आत्महत्या घटाउन मिडियाले के गर्न सक्छन् ?

औसतमा एक आत्महत्याले ६ वा सोभन्दा मानिसलाई आत्महत्याका लागि दुरुत्साहन गर्ने अध्ययनले देखाएका छन्।

आत्महत्या घटाउन मिडियाले के गर्न सक्छन् ?

काठमाडौं। पँहेलो प्यान्ट र नीलो ज्याकेटमा चिटिक्क परेर हिँड्ने वर्थेर एउटी महिलालाई प्रेम गर्थ्यो। महिलालाई पाउनका लागि अनेक दु:ख गरेको उसको प्रेम प्रस्ताव ती महिलाले अस्वीकार गरेपछि अन्तत: उसले पेस्तोलले आफैलाई गोली हानेर आत्महत्या गर्‍यो।

जर्मन लेखक जोन वल्फग्यांग भोन गोथेको उपन्यास ‘द सोरोज अफ योङ्ग वर्थेर’ (जवान वर्थेरका दु:ख) को यो कथालाई मिडिया र आत्महत्याको सम्बन्ध उल्लेख भएको पहिलो उपन्यासका रुपमा लिइन्छ। उक्त उपन्यास सार्वजनिक भएपछि उपन्यासको दुखान्त अन्त्यले  चरम निराश युवाहरूले आत्महत्या गरेको रिपोर्ट सार्वजनिक भए।  जसकारण उक्त पुस्तकमाथि नै प्रतिवन्ध लगाइयो। यसैले यसैले ‘वर्थर प्रभाव’ शब्दलाई प्राविधिक साहित्यमा सोही प्रकृतिका आत्महत्याका घटनालाई जनाउन प्रयोग गरिन्छ। यो शब्द दुई शताब्दीपछि अर्थात् सन् १९९४ मा शोधकर्ता डेभिड फिलिप्सले प्रयोग गरेका थिए।

आत्महत्या कमजोर मानसिक स्वास्थ्यको सूचक हो। विश्वमा धेरैले मृत्यु आत्महत्याबाट हुने गरेको छ। २०७६ सालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ६.५ प्रतिशत वयस्क मानिसमा आत्महत्याको सोच आउने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। २०७७ सालको एक रिपोर्ट अनुसार नेपालमा दैनिक आत्महत्यादर औसतमा १९ जना थियो। आत्महत्याको बढ्दो प्रवृत्तिलाई रोक्न र उल्टाउन असफल भएमा नेपालले दीगो विकास लक्ष्य हासिल गर्न सक्दैन।

धेरै अध्ययनमा प्रयोग हुने सान्ड्रा जे क्लार्कको सन् २००१ मा प्रकाशित शोधपत्रमा आत्महत्याले मृत्यु हुनेलाई मात्रै नभएर जीवित व्यक्तिलाई पनि त्यत्तिकै प्रभाव पर्ने कुरा सशक्त रुपमा उठाइएको छ। ‘आत्महत्या गर्ने व्यक्ति त एक पटक मर्छ तर उसको पछाडिका डरलाग्दो पलहरूलाई पुनः जिउन खोज्दै र किन यस्तो हुन्छ भनेर बुझ्न खोज्दै हजारौंको मृत्युको कारण बन्छ,’ शोधपत्रमा उल्लेख छ।

औसतमा एक आत्महत्याले ६ वा सोभन्दा मानिसलाई आत्महत्याका लागि दुरुत्साहन गर्ने अध्ययनले देखाएका छन्। आफूले अति माया गर्नेलाई गुमाएर शोकमा हुनेहरू यसमा बढी प्रभावित हुनेछन्। यति मात्र होइन, आत्महत्याका लागि प्रभावितहरूले आत्महत्याको बारेमा सोच्ने, योजना बनाउने वा प्रयास गर्ने जोखिम हुन्छ। यसरी यसले उनीहरूको पीडा र संघर्षको प्रभावलाई अझ बढाउदै लगिरहेको हुन्छ।

विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथाम गर्न लाइभ लाइफ विधि कार्यान्वयन गर्नको लागि विस्तृत निर्देशिका जारी गरेको छ। यस निर्देशिकामा सिफारिस गरिएका चार रणनीतिमध्ये एउटा आत्महत्याको जिम्मेवारपूर्ण रिपोर्टिङमा मिडियालाई शिक्षित गर्ने रहेको छ।

दुर्भाग्यवश, आत्महत्यासँग सम्बन्धित विषयवस्तुको सुरक्षित रिपोर्टिङ सम्बन्धी स्थानीय मिडिया निर्देशिकाको बारेमा प्रेस, मानसिक स्वास्थ्यकर्मी, र आत्महत्या सम्बन्धी व्यवहार भोगेका व्यक्तिहरूबीच सचेतनाको स्तर न्यून रहेको पाइन्छ।

आत्महत्याको रिपोर्टिङ अभ्यासमा सुधार गर्न र आत्महत्याको धारणा कम गर्न मिडिया निर्देशिकाको प्रभावकारिताको वारेमा वैज्ञानिक साहित्यमा पर्याप्त प्रमाणहरू छन्। निर्देशिकाको विकास वा लेखनमा कुनै मिडियाकर्मी संलग्न छैनन् भने यसको पालना गर्न उनीहरू उत्प्रेरित नहुन सक्छन्। वोहन्ना र वाङले सन् २०१२ मा गरेको वृहत् समीक्षाले मिडिया निर्देशिकाको प्रभावकारिताको लागि मिडिया समुदायको समर्थन, परामर्श र सहयोग, अर्थात् अर्को शब्दमा भन्नुपर्दा, ‘‘मिडियाको अपनत्व’ आवश्यक पर्ने संकेत गर्छ।

मिडिया र स्वास्थ्यसम्बन्धी कार्यशालाहरूको स्वरूप निर्धारण गर्दा प्रायः मिडिया आफैबाट गरिने स्वनियमनले मानसिक स्वास्थ्यमा अव्यवसायिक रिपोर्टिङको समस्याहरू समाधान गर्नेछ भन्ने मान्यता राखिने गरिएको छ। मिडिया र मानसिक स्वास्थ्यकर्मीबीच निरन्तर सहकार्यको महत्वको बारेमा क्यानेडियन साइकियाट्रिक एसोसिएसनको सुझाब महत्वपूर्ण छ।

उक्त सुझाब अनुसार रिपोर्टिङले पार्ने असरलाई स्वीकार्नुपर्छ भने असुरक्षित स्वायत्ततालाई पनि मान्यता दिनपर्छ। यसमा दुवै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य नीति निर्माताहरू र मिडियाकर्मीहरूले आपसमा सहकार्य गर्दै नियमित, वारम्बार र निरन्तर संवादलाई अघि बढाउनुपर्ने हुन्छ। यहाँ धुलिखेलमा हुन लागेको बैठकले यो सहकार्यलाई सहजीकरण गर्नेछ।

अस्ट्रिया र अष्ट्रेलियामा, आत्महत्या रिपोर्टिडका निर्देशिकाको विकास, प्रचारप्रसार र तालीम प्रक्रियाहरूमा मिडिया क्षेत्रको संलग्नताले रिपोर्टिङ अभ्यासहरू परिवर्तन गर्न र आत्महत्याको अनुकरणलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यसको विपरित, मिडियाकर्मीको रायसुझाव विना मिडिया निर्देशिका विकास गरिएका देशहरूमा यसप्रतिको सहयोग र सहभागिताको स्तर न्यून रह्यो, र यसैले रिपोर्टिङ गुणस्तर न्यून नै रह्यो।

हाम्रो प्रारम्भिक प्रशिक्षणको क्रममा, हामी स्वास्थ्यकर्मीले कुनै हानि नगरौं भन्ने एउटा महत्वपूर्ण सिद्धान्त सिक्छौं। त्यसैगरी, पत्रकारिताको नैतिक आचरणको एउटा मूलभूत मान्यता जनहितको प्रवर्द्धन गर्ने भन्नेबाट सवै मिडियाकर्मी प्रेरित रहेका हुन्छन्। यी भनेका हाम्रा मेल हुने विन्दु र सम्भवतः नेपालमा आत्महत्या न्यूनीकरणमा हाम्रो सहकार्यको शुरुवाती विन्दुहरू हुन्।

तथ्य तोडमोड नगरिकन मिडियामा प्रयोग हुने शब्दावली, दृष्टिकोण तथा स्थानीयकरणलाई ध्यान दिएर आत्महत्या सम्बन्धी समाचारको रिपोर्टिङ सुरक्षित भएको सुनिश्चित गर्नुपर्छ।

यसबाहेक, आत्महत्यासंग सम्बन्धित समाचारहरूमा रोकथाम–केन्द्रित रिपोर्टिङको अत्यन्तै आवश्यकता छ, अर्थात् संकटको समयमा मद्दत खोजिने स्रोतहरूबारे घटनामा सान्दर्भिक जानकारी समावेश गर्नुपर्छ र आत्महत्याको भावनात्मक सहयोगको व्यवस्था हुनुपर्छ। मानसिक स्वास्थ्यकर्मी र पत्रकारबीचको सहकार्यले आत्महत्या म्बन्धी समाचारको सुरक्षित रिपोर्टिङ गर्ने कुरामा सम्पादकीय निर्णयहरूलाई समेत प्रभाव पार्न सक्छ।

सामाजिक सञ्जालले कसरी कार्य गर्दछ भन्नेमा हामी सबै केही हदसम्म नयाँ छौं र सिकिरहेका छौं। सामाजिक सञ्जालहरूमा हुने असुरक्षित रिपोर्टिङ मानसिक स्वास्थ्यका लागि बढ्दो चुनौती हो। सामाजिक सञ्जालले अफवाह र गलत जानकारीलाई कति चाडो मूलधारमा प्रवाह गर्न सक्छ भन्ने एक उदाहरण हाम्रै सामुन्ने रहेको कोभिड-१९ महामारी नै पनि हो। मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने सहकर्मीसँगको छलफलमा मिडियाले नेपालको सन्दर्भमा यस चुनौतीलाई सम्बोधन गर्ने विशेष उपाय पत्ता लगाउनसक्छ।

मोजार्टको ओपेरा ‘द म्याजिक फ्लुट’मा पापाजेनोले आफ्नी प्रेमिका गुमाएको ठानेर आत्महत्या गर्ने योजना बनाउँछ। तर अन्तिम क्षणमा उसलाई मृत्युको विकल्पको ज्ञान हुन्छ। वैकल्पिक बाटो रोज्छ।

आत्महत्याको बारेमा मिडियाको जिम्मेवारपूर्ण रिपोर्टिङले सकारात्मक प्रभाव पार्छ, जसलाई वैज्ञानिक साहित्यमा ‘पापाजेनो प्रभाव’ भनिन्छ। मिडियाले आत्महत्या र मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिएमा ‘पापाजेनो प्रभाव’ प्रशस्त देखिने र आत्महत्यमा व्यापक कमी आउनेमा म विश्वस्त छु।

(विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख  डा. पाण्डवले धुलिखेलमा आयोजित आत्महत्यासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा राखेको विचार)


Comment

One thought on “आत्महत्या घटाउन मिडियाले के गर्न सक्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved