समाचार विश्लेषण

राप्रपा महाधिवेशनका तीन सन्देश

राप्रपाको महाधिवेशनले यो पार्टीको राजनीतिक जीवनमा महत्त्वपूर्ण अभ्यास गरेको छ। यसले मूलतः तीनवटा सन्देश दिएको छ।

नेपालभ्युज

राप्रपा महाधिवेशनका तीन सन्देश

काठमाडौं। नेकपा (एमाले)को केही दिन अघि सकिएको दशौं महाधिवेशन र नेपाली कांग्रेसको सातापछि शुरु हुने १४ औं महाधिवेशनको चेपुवामा परेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन प्रचारका हिसाबले ओझेलमा परेको थियो।

तर, जब महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा चुन्यो, एकाएक यसको चर्चा चुलियो।

दुई कारणले राप्रपा महाधिवेशन यतिबेला चर्चा छ।

एक, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको बहस नेपाली राजनीतिमा हुँदै आएको सन्दर्भमा यो पार्टीले व्यवहारमै त्यसलाई अंगीकार गर्‍यो। लामो समयदेखि नेतृत्वमा पकड जमाएर बसेका कमल थापालाई उनकै ‘चेला’ लिङ्देनले विस्थापित गरे।

दुई, पराजित उम्मेदवार थापाले नेतृत्व चुन्ने प्रक्रियामा पूर्व राजा ज्ञानेन्द्रको भूमिका भएको आरोप लगाएपछि राप्रपा महाधिवेशन थप चर्चाको विषय बनेको छ।

मतगणना सकिएको केही मिनेटमै थापाले सामाजिक सञ्जालबाट पूर्वराजाप्रति रोष प्रकट गर्दै निन्दा गरेका थिए। उनले लेखे, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’

उनले विजयी लिङ्देनलाई औपचारिक बधाई दिए भने पूर्व राजालाई व्यङ्ग्यात्मक शैलीमा बधाई दिए। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।


पूर्व राजाको ट्वीटर हेन्डललाई मेन्सन गर्दै थापाले लेखेका छन्- ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’

पूर्वराजाप्रति थापाले व्यक्त गरेको आक्रोशको वरपर रहेर विश्लेषण भइरहेका छन्। निर्मल निवास स्रोतले  राप्रपा महाधिवेशनमा आफ्नो कुनै भूमिका नरहेको बताए पनि पूर्व राजपरिवारको यसमा रुचि रहेको घाम जत्तिकै छर्लङ्ग छ। राजसंस्था नेपालमा इतिहासको विषय भइसक्यो। यद्यपि यो अझै कुनै न कुनै रूपमा बौरिन्छ कि भनेर पूर्व राजा ज्ञानेन्द्र आफ्नै हिसाबले सक्रिय छन्। बहुदल स्थापना भए लगत्तै दरबारकै इसारामा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भएको थियो। राजा संवैधानिक भूमिकामा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी मार्फत सक्रिय पूर्व पञ्चहरू एक हिसाबले राजाका प्रतिनिधि नै थिए।

दरवारसँगको सम्बन्धको आलोकमा तिनको भूमिका र सक्रियता हुने गर्थ्यो। पञ्चायतदेखि नै त्यही अभ्यास चल्दै आएको थियो। राजासँग सम्बन्ध राम्रो हुँदा पद र भूमिका पाउने अन्यथा छेउ किनारामा बस्नुपर्ने बाध्यता पञ्चायती शासनकालमै पनि पूर्व पञ्चहरूले व्यहोरेकै हुन्। अहिले पनि भएको त्यहीँ हो। थापा र लिङ्देन दुवै राजाप्रति बफादार नेता हुन्। हिन्दु राष्ट्रसँगै राजा फर्काउने अभिायनका पृष्ठपोषक थापा डेढ दशक यता परीक्षामा थिए। दरबारलाई लाग्यो, थापा परीक्षामा सफल हुन सकेनन्। उसले त्यही अभियानका अर्का पात्रमा त्यो क्षमता देख्यो। फलस्वरूप, लिङ्देन पूर्व राजपरिवारको रोजाईमा परे। राप्रपाका एक नेता भन्छन्, “पूर्वराजाले आफ्नो गार्ड फेरेका हुन्। हिजो थापा थिए, आज लिङ्देन भए।”

लिङ्देन जीतको अर्को महत्त्वपूर्ण कारण प्रकाशचन्द्र लोहनीको खुलेआम समर्थन पनि हो। पशुपति शमशेरले खुलेर समर्थन नगरे पनि अन्तिम समयसम्म साँधेको मौनता उनको विजय मार्गको अनुकूल बन्यो। त्यसमाथि पुरानो नेतृत्वबाट आम मानिस वाक्क दिक्क भएका छन्। परिक्षण हुन बाँकी नया अनुहारको खोजी हरेक जसो राजनीतिक दलमा भएको छ। हालै सम्पन्न एमालेका कार्यकर्ताले ओलीले जे भन्छन्, त्यही लाहाछापा लगाएर नेतृत्व पुस्तान्तरणको अवसर गुमाए। तर, राप्रपाका कार्यकर्ताले त्यो अभ्यास गरे। र, लिङ्देन राप्रपाको पार्टी सत्ताको नेतृत्वमा पुगे।

सारमा हेर्दा राप्रपाको महाधिवेशनले यो पार्टीको राजनीतिक जीवनमा महत्त्वपूर्ण अभ्यास गरेको छ। एक, नयाँ संविधानले व्यवस्था गरे अनुसार समावेशी नेतृत्व छनौटको अभ्यास गरेको छ। दुई, अरू ठूला र मुलधारका भनिएका पार्टीलाई चुनौती दिँदै उपाध्यक्ष, महामन्त्रीमा समेत महिलालाई निर्वाचित गरेको छ। ३३ प्रतिशत महिलाको प्रनिनिधित्व सुनिश्चित गरेको छ। तीन, सबैभन्दा महत्त्वपूर्ण पक्ष, तीन दशकदेखि नेतृत्वमा रहेको अनुहार परिवर्तन गरेको छ। त्यसमा पनि कुलीन वा उच्च वर्गका नेता होइनन्, जनजाति पृष्ठभूमिका नेता चुनिएका छन्।

मोफसलमा बसेर राजनीतिक रूपमा सक्रिय रहँदै आएका लिङ्देन कुलीन पूर्वपञ्चहरूलाई पराजित गर्दै केन्द्रीय भूमिकामा आएका छन्। अब हेर्नुछ, राजावादी राजनीति अंगालेका यी थापा जस्तै असफल सावित हुन्छन् कि ‘सफल’ ? परिक्षा शुरु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved