चितवनमा कम्युनिष्ट उदय र प्रभाव

केन्द्रमा जसरी कम्युनिष्ट पार्टी विभाजित भयो, चितवनमा पनि चारवटा समूह देखियो। पञ्चायतले शक्ति सन्तुलनका लागि कांग्रेसको शक्तिलाई काउन्टर दिन कम्युनिष्टलाई प्रश्रय दिनुपर्ने अवस्था दियो।

चितवनमा कम्युनिष्ट उदय र प्रभाव

२००७ सालको राजनीतिक परिवर्तन हुनुअघि कुनै राजनीतिक चेतना थिएन, एक-दई वटा प्राइमरी स्कुलहरू थिए, स्कुलहरू पनि थिएन, बसोबास पनि थिएन, थारू बस्तीमात्र थियो, औलोको प्रकोप थियो, चितवनको पहाडी भेगमा बस्ती थियो। पहाडी बस्तीमा आएका कर्मचारीहरू समथर जग्गाहरू खेतीयोग्य जमीनबाट लोभिए, आफ्नो बिस्तारै बसाइँसराइ गरे।

प्राडा. राजेन्द्र रेग्मी

तर, बसोबास गर्न सकिरहेको थिएन। २००७ सालको परिवर्तनपछि, विस्तारै यहाँ पनि राजनीतिक विचारहरू चर्चा परिचर्चा हुन थालेको पाइन्छ। सांगठनिक रूपमा भने कुनै आयाम भएको पाइँदैन। २०१२, ०१३ सालमा चितवन राप्ती उपत्यका विकास परियोजना लागू भयो। नयाँ बसोबासको क्रम शुरु भयो। त्यसपछि नेपालका विभिन्न जिल्लाहरूबाट बसाइसराइँको क्रम शुरु भयो।

बसाइँसराइ गर्ने व्यक्तिहरू कि त केही नभएका हुन्छन्, कि त उच्च मनोबल लिएर नयाँ आयाम खोजेर हिँड्ने हुन्छन्। मध्यम खालका हुँदैनन्। यसरी हेर्दा केही गर्नुपर्छ भन्ने मान्छेहरू यहा बसाइँसराइका क्रममा आए। त्यसपछि मिश्रित समाज निर्माण भयो। मिश्रित समाज निर्माणले राजनीतिक चेतना र सामाजिक हलचल पनि गर्‍यो। पहाडी सामन्ती प्रथालाई त्यसलाई चिरेर नयाँ बस्ती भएकाले सबैलाई समान रूपमा रहने चेतना विकास भयो, त्यसका साथै राजनीतिक अभियानहरू शुरु भए।

सांगठानिक रूपमा पनि राप्ती उपत्यका परियोजना सँगै शुरु भएको देखिन्छ। कम्युनिष्टका सवालमा हेर्दा, २००८ सालमा व्यापारको सिलसिलनामा गौरीभक्त प्रधान आए। चितवनको चरौधीमा बसे। व्यापार गर्दैगर्दा एक डेढ-महिना हुँदै गुरिला तालिम लिने अवसर पाए। तालिम लिएर फर्किएर काठमाडौंमा नै बसे।

काठमाडौमा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा नै काम गरे। चितवनमा आएर संगठन विस्तार गरेको देखिँदैन। चितवनमा कम्युनिष्ट प्रभाव कसरी भित्रियो भन्दा, नारायणगढ बजारमा हिउँद महिनामा व्यापार हुने गर्थ्यो। गर्मी समयमा औलोका कारण बाहिरबाट व्यापार गर्न नसक्ने भएकाले पहाडतिर जान्थे। जोडो समयमा व्यापार गर्दा बन्दिपुरका नेवारहरूको जुन प्रभाव भयो, त्यसले राजनीतिक विचार पनि त्यसबाट प्रवेश गरेको देखिन्छ। बन्दीपुर भनेको कम्युनिष्ट पार्टीको गण्डक प्रदेशको राजधानीको रूपमा थियो। त्यो विचारलाई ल्याउने काम व्यापारी कम्युनिष्टहरूले गरे। यध्येपी व्यापार गर्दा गर्दै पनि राजनीतिक चेतनाका कारण विचारलाई प्रवाह गरेका हुन्। सांगठानिक रूपमा भने अघि बढ्न सकेको थिएन।

बन्दीपुरे व्यापारी कसरी किन कम्युनिष्ट भए ?

किन भए भन्ने कुरा विचारको कुरा हो। बन्दीपुरमा हुदा कृष्णलाल दोस्रो महाधिवेशनमा केन्द्रीय सदस्य थिए। बन्दीपुर पहिल्यैदेखि नै राजनीतिक र बौद्धिक रूपमा थियो। साथै कांग्रेस प्रभाव पनि राम्रै थियो। एउटा पार्टीको विचार आउँछ, त्यहाँ सँगैसँगै अर्को पार्टीको विचार पनि आउँछ नै। कांग्रेसको प्रभाव भए पनि कम्युनिष्ट विचार आयो। केन्द्रको पुष्पलाल श्रेष्ठसँग नेवारहरूको सम्बन्ध भएका कारणले पनि बन्दीपुरमा कम्युनिष्ट विचार आयो।

बन्दीपुरबाट चितवन आउँदा व्यापार गर्ने क्रममा आफ्नो विचार पनि प्रचार विस्तार गर्दै आए। त्यसले पनि सांगठानिक स्वरूप धारण भने गरेको थिएन। जब पूण्यप्रताप राणा केन्द्रबाट (दोस्रो महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य) बसाइँसराइका क्रममा चितवन आए। केन्द्रमा वैकल्पिक केन्द्रीय सदस्य रहेको मान्छे स्थायी रूपमा नै बसोवास गरेपछि स्वाभाविक रूपमा संगठन विस्तार गर्ने भए, उनलाई व्यापारी कम्युनिष्टहरूले नै साथ दिए। उनले संगठनलाई भित्र्याउने काम गरे।

२०१५ सालको निर्वाचन भयो। निर्वाचनमा कम्युनिष्टहरूको सांगठनिक स्वरूप बनेको थिएन, तर निर्वाचनमा हारलगतै संगठन विस्तारका लागि लागे। २०१६ साल जेठमा चार जना मिलेर कम्युनिष्ट संगठन निर्माण भयो।

चितवनको कम्युनिष्ट इतिहास हेर्दा पूर्वी र मध्यचितवनभन्दा पश्चिम चितवन बढी कम्युनिष्टमय भयो

कम्युनिष्ट विचार प्रभावको कुरा गदै गर्दा पश्चिमभन्दा पूर्वचितवनमा पहिले भएको हो। किशोरचन्द्र ढुङ्गाना लाल कम्युनिष्ट पार्टीको सदस्य थिए। उनले पूर्वीचितवनमा थारूहरूलाई पहाडी भेगबाट आएका कर्मचारीका रूपमा आएकाहरूले पोषण गर्दै आएको घटनालाई लिएर प्रतिकार गरे।

स्वाभाविक रूपमा उनको विचारलाई गाउँलेहरूले मनपराए। त्यही क्रममा उनले कम्युनिष्ट विचारलाई अघि बढाउन खोजेको देखिन्छ। २०२८ सालमा झापामा जसरी व्यक्ति सफाया अभियान चल्यो, कृष्णचन्द्र ढुङ्गानाले पनि माढीमा एक जना थारु चौधरीलाई सफाया गर्ने योजना बनाएको पाइन्छ, त्यो जानकारी प्रशासनले चाल पाएपछि उनी भागे।

त्यसपछि उनले किन संगठन विस्तार गर्न चाहेनन् त्यो थाहा भएन। त्यसबेला विश्वबन्धु थापा चितवनमा आएर राजनीति गर्न थालेपछि कृष्णचन्द्र ढुङ्गानालाई पनि कांग्रेसको जिल्ला सचिव बनाए।

अब अघि कसरी बढ्ने भन्ने सन्दर्भमा केन्द्रमा जसरी कम्युनिष्ट पार्टी विभाजित भयो, त्यही रूपमा चितवनमा पनि चारवटा समूह देखियो। पञ्चायतले शक्ति सन्तुलनका लागि कांग्रेसको शक्तिलाई काउन्टर दिन कम्युनिष्टलाई प्रश्रय दिनुपर्ने अवस्था दियो। कम्युनिष्टलाई प्रश्रय दिइरहँदा सबै कम्युनिष्ट एकनासका भएनन्।

पश्चिममा कम्युनिष्ट विचार कसरी बढ्यो भन्दा, कांग्रेसको विचार पनि त्यही क्षेत्रबाट शुरु भएको थियो। यो क्षेत्रमा राप्ती उपत्यका विकास परियोजना बसोबास गराएको हो। नयाँ बसोबास गर्न आउनेहरू स्वाभाविक रूपमा सचेत हुने भए, मिश्रित समाजको विकास भयो। मिश्रित समाजको विकास भएपछि स्वाभाविक रूपमा नै राजनीतिक सामाजिक चेतना हुने स्वाभाविक भयो।

जति मिश्रित समाज पश्चिम चितवन भयो, त्यति पूर्वीचितवनमा हुन सकेन। पहाडमा एउटा सामन्तले बोलेपछि सबै चुप लाग्थे, त्यही परम्परा थियो। चितवनमा सबै समान भएपछि सबै बोल्ने अवस्था रह्यो। त्यो राजनीतिक चेतना अन्तभन्दा छिटो र सशक्त रूपमा भएको छ। त्यसको परिणाम हो, अरू जिल्लाभन्दा राष्ट्रिय राजनीतिमा चितवनको विचार अगाडि आएको छ।

२०६२-६३ सालको जनआन्दोलनपछि प्रचण्ड राष्ट्रिय नेताको रूपमा देखा परे। त्यसभन्दा अघि कुनै पनि व्यक्ति राष्ट्रिय व्यक्ति नभए पनि सबै पार्टीका मानिसहरू सशक्त हुनु, कोही ठूलो, कोही साना नहुनु त्यसले राष्ट्रिय स्तरमा पुग्न सक्ने रहेन।

पूर्वी र पश्चिम चितवनको विकास

पश्चिम चितवन पूर्व चितवन भन्दा बढी सशक्त छ। अहिलेसम्म जिल्लाको नेतृत्व एक पटक कृष्णचन्द्र ढुङ्गाना आए नत्र सधैं पश्चिम चितवनबाट नै नेतृत्व भएको देखिन्छ। त्यसैले पश्चिम चितवन पछाडि परेको देखिँदैन। जहाँसम्म यहाँको विकासको आधारलाई मान्ने हो भने, केन्द्रमा एउटाको पहुँच भयो भने बजेट ल्याउन सक्ने रहेछ, राजनीतिमा एउटाको मात्र पकड नहुँदा विकासको आधार बन्न सकेन। समाज सचेत भयो तर विकासका लागि बजेट पाउन सकेन।

२०४६ सालपछिको कम्युनिष्ट पार्टीको अवस्था 

२०१८ सालको आन्दोलन र त्यसले ल्याएको परिणामलाई हेर्नुपर्ने हुन्छ। २०१७ सालमा जब राजाले आफ्नो हातमा शासन हातमा लिए, संसद् विघटन गरेर। त्यसलाई लिएर कम्युनिष्ट पार्टीभित्र विभाजन आयो। मोहनविक्रम समूहले संसदीय व्यवस्था मानेन। संविधान सभाको माग गर्‍यो, अर्को तुलसीलाल समूह कांग्रेससँग नजिक हुन चाहेन। अतिवादी कम्युनिष्ट पनि हुन नचाहेको तर पुष्पलाल बाइपास गर्न खोजेको देखियो। त्यसको असर चितवनमा पनि देखिएको छ।

पुष्पलाल समूह कांग्रेससँग मिलेर संसद् पुनर्स्थापना गर्नुपर्छ भन्नेमा थिए। पूण्यप्रताप राणा त्यतिबेलाका सचिव, कांग्रेसले गल्ती गरेको थियो, कांग्रेस सरकार फालेको हो ठिक गर्‍यो भन्ने थियो। मनमोहन जोशीलगायत कांग्रेसले बेठीक गरेको थियो, दीपावली मनाएर कम्युनिष्ट पार्टीलाई फेरि पुनर्जीवित गर्नुपर्छ भन्नेतर्फ लागे।

अब अघि कसरी बढ्ने भन्ने सन्दर्भमा केन्द्रमा जसरी कम्युनिष्ट पार्टी विभाजित भयो, त्यही रूपमा चितवनमा पनि चारवटा समूह देखियो। पञ्चायतले शक्ति सन्तुलनका लागि कांग्रेसको शक्तिलाई काउन्टर दिन कम्युनिष्टलाई प्रश्रय दिनुपर्ने अवस्था दियो। कम्युनिष्टलाई प्रश्रय दिइरहँदा सबै कम्युनिष्ट एकनासका भएनन्। कतिपय राजाको आडमा बसेर कम्युनिष्ट भन्ने देखिए, कतिपय कांग्रेसभन्दा पञ्चायत नै ठिक हो भन्ने केही लचिलो देखिएका कांग्रेसविरुद्ध कु गर्ने, पञ्च पनि हुन नसक्ने त्यस्तो देखियो।

कोही पञ्चायतविरुद्ध पनि लागे। एकै पटक तीन–चार वटा जिल्ला कमिटीमा देखापर्‍यो। यीमध्ये आफू कम्युष्टि प्रगतिशील भन्ने, आफ्नो संगठनको गोपनीयता राख्ने, प्रशासनले हेर्दा यिनीहरू कम्युनिष्ट हुन्, यिनीहरूले कांग्रेसलाई ठिक पार्छन्, यिनीहरूलाई प्रश्रय दिनुपर्छ भन्ने पनि पार्ने, प्रशासनले यी कम्युनिष्टहरू कडा छन् यिनीहरूलाई निगरानी गर्नुपर्छ भन्ने दृष्टिकोण राख्दै गयो। तर तल्लो तहको जनताले सबै बुझ्न सकेनन्।

कम्युनिष्ट खुला रूपमा पनि थिए, वीरेन्द्र क्याम्पसमा कम्युनिष्टको राजनीति गर्थे, प्रशासनको रोक थिएन। तर त्यतिबेला कांग्रेसलाई सानो पर्चा पनि प्रकाशन गर्न नपाउने अवस्था थियो। कांग्रेसले खुला रूपमा संगठन विस्तार गर्न नसक्दा तीन चार वटा समूहमा देखिएका कम्युनिष्टहरूले संगठन विस्तार गर्ने अवसर प्राप्त गरे।

२०३६ र २०४६ सालसम्मको चितवन कम्युनिष्ट आन्दोलन

२०३६ सालको आन्दोलन काठमाडौंबाट शुरु भयो। त्यसको प्रभाव चितवनमा पनि पर्‍यो। विद्यार्थी नेताहरू चितवन आए। शुरुमा वीरेन्द्र क्याम्पसबाट शुरु भएको थियो। काठमाडौंमा पनि सबै कम्युनिष्ट विद्यार्थीहरू २०३६ सालको आन्दोलनलाई एउटै थिएन।

संघर्ष समिति बन्दा नेविसंघ, पुष्पलाल समूहको विद्यार्थी मोर्चाको संयुक्त बन्यो। आन्दोलन बढ्दै गएपछि अरू संगठनको समर्थन भयो तर उनीहरू संघर्ष समितिभित्र रहेनन्। जब विद्यार्थी आन्दोलन एउटा सम्झौतामा टुंगियो, त्यसको फाइदा संघर्ष समितिमा नरहेको विद्यार्थी संगठनले लिए। त्यसको अभियान चितवनमा पनि भयो। शुरुको अवस्थामा विद्यार्थी संगठनबीच द्वन्द्व भयो।  सम्झौता भयो, क्याम्पस खोल्ने/नखोल्ने सन्दर्भमा।

आन्दोलन गर्दा सबै अघि बढे, एउटै संघर्ष समितिमा नरहे पनि चितवनमा अलग अलग समूह संगठनको विचार भए पनि आन्दोलनको माहोलमा कसैको विरोध भएन। तर आन्दोलन कसरी टुंगोमा पुर्‍याउने, भन्ने विषयमा विवाद भयो। विवाद भएपछि जनमतसंग्रह घोषणा भएपछि विद्यार्थी आन्दोलन टुंगियो। यो आन्दोलनलाई हेर्ने दृष्टिकोणमा जब पार्टीबीच नै भिन्नता देखियो। त्यसको असर चितवनमा पनि देखियो।

कम्युनिष्ट पार्टीहरूले जनमतसंग्रहलाई कसरी लिएका थिए भन्ने हेर्नुपर्ने हुन्छ। चौथो महाधिवेशनले शुरुमा बहिष्कार भन्यो। त्यसको एक डेढ महिनापछि शर्तसहित स्विकार गर्ने भन्यो। जनमतसंग्रहलाई निर्मल लामाले स्विकार गर्ने भन्ने र वक्तव्य निकालेपछि उनलाई कारबाही भयो।

मनमोहन, मोहन विक्रममा जनमतसंग्रह धोका हो भन्ने थियो। एक डेढ महिना-एक डेढ महिनाबीचमा नै कहिले स्विकार गर्ने, कहिले स्विकार नगर्ने भन्दै निर्णयहरू परिवतर्न भए। त्यसको असर चितवनमा पनि पर्‍यो।

२०३५ सालमा माले पनि त्यस्तै अवस्था आयो। चितवनमा भर्खर संगठन निर्माणको अवस्थामा उसले पनि जनमतसंग्रह धोका हो भन्यो। २०३७ साल वैशाख ५ गते माले पनि चितवनमा पनि विभाजित भयो, केन्द्र जस्तै। त्यति बेलाको सचिव, नरबहादुर खाँड बहुदलको पक्षमा लागे, बहिष्कार भन्दै हिँड्नु हुदैन भन्नेमा लागे।

अरु बहिष्कारको पक्षमा लागे। रूपलाल विश्वकर्मा समूह शुरुदेखि नै बहिष्कारको पक्षमा थियो। रूपलाल नेपाल मजदुर किसान पार्टीमा थिए। बिजुक्छेले जनमतसंग्रह जनताको अभिमत जान्ने ब्यारोमिटर हो, यसलाई उपयोग गर्नुपर्छ भने। विश्वकर्माले चै बहिष्कार भने।

चितवन जिल्ला संगठन यिनको प्रभाव थियो। जिल्ला संगठनको अध्यक्ष पनि थिए। बिजुक्छे गोरखपुरमा थिए, यहाँको रिपोटिङ नगर्ने, उताको रिपोटिङ नगर्ने। यहाँ चै बहिष्कारको नारा दिने गरी गुमराहामा राखे।

उनीहरूबीच पनि एउटा शक्तिको रूपमा गठबन्धन भयो। संयुक्त रूपमा अघि बढ्नुपर्छ भन्ने संयुक्त राष्ट्रिय जनआन्दोलन गठन भयो। केन्द्रमा भएको गठन भएको सन्देश चितवन आउन नपाउँदै आन्दोलनको तयारीका क्रममा त्यतिबेला प्रशासनले धरपकड गरिसकेको थियो। त्यो क्रममा वाममोर्चामा नभएका कम्युनिष्टहरू पनि लुक्न बाध्य भए।

रूपलाल समूहले घटाएको घटना पत्रपत्रिका आएको थाहा पाएपछि बिजुक्छेले गोहितलाई पठाएर वस्तुस्थिति बुझेपछि सबै संगठन बहिष्कारतर्फ लागेको थाहापाएपछि बिजुक्छेले समानान्तर कमिटी गठन गराए। समानान्तर कमिटीले जनमत स्विकार गरेको छ। रूपलाल समूहले बहिष्कार भनेको छ।

यसरी हेर्दा कम्युनिष्ट संगठनबीच स्पष्टता आउन सकेन। कम्युनिष्टहरूको भूमिकामा जनताहरू भ्रमित अवस्थामा थिए। हुन त त्यति बेला बहुदलको पक्षमा बुहमत आयो। तर पनि जति अपेक्षा गरेका थिए, त्यति आउन सकेन। निर्दलको पक्षमा पनि सम्मानजनक भोट प्राप्त गरेको थियो। यही जनमतसंग्रलाई कसरी लिने भन्ने विषयमा दलहरूले आत्मआलोचना गरे।

२०४६ सालको जनआन्दोलनमा वामपन्थी एकाकर भएको देखिन्छ। काठमाडौमा वाममोर्चा गठन हुनुभन्दाअघि सबै कम्युनिष्ट नेताहरूलाई बोलाएर आन्दोलनमा सहयोग गर्नुहोस्, सक्नुहुन्न विरोध नगर्नुहोस् भनेपछि संयुक्त आन्दोलन गर्ने सहमत भयो।

त्यसका लागि सात वटा वाम घटकहरूको मोर्चा बन्यो। तर प्रचण्ड, बाबुराम भट्टराई, रूपलाल विश्वकर्मा, मोहनविक्रमको संगठन त्यतिखेर वाम मोर्चामा रहन चाहेन। भारतले नाकाबन्दी लगाइरहेको बेला आन्दोलन गर्नुभनेको राष्ट्रघात हो भन्ने थियो। तर त्यति भने पनि आन्दोनको माहोल बन्दै गएपछि वाममोर्चामा बाहिर बसेका कम्युनिष्टहरू पनि आफ्नो रणनीतिलाई पुनर्विचार गर्न बाध्य भए।

उनीहरूबीच पनि एउटा शक्तिको रूपमा गठबन्धन भयो। संयुक्त रूपमा अघि बढ्नुपर्छ भन्ने संयुक्त राष्ट्रिय जनआन्दोलन गठन भयो। केन्द्रमा भएको गठन भएको सन्देश चितवन आउन नपाउँदै आन्दोलनको तयारीका क्रममा त्यतिबेला प्रशासनले धरपकड गरिसकेको थियो। त्यो क्रममा वाममोर्चामा नभएका कम्युनिष्टहरू पनि लुक्न बाध्य भए।

प्रशासनले चिनेको थिएन, कुन आन्दोलनमा छ/कुन छैन भन्ने। त्यही क्रममा उनीहरू पनि लुकिछिपी हिँड्दै गर्दा, चितवनका वामघटकहरूले केन्द्रको जस्तै जनआन्दोलन समिति गठन सकेका थिएनन्। तर पनि आन्दोलनको अभियानमा भने सबै लागे।

२०४६ पछि चितवनमा कम्युनिष्ट आन्दोलन 

२०४८ सालमा चितवनमा कम्युनष्टिहरूबीच एकता भयो। एकता भएपछि पनि कांग्रेसविरुद्ध लड्न सकिँदैन भनेर कार्यकताहरूले नेताहरूलाई घेराबन्दी गरे। कार्यकर्ताको दबाबपछि संयुक्त उम्मेद्वारी दिने सहमति भयो। तर नेताहरू कांग्रेससँग सहकार्य गरेर जान चाहेका थिएनन्।

संयुक्त भएपछि निर्वाचनमा तीनवटै सिट कम्युनिष्टले जित्यो। २०५१ सालको निर्वाचनमा एकातरि मोटो मशाल, पातलो मसाल मिलेर एकता केन्द्र बनेको थियो। प्रचण्ड निर्वाचन बहिष्कार गर्ने र निर्मल लामाहरू निर्वाचनमा सहभागी हुने भएपछि चितवनमा कम्युनिष्ट छिरोलिल्ने अवस्था आयो। त्यसले चार सिटमा २ कांग्रेस र २ सिट कम्युनिष्टकै भयो।

२०५६ सालमा निर्वाचन हुँदा माओवादी जनयुद्ध पनि थियो, एमाले विभाजित अवस्थामा थियो। एकता केन्द्रभित्र पनि विवाद आइरहेको थियो। त्यसको परिणाम चितवनको चार वटै निर्वाचन क्षेत्र कम्युष्टिले गुमाउन पुग्यो। कांग्रेसले जित्यो। चितवनको राजनीति के छ भने अधिकांश सत्ताको विपक्षमा देखिएको छ। सत्तामा रहेकालाई जनताले मनपराइरहेको अवस्था देखिँदैन। किनकि जनताले परिणाम खोजिरहेका छन्।

एमाले विभाजनपछि अबको निर्वाचनमा त्यसको प्रभाव

राजनीति शुद्ध हुन सकेन। हरेक पार्टीको पहिचान स्पष्ट रहेन सकेन। गठबन्धनले गर्दा कुन पार्टीको धरातल के छ भन्ने देखिने अवस्था छैन। सम्भवत अबको निर्वाचनमा कुनै कुनै संगठनबीच तालमेल हुन सक्छ। तालमेल भयो भने कुन कति धरातलमा छ भन्ने थाहा छैन। हुन त समानुपातिक दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ। कांग्रेसको पहिले देखिएको मत र कम्युनिष्टबीच तात्विक मत फरक नभए पनि सिटमा भने फरक परेको छ। त्यसैले अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन।

(प्राडा राजेन्द्र रेग्मी चितवनस्थित वीरेन्द्र क्याम्पसमा इतिहास प्राध्यापन गर्थे। ‘नेपालको कम्युनिष्ट आन्दोलन र चितवन’ नामक पुस्तक प्रकाशित गरेका रेग्मीले सोही शीर्षकमा शोधकार्य गरेका छन्। उनीसँग नेपालभ्यूजका पुरुषोत्तम पौडेलले गरेको कुराकारीनमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved