षभरमा लगभग तीन सय दिन घाम लाग्छ यस्तो ठाउँमा पनि किन क्याप्सुल खान्छौं हामी ?”, डा. उप्रेतीको प्रश्न छ।

स्वास्थ्य मन्त्रालयले पनि भिटामिन ‘डी’ के-के मा पाइन्छ भनेर सन्देश दिनुको साटो आमसञ्चार माध्यमबाट क्याल्सियम र भिटामिन ‘डी’ को क्याप्सुल गर्भवती महिलालाई अनिवार्य भनेर प्रचार-प्रसार गरेकोमा उनले आपत्ती जनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved