विश्व अर्थतन्त्रमा चुनौती थप्दैछ ओमिक्रोन

ओमिक्रोन भेरिएन्टले सिर्जना गरेको खतराको तरंग एकपछि अर्को देशमा फैलिँदै गइरहेछ जसले विश्व अर्थतन्त्रमा पहिलेदेखि रहेका तीनवटा खतरा बढाइदिएको छ।

विश्व अर्थतन्त्रमा चुनौती थप्दैछ ओमिक्रोन

कोभिड-१९ भ्याक्सिनको पहिलो सफल क्लिनिकल परीक्षण हुनुभन्दा केही अघिसम्म संसारभर एउटा भय व्याप्त थियो। त्यस्तै भय फेरि शुरू भएको छ। भ्याक्सिनले तयार पारेको रक्षा कवच तोड्न यही २४ नोभेम्बरमा पहिलोपटक पत्ता लागेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन सक्षम हुनेजस्तो देखिएको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका कारण विश्वव्यापी जोखिम ‘निकै बढेको’ घोषणा गरेको छ। भ्याक्सिन निर्मातामध्येको एक कम्पनी मोर्डनका प्रमुखले धेरैपटक उत्परिवर्तित यो नयाँ भेरिएन्टलाई अहिलेको भ्याक्सिनले रोकथाम गर्नेमा शंका व्यक्त गरेका छन्। हुनसक्ने थप लकडाउन, सीमा बन्द र विचलित उपभोक्ताहरूलाई ध्यानमा राख्दै लगानीकर्ताहरूले वायु सेवा र होटलमा भएको शेयर बेचेका छन्। तेलको भाउ प्रतिब्यारेल १० डलरको हिसाबले खस्किएको छ। आर्थिक मन्दी हुँदामात्रै तेलको भाउमा यस्तो गिरावट आउने गरेको थियो।

ओमिक्रोन भेरिएन्टको स्पाइक प्रोटिन (कोरोना भाइरसको सतहमा हुने प्रोटिनका तिखा चुच्चाहरू)मा भएका ३५ वटा उत्परिवर्तनले यसलाई डेल्टा स्ट्रेन भन्दा थप संक्रामक र प्राणघातक बनाउँछ कि नाहिँ भन्ने निधो गर्न हतार हुनेछ। आउँदा हप्ताहरूमा वैज्ञानिकहरूले गर्ने तथ्यांक विश्लेषणले महामारीको तस्वीर अझ स्पष्ट हुनेछ। तर यसले सिर्जना गरेको खतराको तरंग एकपछि अर्को देशमा फैलिँदै गइरहेछ जसले विश्व अर्थतन्त्रमा पहिलेदेखि रहेका तीनवटा खतरा बढाइदिएको छ।

पहिलो, धनी देशहरूमा गरिने कडा प्रतिबन्धले आर्थिक वृद्धिलाई नोक्सान पार्नेछ। भेरिएन्टको समाचार आएसँगै विभिन्न देशहरूले यो भेरिएन्ट पत्ता लागेको दक्षिण अफ्रिकाबाट यात्रुको आगमनमा प्रतिबन्ध लगाएका छन्। इजरायल र जापानले आफ्नो सीमा पूर्णतः बन्द गरेका छन्। बेलायतले क्वारेन्टाइनका नयाँ नियमहरू बनाएको छ। यो महामारीले स्वतन्त्र विश्व भ्रमणको युगलाई एकाएक विश्राम लगाइदिएको छ। हुन त यो वर्षमा प्रतिबन्ध खुकुलो बनाइएको थियो तर गत हप्ताका घटनाले नाकाहरू खुल्नेभन्दा बन्द हुने गति तीव्र रहेको देखाएका छन्।

ओमिक्रोनको विस्तारले देशभित्रै पनि स्वतन्त्र आवागमनलाई सिमित गर्ने देखिन्छ। यो भेरिएन्ट आउनुअघि डेल्टाको संक्रमण फैलिएपछि नै युरोपले देशभित्रको गतिविधीमा नियन्त्रण गरिरहेको थियो। इटालीमा भ्याक्सिन नलगाएकाहरूलाई रेष्टुरेण्ट प्रवेश गर्न दिइएको थिएन। पोर्चुगलमा बारमा प्रवेश गर्न भ्याक्सिन लगाएर मात्र पुग्दैनथ्यो, कोभिड नेगेटिभ भएको रिपोर्ट पनि बुझाउनुपर्थ्यो। अष्ट्रिया त पूर्ण लकडाउनमै थियो। हस्पिटालिटी क्षेत्रदेखि सम्मेलनहरूसम्मका विश्वका ठूला सेवा उद्योगहरू लामो समयदेखि पुनर्उत्थानको प्रतिक्षामा थिए। त्यो प्रतिक्षा फेरि पर सरेको छ।

यस्तो एकांगी अर्थतन्त्रले दोस्रो खतरालाई मलजल गर्छ। यसले उच्च मुद्रास्फिति सिर्जना गर्नसक्छ। यस्तो जोखिम अमेरिकामा कम देखिन्छ जहाँ राष्ट्रपति जो बाइडेनको अत्याधिक आर्थिक प्रोत्साहनले अर्थतन्त्रलाई बढावा दिएको छ । र, उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले बढेको छ। यो तीन दशककै उच्च दर हो। तर बुलम्बर्गको तथ्यांक अनुसार अन्यत्र मुद्रास्फिति अस्वाभाविक रूपमा बढेको छ। विश्वव्यापी मुद्रास्फिति वृद्धि ५.३ प्रतिशत छ।

ओमिक्रोनका कारण आर्थिक गतिविधि घट्ने भएकाले मुद्रास्फिति घट्छ भन्ने अनुमान कसैले गर्नसक्छ। तर यथार्थमा यसको ठ्याक्कै उल्टो हुनसक्छ। आंशिक रूपमा मूल्य वृद्धि बढेको छ किनभने उपभोक्ताहरूले अहिले व्यापक मात्रामा खरिद गरिरहेका छन्। यो खरिदले विश्वको आपूर्ति प्रणालीमा व्यापक दबाब सिर्जना गरेको छ। एशियाको कुनै कारखानाबाट एउटा कन्टेनर अमेरिकासम्म पुर्‍याउन लाग्ने खर्च अत्याधिक बढेको छ। मुद्रास्फिति घटाउन उपभोक्ताहरूले पुनः पर्यटन र होटलेजस्ता सेवा क्षेत्रमा खर्च गर्नुपर्छ। ओमिक्रोनले यस्ता गतिविधि सुस्त गराउन सक्छ। यो भेरिएन्टले भियतनाम र मलेसियाजस्ता उत्पादनका केन्द्रहरूमा लकडाउन गराउनसक्छ जसले आपूर्तीमा गडबडी गराउनेछ। र सचेत कामदारहरू श्रम शक्तिमा नफर्किन सक्छन्।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भका अध्यक्ष जेरोम पोवेलले ३० नोभेम्बरमा आफू मौद्रिक कडाईको पक्षमा रहेको बताएका थिए। उनको अडानको पछाडिको कारण यस्तै जोखिम हुनसक्छ। त्यस्तो अडान ठीक त छ तर यसले आफ्नै खालका खतराहरू निम्त्याउँछ। यसको प्रभावले उदाउँदा अर्थतन्त्रहरूलाई असर पार्नसक्छ। पूँजी बहिर्गमनमा क्षति पुर्‍याउनसक्छ र विनिमय दर खस्किन सक्छ।

उदाउँदा अर्थतन्त्रहरूसँग सन् २०१३ मा भन्दा अहिले धेरै बचत छ र ती विदेशी मुद्राको ऋणमा कम निर्भर छन्। तथापी उनीहरूले पनि आफ्नो देशमा ओमिक्रोनको सामना गर्नुपर्नेछ। ब्राजिल, मेक्सिको र रुसले पहिले नै ब्याजदर बढाएका छन् जसले मुद्रास्फिति रोक्न सघाउनेछ। तर महामारीको अर्को लहर आउँदै गर्दा आर्थिक वृद्धि पनि घटाउनेछ। टर्कीले भने ब्याजदर घटाएर ठ्याक्कै उल्टो गरेको छ। जसको परिणाम मुद्रा नै खस्किरहेछ। अरू उदाउँदा अर्थतन्त्रले कठीन विकल्पको सामना गर्नुपर्नेछ।

ओमिक्रोनले बढाउन सक्ने तेस्रो खतरा हो, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा मन्दी। महामारी सामना गर्नसक्ने अर्थतन्त्रको रूपमा यो उदाहरण बनेको धेरै भएको छैन। तर यो घरजग्गा उद्योगको ऋण संकट, नीजि व्यवसायविरुद्धको वैचारिक अभियानहरू र दिगो हुन नसक्ने ‘शुन्य कोभिड’ नीतिसँग जुधिरहेछ। शुन्य कोभिड नीतिले चीनलाई अरू देशबाट अलग्याइरहेछ भने जहाँजहाँ संक्रमण देखापर्छ त्यहाँ कठोर लकडाउन लगाउन उत्प्रेरित गरिरहेछ। सरकारले अर्थतन्त्रलाई प्रोत्साहन दिने योजना बनाइरहँदा पनि आर्थिक वृद्धि दर पाँच प्रतिशतले घटेको छ। ३० वर्षमै अहिले सबैभन्दा न्यून वृद्धि भइरहेछ।

डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन बढी संक्रामक भएको पुष्टि भयो भने चीनको रणनीति झनै कठीन हुनेछ। यो भेरिएन्ट छिटै नै प्रसार हुने भएकाले चीनले अझ कठोर चाल चाल्नुपर्ने हुन्छ जसले आर्थिक वृद्धि रोक्नेछ र आपूर्ती शृंखलालाई छिन्नभिन्न पार्नेछ।

ओमिक्रोनले चीनलाई उसको शुन्य कोभिड नीतिबाट बाहिरिन पनि बाध्य पार्नेछ किनभने एकपछि अर्को संक्रमणको लहरले अर्थतन्त्र र स्वास्थ्यसेवा प्रणालीलाई नोक्सान पुर्‍याइरहेछ। यसले चीनको भ्याक्सिनले कति प्रभावकारी ढंगमा काम गर्छ भन्ने प्रश्न पनि उठाइदिन्छ।

अप्रत्याशित भेरिएन्ट र चिन्ताजनक हप्ता

यो पूर्णत उदासीको क्षण भने होइन। संसारले २०२० को बसन्तताका जस्तो कुल ग्रार्हस्थ उत्पादनमा व्यापक गिरावट देख्नेछैन। मानिसहरू, व्यवसाय र सरकार धेरै हदसम्म भाइरससँग अनुकूल भएका छन्। गोल्डम्यान स्याक्सका अनुसार कुल ग्रार्हस्थ उत्पादन र आवागमन प्रतिबन्धबीचको सम्बन्ध भनिएको भन्दा एकतिहाई हुनेछ। केही भ्याक्सिन निर्माताहरू अहिलेकै भ्याक्सिनले काम गर्छ भन्ने देखाउन चाहन्छन्। उनीहरू सक्षम भए भने सन् २०२२ सम्ममा फर्महरू र सरकारहरूले नयाँ भ्याक्सिन उत्पादन गर्न सक्नेछन्।  जे भए पनि ओमिक्रोन वा भविष्यमा आउनसक्ने पाइ, रो, सिग्माजस्ता भेरिएन्टले न्यून आर्थिक वृद्धि र उच्च मुद्रास्फितिको खतरा तेर्स्याएका छन्। विश्वले महामारी हुने भाइरसको बाटो सरल छैन भन्ने चेतावनी पाएको छ।

– ४ डिसेम्बर २०२० को द इकोनोमिष्टमा प्रकाशित लेखको अनुवाद।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved