आएन मल, खनजोत गरेर राखे पनि गहुँ छर्न सकेनन्

आएन मल, खनजोत गरेर राखे पनि गहुँ छर्न सकेनन्

कैलाली। सुदूरपश्चिममा समयमा रासायनिक मल आपुर्ति नहुँदा किसानले वर्षैपिच्छे सास्ती खेप्नुपरेको छ। यस वर्ष पनि जग्गा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको छ।

गहुँ छर्ने समय घर्किनै लाग्दासमेत मल नपाउँदा कैलाली कञ्चनपुरका किसानले गहुँ छर्न पाएका छैनन्। पश्चिम तराईका जिल्लामा कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ। मल अभाव हुँदा किसानले मंसीरको पहिलो हप्ता बितिसक्दा समेत गहुँ छर्न पाएका छैनन्। यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ।

कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि मल अभाव हुँदा किसानले खेत जोत्न सकेका छैनन्। किसान रामकृष्ण चौधरीलाई गहुँ छर्न आवश्यक पर्ने मल खोज्दै धनगढी धाउन थालेको महीना दिन बितिसक्यो।

एक महीनादेखि चौधरी धनगढीमा रहेको कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र निजी कृषि एग्रोभेटहरूमा धाइरहेका छन्। तर मल पाइएको छैन। मल नपाएकै कारण उनले जोतेर ठीक्क पारेको करिब एक बिघा क्षेत्रफलको खेतमा गहुँ छरेका छैनन्।

सरकारले अनुदानमा दिने मल आपूर्ति नगरिदिँदा किसानलाई ठूलो मर्का परेको छ। चौधरीजस्तै सयौं किसान मलका लागि दिनहुँ धनगढीमा रहेको कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र निजी कृषि एग्रोभेटहरू धाइरहेका हुन्छन्।

यस्तै धनगढी फूलबारीका किसान झलक दवाडी मलका लागि मल बिक्रेता केन्द्रमा सधैं पुग्ने गरेका छन् उनले हप्तादिन धाउँदासमेत मल नपाएपछि मल पाउने आशा नै मारिसकेको सुनाए।

धनगढी उपमहानगरपालिका-६ का किसान खुसीराम चौधरीको दैनिकी पनि मल खोज्नमै बितेको छ। तर अहिलेसम्म मल पाएका छैनन्। मल नपाएकै कारण करीब तीन बिघा क्षेत्रफलको खेत जोत्न पनि बाँकी नै रहेको उनी बताउँछन्।

“मलका लागि धाउन थालेको झण्डै एक महीना बितिसक्यो तर अहिलेसम्म पाउन सकेको छैन,” चौधरीले भने। चौधरी मलकै लागि स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश सरकारका मन्त्रीसम्म गुहारिरहेका छन् तर पाउने छाँटकाट अझै देखिएको छैन।

मल आपूर्ति गर्ने जिम्मा लिएका कृषि सहकारी संस्थाहरू पनि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले ढुवानी गर्न नसकेको भन्दै दिक्क छन्। एक सय ८ जना किसान आबद्ध गोदावरी नगरपालिका-९ मा रहेको जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष बुधराम चौधरी भदौदेखि मलको लागि धाइरहेको बताउँछन्।

‘किसानहरूले मल आपूर्ति गर्न नसकेको भनेर हामीलाई गाली गरिरहनुभएको छ, किसानकै लागि भनेर भदौदेखि धनगढी धाइरहेको छु,” अध्यक्ष चौधरीले भने, “तर भोलि पर्सि भन्दाभन्दै टार्ने गरिएको छ। तर बजारमा दुई नम्बरी मल छ्यापछ्यापी कारोबार भइरहेको छ।”

तर सरकारले अनुदानमा किसानलाई उपलब्ध गराउने मल वितरण गर्ने जिम्माा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले भने भैरवाहबाटै ढुवानी नभएका कारण समस्या भएको बताइरहेका छन्।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा मागको ७० प्रतिशत आपूर्ति गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी धनगढीका निमित्त प्रमुख रुपबहादुर कुँवरले भैरवाहको प्रादेशिक कार्यालयले ढुवानी नगरिदिँदा समस्या भएको सुनाए।

“हामीले साउनदेखि नै पटक-पटक भैरवाहको प्रादेशिक कार्यालयलाई ताकेता गर्दै आएका छौँ,” कुँवरले भने, “तर अनेक कारण देखाएर अहिलेसम्म मागअनुसारको मल ढुवानी गरिएको छैन। अब हामी किसानलाई भैरवाह नै पठाउने सोचमा छौँ।”

उनका अनुसार सुदूरपश्चिममा पाँच हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्ने हो तर अहिलेसम्म ८४ टन डीएपी मल मात्रै वितरण गर्न सकिएको छ।

बाँकी रहेको ३० प्रतिशत मलको आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले पनि भैरवाहबाटै मल नपठाइएका कारण समस्या भएको दाबी गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशव पाण्डे भन्छन्, “भैरवाहबाटै मल आइरहेको छैन। अलिअलि आइरहेको युरिया किसानलाई वितरण गरिरहेका छौँ तर अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले डीएपी तत्काल आउने सम्भावना छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved