सुकुल बुन्न सिकाउने स्कूल

विद्यार्थीलाई सीपमूलक शिक्षाका लागि प्रशिक्षण दिइरहेका छन् – कृष्णगोपाल माकले। उनको पुर्ख्यौली पेशा नै सुकुल बनाउनु हो। गलैँचा, म्याट र कार्पेटले सुकुललाई विस्थापित गरे पनि नवीन रूपमा सुकुल बुन्न सके राम्रो सम्भावना रहेको बताउँछन् उनी।

सुकुल बुन्न सिकाउने स्कूल

काठमाडौं। घडीले बेलुकीको चार बजाउनै लागेको छ। भक्तपुर नगरपालिका २ यालाछेंस्थित शारदा माध्यामिक विद्यालयको बीच प्राङ्गणमा पँहेला परालका मुठा देखिन्छन्।

चार बजेसँगै अन्य विद्यालयमा जस्तै छुट्टीको घण्टी बज्छ। विद्यार्थीहरू कक्षा कोठाबाट बाहिर निस्किन्छन्। ती मध्ये केही बालबालिका कक्षाकोठाबाट निस्किएर परालको वरिपरि बस्छन्।

छेउमा बसेका कक्षा चारका सबिन ब्लोनका साना कलिला औँला केही त्यान्द्रा परालका उठाउँछन्। हेर्दाहेर्दै उनका हातमा भएका ती कमजोर त्यान्द्रा बलियो डोरीको आकार लिन थाल्छन्। उनी भन्छन्, ‘‘डोरी बनाउन सिकिसकें, अब सुकुल बनाउन सिक्ने मन छ।” घरमा पनि सुकुलमा रमाइरहेका उनलाई आफ्ना लागि आफै सुकुल बुन्ने रहर छ।

८ कक्षामा पढ्ने मीना भैल भोजहरूमा जाँदा सुकुल देख्थिन्। त्यो कसरी बन्छ होला भन्ने उत्सुकता उनलाई सँधैं हुन्थ्यो। अब उनलाई सुकुल कसरी बन्छ भन्ने थाह छ। विद्यालयमै सुकुल बुन्न पाइरहँदा उनमा हर्षको सीमा छैन।

“सुकुल कसरी बुन्ने होला भन्ने खुलदुली लागिरहन्थ्यो, यो त परालबाट पो बन्दो रहेछ,” उनले भनिन्, “अहिले विद्यालयमै सुकुल बुन्न सिक्दा खुशी लागेको छ।” शुरुमा २० ओटा डोरी बनाएर अहिले उनी बुन्ने तरिका सिकिरहेकी छन्। “शुरुमा झन्झटिलो लागे पनि विस्तारै रमाइलो लाग्दो रहेछ।”

सविना भट्टराईलाई सुकुल बारे केही थाह थिएन। साथीहरूले बनाएको देख्दा रमाइलो लाग्थ्यो। विस्तारै उनलाई पनि सुकुल बनाउन सिक्न मन लाग्यो। साथीहरूले बनाएको हेर्दै प्रयास गरिन् र अब उनलाई डोरी बनाउन आउँछ। चाँडै सुकुल पनि बनाउन जान्ने दृढ विश्वास उनमा छ। विद्यालयमा पढाइसँगै व्यवहारिक ज्ञान पनि सिक्न पाएकोमा हर्षित छिन् उनी।

विद्यालयले यसै वर्षदेखि विद्यार्थीको सिकाइ र समग्र विकासका लागि व्यवहारिक सीपका रूपमा सुकुल बनाउन सिकाउन थालेको हो। व्यवहारिक, व्यवसायिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएकाले विद्यालयले सीपमूलक शिक्षा दिन थालेको प्रधानाध्यापक रोशनराज तुईतुईलेले बताए।

विद्यालयलाई सीपमूलक शिक्षा प्रदानका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट सहयोग गरेको छ। जसअनुसार विद्यालयले नै प्रशिक्षक नियुक्त गरेर सीपमूलक शिक्षा दिइरहेको छ भने विद्यार्थीबाट कुनै पनि अतिरिक्त शुल्क नलिएको प्रधानाध्यापक तुईतुई बताउँछन्।

विद्यार्थीलाई सीपमूलक शिक्षाका लागि प्रशिक्षण दिइरहेका छन् – कृष्णगोपाल माकले। उनको पुर्ख्यौली पेशा नै सुकुल बनाउनु हो। गलैँचा, म्याट र कार्पेटले सुकुललाई विस्थापित गरे पनि नवीन रूपमा सुकुल बुन्न सके राम्रो सम्भावना  रहेको बताउँछन् उनी। जसकारण पनि परम्परागत सीप नयाँ पिँढीलाई सिकाउनुपर्छ भनेर आफू प्रशिक्षक बनेर आएको उनले बताए।

विद्यालयले पुरानो सीपलाई मर्न नदिन सुकल बुनाइ सीप सिकाउनका लागि प्रस्ताव गरेपछि आफू विद्यालयमा आएको उनको भनाइ छ। पैसा कमाउने भन्दा पनि परम्परागत सीप हस्तान्तरणका लागि प्रशिक्षक बनेर आएको बताउने उनी भन्छन्, “यो काम अलि झन्झटिलो चाहिँ छ, विद्यार्थीले डोरी बनाउन चाहिँ सिकिसकेका छन्, अब बुन्न सिकाउँछु।”

म्याट र कार्पेटले चिसोमा स्वास्थ्य समस्या ल्याउने भएकाले सुकुल अझ बढी प्रभावकारी र राम्रो साधन भएको उनी बताउँछन्।

अहिले विद्यालयले सुकुल बुन्न सिकाइरहेकोमा विस्तारै सामान्य जैविक खेती, सामान्य विद्युतीय ज्ञान, प्लम्बिङ, हस्तकला लगायतका विषयमा सीपमूलक शिक्षा दिने प्रयास गरिरहेको शिक्षक सरोज दुलाल बताए। उनी भन्छन्,  “करेसाबारी खेती सिकाउनका लागी जग्गा लिएर विद्यार्थीलाई अवलोकन भ्रमण गराइरहेका छौँ। च्याउ खेतीबारे सीपमूलक शिक्षा दिने तयारी पनि गरिरहेका छौँ।”

विद्यालयले आधारभूत तहका विद्यार्थीलाई हस्तकला बनाउन सिकिरहेको छ। विद्यार्थीको इच्छा केमा छ त्यसअनुसार व्यवहारिक शिक्षा दिइरहेको विद्यालयले बताएको छ। हाल विद्यालयमा ३ सय ५० जना विद्यार्थी रहेकोमा विद्यालयप्रति आकर्षण बढिरहेको शिक्षक दुलालले बताए।

One thought on “सुकुल बुन्न सिकाउने स्कूल

  1. राम्रो थालनी , स्कुल शिक्षासंगै व्यवहारिक, व्यवसायिक र सीपमूलक तालिम दिएमा उच्च शिक्षा हासिल गर्न कठिनाइ भएमा जीविकोपार्जन गर्न सक्षम हुन्छन l यस्तो ब्यबस्था अन्य बुदामा आरु बिद्यालयले पनि सुरु गरे उत्तम हुनेछ l र यो आजको आबश्यकता पनि हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved