कांग्रेस महाधिवेशन

सुदूरपश्चिममा देउवा समूहकै दुई प्यानल

सबैभन्दा  बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचित एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवा निकट छन्। १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापनइतर पक्षबाट विजयी भएका थिए।

सुदूरपश्चिममा देउवा समूहकै दुई प्यानल

कैलाली। २४ मंसीरमा हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिने आकांक्षा राखेका प्रधानमन्त्री समेत रहेका पार्टी सभापति ‌ शेरबहादुर देउवाको गृहप्रदेश हो सुदूरपश्चिम। गृहप्रदेश भएकाले पनि यहाँ आफ्नो राम्रो प्रभाव रहेको दाबी देउवा समूहको छ।

हुन पनि महाधिवेशन प्रतिनिधिका रुपमा देउवा निकट उम्मेदवार विजयी भएका छन्।

नौवटा जिल्ला रहेको यस प्रदेशका सातवटा जिल्लामा देउवा पक्षका अधिकांश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने बैतडीमा दुवै पक्षका महाधिवेशन प्रतिनिधि बाँडफँट भएका छन् । दिलेन्द्रप्रसाद बडुको पकडक्षेत्र रहेको दार्चुलामा भने देउवा प्यानलका महाधिवेशन प्रतिनिधि निर्वाचित छैनन्।

सबैभन्दा  बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचित एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवा निकट छन्। १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापनइतर पक्षबाट विजयी भएका थिए।

देउवाको राम्रो प्रभाव दावी गरे पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा देउवा समूहभित्रै दुई प्यानल देखिएका छन्।

सुदूरपश्चिमका प्रभावशाली नेताद्वय रमेश लेखक र एनपी साउद देउवाका प्रिय पात्र मानिन्छन्। देउवाका प्रिय पात्र मानिने दुवै नेता देउवा समूहकै हुन्, तर सुदूरपश्चिममा भने उनीहरूको छुट्टाछुट्टै प्यानल छ।

केन्द्रमा देउवा पक्ष नै रहे पनि साउद र लेखकले प्रदेशमा आफ्नो प्रभाव जमाउनका लागि निकै कसरत गरिरहेको देख्न सकिन्छ। विशेषगरी कम प्रभाव रहेका पहाडी जिल्लामा उनीहरू आफ्नो प्यानल विस्तारमा लागेका छन्। तर दुवै नेता सफल भने हुन सकेका छैनन्।

लेखकको निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा उनकै प्रतिनिधि निर्वाचित भएका छन् भने साउदको पकड निर्वाचन क्षेत्रमा उनकै महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ। कञ्चनपुरमा ७८ जना महाधिवेशन प्रतिनिधि रहेकोमा पौडेल पक्षका झण्डै १८ जना निर्वाचित रहेको जनाइएको छ।

प्रदेशकै दोस्रो ठूलो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा तीनओटा निर्वाचन क्षेत्र रहेकोमा देउवा पक्षकै मानिएका साउद र लेखकबीच भिडन्त भएको थियो।

केन्द्रमा देउवा पक्ष भनेर चिनिने दुवै नेताले प्रदेशमा आफ्नो प्रभाव कायम गराउन प्यानल खडा गरेका थिए। तर तराईका दुई जिल्लामा यी दुईको राम्रो प्रभाव रहे पनि बाँकी सात पहाडी जिल्लामा भने उनीहरूको प्रभाव न्यून छ। तर देउवा समूहको प्रभाव चाहिँ छ।

प्रदेशको अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मतगणनापछि विवाद हुँदा सोमबार पुनः मतदान भएको थियो। दोस्रो पटक भएको मतदानमा पनि देउवा पक्षकै बहुमत आएको छ। यस्तै क्षेत्र नम्बर २ मा पनि देउवा पक्षकै बहुमत छ।

देउवाकै गृह जिल्लाका एक पक्षीय टोली काठमाडौंमा अनशनरत भएपछि उक्त जिल्लामा महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रूपमै छनोट गरिएको थियो ।

बझाङमा प्रतिनिधिसभा सभापतिसहित २६ जनामध्ये १२ जना पौडेल पक्षका महाधिवेशन प्रतिनिधि छनोट भएका थिए।

‘‘यहाँ साउद र लेखकको प्रभाव त होला तर, उनीहरूसँग भनेर कोही खुलेका छैनन्,’’ डोटीका एक नेताले भने, ‘‘डोटीमा देउवाको राम्रो प्रभाव छ, केहीबाहेक अन्य देउवा पक्षबाटै प्रतिनिधि निर्वाचित भएका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved