नियात्रा

‘संसारकी देवी आमा’को काखमा पुग्दा

आफ्नै आँखाले यति नजिकबाट यति विशाल, यति स्निग्ध, शान्त र सुन्दर सगरमाथाको दर्शन गर्दा केहिबेर आवाज नै निस्केन। एकोहोरो टोलाएर मात्र हेरिरहेँ। केही बोल्ने शब्द नै थिएन र साहस पनि। एकछिनमा आँखा यत्तिकै रसाएर आए।

‘संसारकी देवी आमा’को काखमा पुग्दा

‘जिन्दगीको अन्त्यतिर पुग्दा तिमीले कार्यालयमा कति समय बितायौ वा बगैँचामा घाँस काट्न कति समय खर्च्यौं, त्यसको केही सम्झना आउने छैन। त्यसैले आजैदेखि पहाड चढ्न शुरु गर।’

घुमन्ते बन्न प्रेरित गर्ने अमेरिकी उपन्यासकार ज्याक केरौकको यो भनाइ अनुशरण गर्दै हिँड्दा एकपटक चोमोलोङ्‌मा तलतिरका पहाड चढ्ने मौका मिल्यो। चोमोलोङ्‌मा अर्थात नेपालले दिएको नाम सगरमाथा र विदेशीका लागि माउन्ट एभरेष्ट। चोमोलोङ्‌मा भने आदिम कालदेखि सगरमाथाको फेदी वरिपरि बस्ने मानिसहरूले दिएको नाम हो। जसको अर्थ हुन्छ ‘संसारकी देवी आमा’।

एक विदेशीको सहयात्री भएर सगरमाथा आधार शिविरतिर पुग्दा त्यो यात्रा जिन्दगीका केही थोरै उपलब्धि मध्येको एक बन्यो।

सगरमाथा आधार शिविरको पदयात्रा ‘एभरेष्ट बेस क्याम्प ट्रेकिङ’को नामले विख्यात छ। संसारमै सबैभन्दा प्रख्यात, रोमाञ्चक र साहसिक पदमार्ग मध्ये एकमा पर्ने अविष्मरणीय पैदल यात्रा हो यो । जसको लक्ष्य सगरमाथाको फेदमै पुगेर विश्वको सर्वोच्च शिखरलाई नमन गर्नु हो।

यात्राको शुरुआत भने उडेर पो गर्नुपर्ने रहेछ । एभरेष्ट बेस क्याम्प ट्रेकिङका लागि पहिले काठमाडौंबाट बिहानै करिब आधा घण्टाको हवाई यात्रा गरियो । संसारकै सबैभन्दा खतरनाक विमानस्थल मानिने तेन्जिङ हिलारी विमानस्थलसम्म।

चरा जत्रो विमानभित्र बसेर अग्लाअग्ला टाकुराका बिचबाट गाइने किरो उडेसरी उड्दा र बेलाबेलामा बादलभित्र लुकामारी खेल्दा नै मुटुले ढ्याङ्ग्रो ठोक्न थालिसक्छ।

लुक्लामा अवतरण गर्नुअघि त्यो विमाने चराले लामजुरा पहाडको भन्ज्याङ कटेपछि हावाले हल्लाउँदा र केही सेकेण्ड ‘फ्रि फल’ गर्दा विमानमा नेपालीहरू रैछन् भने ‘राम-राम’ भन्न थालिहाल्दा रै’छन्। त्यसपछि पहाडको काखमा बनेको भिरालो रनवेमा विमान बस्दा फेरि एकपटक धेरैको हंसले ठाउँ छोड्छ।

हुन पनि पहिलोचोटि जानेलाई निकै खतरनाक नै लाग्छ लुक्लास्थित हिलारी विमानस्थल। मलाई पनि पहिलोपटक पुग्दा यस्तै लागेको थियो। तर साहसिक काम गर्न मन पराउने ‘माउन्टेनर्स’ र ‘ट्रेकर्स’हरूका लागि यो खतरनाक विमानस्थल होइन रहेछ। यसलाई त उनीहरूले ‘वल्र्ड एडभेन्चर्स एयरर्पोट’ को संज्ञा दिँदा रहेछन्। जसले उनीहरूलाई डरभन्दा बढी रोमाञ्चित गराउँदोरहेछ।

लुक्लामा ओर्लनेवित्तिकै हिमालबाट आएको हिउँको चिसो श्वासले स्वागत गरिहाल्यो। वरिपरि नजिकै सेता हिमाल देखिन थालेपछि आफू साँच्ची नै ‘एभरेष्ट बेस क्याम्प ट्रेकिङ’ मै जान लागेको हो भन्ने विश्वास भयो।

एकछिन अघिसम्म आकासमा उडिरहेका हामी जमिनमा ओर्लनेवित्तिकै आ-आफ्नो पोका पन्तुरा बोकोर हिँड्न थालिहाल्यौं, लुक्लादेखि एभरेष्ट बेस क्याम्पसम्मको करिब ६२ किलोमिटरको पदयात्रामा। त्यहाँबाट फेरि लुक्ला नै फर्किने बाटोको त हिसाब नै गरिएको छैन। हामीलाई करिब दुई हजार आठ सय ४६ मिटरको उचाइमा रहेको लुक्लाबाट पाँच हजार तीन सय ६४ मिटरको उचाइमा रहेको बेस क्याम्पसम्मको बाटो नाप्नु थियो।

लुक्लाबाट ओर्लेदेखि नै बेग्लै संसारमा पुगेको भान हुनथाल्छ। हिंड्ने बाटाका दुवैतर्फ रहेका पुराना शैलीका आधुनिक घरमा विदेशी ‘टुरिष्ट’का लागि केन्द्रित सामानका राम्रा पसलको लाइन छ। जसमा सामान्य लुगादेखि हिमाल चढ्न र ट्रेकिङ गर्न चाहिने विशेष चिजबिजसम्म सबै पाइन्छ।

सफा बाटोमा विदेशी पर्यटकको हुलका बीचमा हिँड्दा बेग्लै अनुभूति हुन्छ। बिस्तारै लुक्ला बजारलाई पछि छाड्दै स्थानीय गाउँ हुँदै जाने ‘ट्रेकिङ ट्रेल’लाई पछ्याउँदै हामी पहिलो दिनको गन्तव्य फाकदिङतर्फ लाग्याौँ।

बाटोभरि वरपर डाँडा, पहाड, जङ्गल, झरना, नदि, गुम्बा, चैत्य र खेतबारीको बान्की पालैपालो आउँथे। जसले समय कटेको र हिँडेको पत्तै हुने थिएन।

पहिलो दिनको बाटो खासै गाह्रो पनि थिएन। कहीँ उकालो, कहीँ ओरालो र कहीँ सम्मो। त्यसमाथी पहिलो दिनको जोश अलि बढी नै थियो। नेपालभरिको ट्रेकिङ ट्रेलमा सबैभन्दा व्यवस्थित पैदलमार्ग भएको ट्रेलमा पर्छ एभरेष्ट बेस क्याम्प। जहाँका प्राय बाटाहरू सम्भव भएसम्म उकालो ओरालोमा पनि ढुङ्गा छापिएको राम्रा र फराकिला नै थिए। तर जब डाँडाकाँडा र भिरमा चट्टान काटेर बनाइएको साँघुरो र ठाडो बाटो भेटिन्थ्यो तब त बल्ल ट्रेकिङ हिँडेको जस्तो लाग्थ्यो।

बाटोभरि चौरी र खच्चडका ताँती भेटिन्थ्यो। जसले थिन्ले लोन्दुपको ‘क्याराभान’ फिल्मको झझल्को दिन्थ्यो। यी जन्तुका डँडाल्नोको दुवैतिर हामीजस्ता धेरै घुमन्तेको सेवामा प्रयोग हुने सामानको भारी लादिएका थिए। उनीहरूको टाउको सधैँ भारीको बोझले तलतिर निहुरिरहेको हुन्थ्यो तर खुट्टाको लक्ष्य सधैं माथीतिर उक्लने मात्र।

गन्तव्यको त सायद तिनलाई पत्तो नहोला तर पनि गह्रौ भारी बोकेर अनवरत रूपमा बिस्तारै उकालो चढिरहन्थे। भारी पुर्‍याएर फर्केका भने यति स्वच्छन्द भएर माथीबाट तल ओरालो तिर कुद्थे, लाग्थ्यो वर्षाको खहरे उर्लेको हो। आफैले जानेर बाटो नछोड्ने हो भने त हामी जस्ता बटुवालाई खहरेले बाटोमा आउने सबै चिजलाई बढारे जस्ते बढार्थे तिनीहरूले।

उकालो चढ्दा होस् या ओरालो झर्दा ज्यान जोगाउनु छ भने ती जनावरका घाँटीमा झुण्डाइएका घण्टीको आवाज सुन्ने बित्तिकै बाटोको भित्तातिर लागेर उनीहरूलाई छोड्दिनुको अर्को विकल्प छैन। साँघुरो बाटोमा डँडाल्नोको दुवैतिर पहाड जस्तो गरि बाँधिएका भारीले पुरै बाटो ढाक्छन्। कुइनेटो लाग्दालाग्दै पनि धेरै पटक चौरी र खच्चडका भारीको ‘ड्यास’ खाइयो। बाटोको भित्तातिर बस्दा ‘ड्यास’ नै खाए पनि ज्यान धरापमा पर्दैन।

यो बाटो सबैको हो भन्दै जोरी खोजेर हिँड्नेलाई छेउतिर परेको बेलामा ठुलै ‘ड्यास’ लाग्यो भने त ज्यान ढुङ्गो गुडे जसरि भिरमा गुड्ने पक्का थियो। गुडेर कहाँसम्म पुगिन्छ होला भनेर हेर्दा कतिपय खोचमा अनन्त अन्धकारको बिन्दु मात्र देखिन्थ्यो।

‘ड्यास’ खाएर यस्तै खोचमा पुग्दा देहलिला समाप्त भएका केहीका कथा सुनाउँथे सँगै हिँड्ने साथीहरू।

दोस्रो दिन हामीलाई फाकदिङबाट नाम्चे बजार पुग्नु थियो। दुधकोशी नदि सँगसँगै हाम्रो यात्रा अघि बढ्यो। तर फरक यत्ति हो दुधकोशी तलतिर बगिरहेको थियो, हामी माथी चढ्ने प्रयासमा थियौं। यो एउटै नदीलाई झोलुङ्गे पुलमार्फत ट्रेकिङ भरि ६, सातपटक तर्नुपर्ने रहेछ।

दुधकोशीका किनार छाडेर लार्चे दोभानबाट उकालो चढ्दै गर्दा विश्वप्रख्यात हिलारी ब्रिज पनि तरियो। दुई अग्ला डाँडाको बीचमा दुधकोशी नदीको धेरै माथी रहेको हिलारी ब्रिज फोटो खिच्ने राम्रो स्पट रहेछ।

हिलारी ब्रिज कटेर उकालो लागेपछि धेरैले यो ट्रेकमा पहिलोपटक सगरमाथाको चुचुरो देखिने ठाउँ भनेर बताएको, तोप डाँडा पुगियो। तर बादलका कारण केही देखिएन। नाम्चे नपुगुञ्जेलसम्म सल्लाको रुखको जङ्गलको उकालो मात्र चढ्नु पर्नेरै’छ। बच्चा बेलादेखि पढेको र किताबमा मात्र दर्शन पाएको नेपालको राष्ट्रिय पन्छी डाँफेलाई जिन्दगीमै पहिलो पटक प्रत्यक्ष यहीँ देख्न पाइयो। अनि पो बल्ल थाहा भयो डाँफे तल्लो हिमाली भेगको जङ्गल तिर पाइनेरैछ।

हामी भने सानो बेलामा डाँफेलाई धान खेतको कान्लातिर खोज्ने गथ्र्यौं। डाँफे मात्र होइन हामीले अहिलेसम्म नदेखेका धेरै चरा र जनावर बाटोभरि देखियो। जसलाई न राम्रोसँग चिन्न सकियो न नाम नै थाहा थियो। एउटा जनावरको नाम चाहिँ थाहा पाइयो, झारल। जुन तल्लो हिमाली भेगतिर पाइने जङ्गली बाख्रा रहेछ।

दोस्रो दिन साँझतिर नाम्चे बजार पुग्यौं हामी। नाम्चे जसको उपनाम हो ‘गेटवे टु एभरेष्ट’ अर्थात ‘सगरमाथाको प्रवेशद्वार’। नाम्चेको चहलपहल त काठमाडौको ठमेल भन्दा कम रहेनछ। हिमालको काखमा भिरालो डाँडामा बसेको सानो तर बाक्लो बस्ती, जहाँ प्रायः प्रत्येक घरमा होटेल र रेष्टुरेन्ट मात्र छन्।

पर्यटकीय सिजनमा नाम्चे कुनै व्यस्त शहरभन्दा कम हुनेरैन’छ। नाम्चेमा नपाइने त्यस्तो केही चिज छैन जुन नेपालका अन्य ठूला शहरमा पाइन्छ। बस् यत्ति हो, पैसा भने अलि धेरै तिर्नुपर्छ। पहिला प्लेन र त्यसपछि भरिया वा जनावरलाई बोकाएर लगिएको सामान जति-जति माथी पुग्यो, त्यति-त्यति महङ्गो हुनु स्वाभाविक थियो। विश्वमा चलेका खानाका परिकारदेखि पेय पदार्थ तथा प्रायः धेरै ब्राण्डेड सामान यहाँ पाइन्छ।

ट्रेकको तेस्रो दिन ‘एक्लामटाइजेसन’ का लागि नाम्चेमा नै बसियो। धेरैले यसलाई आराम गर्ने दिनको रूपमा होटेलमा नै बिताउने गर्छन्। तर एक्लामटाइजेसन भनेको ‘अल्टिच्युड सिकनेस’ अर्थात लेक लाग्नबाट बच्न आफ्नो शरीरलाई उचाइ अनुकुल ढाल्ने प्रक्रिया हो। जसका लागि ‘एक्लामटाइजेसन हाइकिङ’ गर्न करिब तीन हजार चार सय मिटरको उचाइमा रहेको नाम्चेमा बसेको दिन हामी करिब तीन हजार आठ सय उचाइमा रहेको स्याङबोचे विमानस्थलको डाँडासम्म पुग्यौं।

कुनै समय विश्वकै अग्लो स्थानमा रहेको विमानस्थलको रेकर्ड बनाएको स्याङ्बोचेमा हाल सामान लैजाने नीजि उडान मात्र हुनेरै’छ। स्याङ्बोचेसँगै रहेको अर्को चर्चित बिन्दु हो, ‘एभरेष्ट भ्यू होटेल’। यसले पनि एक समयमा विश्वकै अग्लो स्थानमा रहेका होटेलको रूपमा ‘गिनिज बुक’ मा नाम लेखाएको थियो।

यहि होटेल नजिकबाट यो यात्रामा पहिलो पटक स्पष्ट रूपमा सगरमाथा देख्न सकिन्छ। यो उचाइबाट फेरि नाम्चेकै उचाइमा हामी फर्कियौं। उचाइ बढ्दै जाँदा हावामा अक्सिजनको मात्रा पनि घट्दै जान्छ त्यसैले हाम्रो शरीरलाई थोरै अक्सिजनमा नै संचालनका लागि अभ्यस्त पार्नुपर्छ। जति लामो समय विषम परिस्थीतिमा यो शरीर रहन्छ उति नै उसले आफूलाई वातावरण अनुकुल बनाउँछ । अग्लो ठाउँमा पुगेर फर्केपछि भोलिपल्ट त्यही उचाइमा जान हामीलाई केही गाह्रो भएन। पर्वतारोहीहरूले हिमाल चढ्दा अपनाउने आधारभूत सुत्र नै यही हो।

चौथो दिन नाम्चेबाट थोरै उकालो लागेपछि धेरैबेर ओरालो बाटो झर्नुपर्ने रहेछ। जबजब ओरालो आउँथ्यो यो पदयात्रा सारै सजिलो लाग्थ्यो। तर पछि मात्र यो थाहा भयो, हरेक ओरालो झर्नुको अर्थ त्यसपछि पक्कै ठूलो उकालो आउँदै छ भन्ने रहेछ।

समग्रमा कुनै पनि हिमालको आधार शिविरसम्म पुग्ने पदयात्राको सिद्धान्त भनेको नै साना ठूला पहाड चढ्दै, झर्दे फेरि चढ्दै गरिने निरन्तर प्रक्रिया रै’छ। दुई चार पहाड चढेपछि मात्र यो सिद्धान्त ज्ञात भयो। नभन्दै ओरालो झरेर फुङ्गी थान्का पुगेपछि हामीले धेरै ठूलो उकालो झेल्नुपर्ने भयो।

उकालो पनि यति ठाडो थियो, तारानाथ शर्माको चर्चित निबन्ध ‘घनघस्याको उकालो काट्दा’ सम्झिरहेँ मैले। त्यो निबन्ध कहिले पढेँ मलाई सम्झना भएन । तर उकालो चढुञ्जेल घनघस्या भनेको यही हो भन्ने भइरह्यो । तर यो एउटा पहाडको उकालो त शुरुआत मात्र रहेछ। यो पदयात्रामा पछि यसभन्दा निकै अग्ला र उकाला पहाड चढ्नुपर्‍यो।

बाटोभरि धेरै भरिया भेटिन्थे। ट्रेकिङ हिँडेका पर्यटकको भारी बोक्नले त २०-३० किलोको पोका मात्र बोक्दारै’छन। तर बेस क्याम्पसम्मका होटेलका लागि सामान बोक्ने भरियाहरूको सामानको तौल सय किलोभन्दा माथि हुने थाहा पाउँदा हामीलाई पत्याउनै गाह्रो पर्‍यो ।

आफुलाई एक्लो ज्यान र बढीमा १० किलो जतिको झोला बोकेर उकालो चढ्दा युद्ध जिते सरह भान भइरहेको थियो। ती भरियाहरूले सय किलाको भारीले टाउको र पिँठ्यू थिचेर कसरी यी ‘घनघस्याका उकालाहरू’ चढ्लान्? प्रश्न खेलिरह्यो मनभरी।

यो पदमार्ग सम्भव भएसम्म व्यवस्थित बनाइएको पायौं। सगरमाथा राष्ट्रिय निकुञ्जले ठाउँ ठाउँमा स्थायी डस्टबिन नै बनाएकाले बाटो निकै सफा र आकर्षक देखियो।

चौथो दिनको हाम्रो बसाइस्थल थियो, तेङ्बोचे। तेङ्बोचे सूर्यास्तका लागि र खुम्बु क्षेत्रको सबैभन्दा ठूलो गुम्बाको कारण प्रख्यात छ। बेलुका तेङ्बोचे गुम्बाको पृष्ठभूमिमा रहेका सेता हिमशृंखलाहरूमा अस्ताउँदो सूर्यका किरणले पोतेका सुनौला रङ्गहरू हेर्दा रात परेको थाहा नै नहुने रै’छ।

सगरमाथाको पाउ छुन हिँडेको पाँचौ दिनमा हामीलाई दिङ्बोचे पुग्नुथियो। अबका केही दिन लगातार उकालो उक्लनुको विकल्प थिएन। दिबुचे हुँदै पाङ्बोचे पुग्दा बिस्तारै रुखहरू होचिँदै थिए। जङ्गल पातलिँदै थियो।

हामी अगाडि बढिरहँदा आँखै अगाडि देखिने सुन्दर आमादबलम हिमाल यति नजिक लाग्थ्यो, मानौं ऊ अङ्कमाल गर्न हामीतिर नै कुदिरहेछ। पाङ्बोचेबाट अगाडि लाग्दा तेङ्बोचेबाट लगातार देखिन थालेको सगरमाथाको चुचुरोलाई बिस्तारै लोत्से र नुप्तसे हिमालले छेक्न थाले।

आमादबलमको आधारशिविर जाने बाटो पाङ्बोचेबाट नै छुट्टिने रहेछ। केही विदेशी त्यतातिर लागे। साना तर फराकिला डाँडाहरूको पाखैपाखा हिँडेपछि सोमरे भन्ने ठाउँ पुगियो। यहीँबाट पहिलोपटक चार हजार मिटरको उचाई पार हुँदोरैछ, जहाँबाट ‘ट्रि लाइन’, वृक्ष रेखा पनि समाप्त भयो। त्यसैले निकै कम देखिन्थ्यो।

फैलिएका नाङ्गा डाँडामा रहेका होचा झाडि र बुट्यान चिर्दै दिङ्बोचे पुगियो। यो यात्रामा नाम्चेमा जस्ते ‘एक्लामटाइजेसन’ का लागि दिङ्बोचेमा पनि एक दिन बिताउनु पर्नेरहेछ। वरिपरि सुख्खा पहाड र तिनका पछाडि रहेका चम्किला हिमालले घेरिएको दिङ्बोचे एक सानो उपत्यका हो।

छौटौँ दिन दिङ्बोचेमै बस्दा ‘एक्लामटाइजेसन हाइकिङ’ को रूपमा थप दुई सय मिटर उचाइको नजिकैको नागार्जुन डाँडा चढियो। सक्ने त यो डाँडाको टुप्पामा नै पुग्दारहेछन्। प्रायजसो भने आधा-आधिमा रहेको भ्यू प्वाइन्ट जस्तो ठाउँमा पुगेर फर्किँदारहेछन्। हामीले पनि त्यस्तै गर्‍यौं। यहाँबाट सगरमाथा त देखिदोरहेनछ। तर दुई हजार मिटर अग्ला दुई हिमाल मकालु र ल्होत्सेको दर्शन यहाँबाट गरियो।

यीसँगै आँखै अगाडिको आमादबलम बाहेक थामसेर्गु, कोङ्डे, खाङ्तेवा, आइल्याण्ड पिक, लोबुचे पिक, दाबोचे आदि हिमालले हामीलाई वरिपरिबाट घेरिरहेका थिए। बिहानको खाना खाएर उकालो लागेका हामीलाई यहाँबाट सुर्यास्त नहेरि फर्कन मनले मानेन। पुरै दिन हिउँको चिसो हावा खाँदै बित्यो।

सातौं दिन दिङ्बोचोबाट लोबुचेसम्म पुग्दा लमतन्न परेर सुतेका खुल्ला र सुख्खा घाँसे डाँडा माथिबाट हिँड्नुपर्ने रहेछ। जहाँ फाट्टफुट्ट चौरी चरिरहेका हुन्थे। हिमनदि ‘ग्लासियर’बाट आएका बीचबीचमा भेटिने साना खोलाको पानि सतहमा टेक्नै मिल्ने गरी जमेको देखिन्थ्यो। त्यहीँबाट कति माथि आइपुगियो भनेर लख काट्न सकिन्थ्यो ।

करिब चार हजार ६ सय मिटरको उचाइमा रहेको थुक्लापछि सारै ठाडो उकालो चढ्यौं हामीले। जसलाई यो ट्रेकिङकै सबैभन्दा चुनौतीपूर्ण भाग मानिँदोरैछ। बढी उचाइ, कम अक्सिजन र धेरै ठाडो उकालोको कारण अधिकांशलाई यहीँबाट ‘हाइ अल्टिट्युड सिक्नेस’ (लेक लाग्ने) समस्या शुरु हुनेरै’छ।

त्यसैलै बिस्तारै-बिस्तारै करिब एक घण्टा उकालो हिँडेपछि थुक्ला भञ्ज्याङ (पास) पुगियो। यो सम्म परेको ठाउँमा ‘एभरेष्ट मेमोरियल पार्क’ भेट्यौं। सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा बनाइएको चैत्य, गुम्बा र स्तम्भहरू गरी करिब दुई सय स्मारक रहेछन् यहाँ। यहीँ आएर देश विदेशका धेरै आँखाहरू, सगरमाथालाई चुम्न खोज्दा गुमेका आफन्तको सम्झनामा भक्कानिएर रुँदा रै’छन्।

यहाँ पुग्दा हाम्रो मन पनि अचानक स्वतः भावुक भएर आयो। एकछिन मनमनै यो जीवनको वास्तविकताको हिसाब गरियो । फेरि लाग्यो, मर्नु त एक दिन छँदैछ । यो त शाश्वत सत्य हो । तर त्योभन्दा अगाडि धेरै गर्नु बाँकी छ। त्यसैले यात्रा जारि राख्दै हामी हिँड्यौँ।

लोबुचे उपत्यका पुगेपछि नपत्याउने उकालोमा अगाडि बढिरहँदा लगाम लागेको घोडा जस्तै आँखाका दुबैतिर रहेका हिमालले हामीलाई बेसक्याम्पतिर डोर्‍याइरहेका थिए। बेलुका लोबुचे पुग्दा पहिलोपटक पाँच हजार मिटरको उचाइ पनि पार गरिएछ। करिब चार हजार पाँच सय मिटरको उचाइबाट शुरु हुने ‘स्नो लाइन’ हिमरेखा त दिउँसै काटिसकेका थियौँ हामीले।

आठौं दिन बेसक्याम्प पुग्नुअघिको हाम्रो अन्तिम दिनको हिँडाइ शुरु भयो लोबुचेबाट। यहाँबाट हिँडेपछि हिमाल धेरै नै नजिक लाग्यो। मध्याह्नको मध्यघाममा सूर्यका किरण सेता हिमालमा परेर आँखालाई नै असर गर्ने गरी प्रतिबिम्बित हुँदा रै’छन। जसलाई छेक्न राम्रै चश्मा चाहिने रै’छ।

अझै पनि लोला र ल्होत्से हिमालले सगरमाथालाई छेकिरहेका थिए। वर्षैपिच्छै हिमनदि पग्लिएर आउने हिमपहिरोका कारण यहाँभन्दा माथीको बाटो सारै अस्थिर र अप्ठ्यारो पनि थियो। साना-ठूला पत्थर र खुल्ला माटोले भरिएका बाटोमा हिँड्ने बाटो नै भेटिदैनथ्यो । पहिरोका कारण हरेक वर्ष बाटोको नापनक्सा नै बदलिएर फेरिइरहने रै’छ।

हामीले सोचेका थियौं, बेसक्याम्प पुग्नको लागि अन्तिम दिनको हिँडाइमा यो ट्रेकिङभरिकै सबैभन्दा धेरै र ठाडो उकालो उक्लनुपर्छ होला। तर अचम्म, बेसक्याम्प अघिको अन्तिम दिनको ट्रेकिङ ट्रेल खासै उकालो रै’नछ। उचाइ बढी भए पनि बाटो तेर्सो-तेर्सो भएकाले हिँड्न खासै गाह्रो भएन।

यो दिनको हिँडाइ खासै लामो पनि थिएन। करिब तीन घण्टा हिँडेर गोरकसेप पुग्नै लाग्दा तीन दिनपछि फेरि पहिलोपटक सगरमाथाको चुच्चो देखियो। यो पदमार्गको मानव वासस्थान भएको अन्तिम बिन्दु हो गोरकसेप। यहाँभन्दा माथि बस्ने होटेल रै’नछ। हाम्रो गन्तव्य सगरमाथा आधार शिविर पनि धेरै टाढा छैन भन्ने थाहा पाउँदा हर्षको सीमा रहेन।

यहाँबाट करिब डेढ घण्टा तेर्सो हिँडेपछि सगरमाथा आधार शिविर पुगिने रहेछ। बेसक्याम्प पुग्ने हाम्रो हुटहुटीले एकछिन पनि आराम गर्नै दिएन। हतारमा खाजा खाएको पनि पत्तै भएन। पोका पन्तुरा होटेल मै बिसाएर पिँठ्यूलाई स्वतन्त्र पार्दै कहिले बेसक्याम्प पुगिएला भनेर हामी जमेको हिमताल माथीको बालुवामा कुद्यौं।

यत्रो दिनको कठिन यात्रापछि पहिलोपटक सगरमाथाको आधार शिविरमा पुग्दा लाग्यो हामीले संसार जित्यौँ। त्यो गन्तव्यमा पर्वतारोही र ट्रेकर्सहरूले छाडेका विभिन्न सम्झना र चिन्हहरू वरिपरि छरिएका थिए।

आफ्नै आँखाले यति नजिकबाट यति विशाल, यति स्निग्ध, शान्त र सुन्दर सगरमाथाको दर्शन गर्दा केहीबेर आवाज नै निस्केन। एकोहोरो टोलाएर मात्र हेरिरहेँ। केही बोल्ने शब्द नै थिएन र साहस पनि। एकछिनमा आँखा यत्तिकै रसाएर आए। थाहा भएन खुशीले हो कि चोमोलोङ्‌मा आमाको काखमा पुग्दा जिन्दगीका दुःख सम्झेर। केही घण्टा यहाँ बिताउँदा कुनै अलौकिक शक्तिले आफूमा बास गरेको भान भयो। लाग्यो, अब मलाई हराउन सक्ने संसारमै कुनै शक्ति छैन ।

खुम्बु ग्लेसिएरमा रहेको आधार शिविरको जमिनको माथील्लो भागमा चट्टान र ढुङ्गालाई बरफले जोडेर एक ढिक्को बनाउँदो रहेछ। भित्रभित्रै भने पानी बगिरहेको आवाज मात्र सुनिन्थ्यो। यहि आवाजको माधुर्यमा पुमोरि नुप्से हिमालको बीचमा रहेको सगरमाथाको चुचुरोलाई बेलाबेलामा बादलको टुक्राले चुम्दै हिँडेको धेरैबेर हेरेर बस्यौँ हामी।

सगरमाथा आधार शिविरमा होटेल छैनन्। सगरमाथा चढ्न हिँडेकाहरू र केही सौखिन भने टेन्ट बनाएर पत्थर, हिँउ र बरफको समायोजनले बनेको भिरालो आधार शिविरमा बस्दा रहेछन्।

हामी भने साँझ परेपछि गोरकसेपको होटल तर्फ फर्कियौं। फर्किदा बाटाभरि लागिरहयो, अब बाँकि गर्नुपर्ने केही छैन यो जिन्दगीमा।

तर यो त एउटा भ्रम मात्र रहेछ। हाम्रो भ्रम त्यति बेला टुट्यो जब हामी आधार शिविरसम्म मात्र पुगेकाहरूको भेट सगरमाथाको शिखर चुमेर फर्केका विदेशीहरूसँग भयो। बेलुकी गोरखसेफको होटेलमा फर्केपछि उनीहरू यसरि खुशी मनाइरहेका भेटिए, हामीलाई लाग्यो उनीहरूले सगरमाथा चढेर होइन सगरमाथालाई जितेरै फर्केका हुन्।

उनीहरूको ‘सेलेब्रेसन पार्टी’ यस्तो थियो, मानौँ त्यो उनीहरूको जीवनको अन्तिम भोज हो। हुन पनि सगरमाथाको शिखरमा पुगेर सकुशल फर्कनु भनेको मृत्यु जितेर फर्के सरह नै थियो ।

उनीहरूको खुशी देख्दा लाग्यो, हामीहरूले त बाटो नापेका मात्रै रहेछौ, गन्तव्यमा त उनीहरू पो पुगेका रहेछन्।

तर फेरि आफैलाई चित्त बुझाइयो। सपना त जति ठूलो पनि देख्न पाइन्छ । तर व्यावहारिक धरातलमा बसेर हेर्दा सपना त्यत्रै देखेको राम्रो, जत्रो पूरा गर्ने आफ्नो ल्याकत होस्। हाम्रो औकात सगरमाथा शिखरसम्म पुग्ने थिएन। आफ्नो क्षमता अनुसारको लक्ष्य सगरमाथा बेस क्याम्पसम्म पुग्न सफल भएकोमा नै हामी धेरै खुशी थियौं। भलै हाम्रो सफलताको ‘सेलेब्रेसन’ उनीहरूको जस्तो थिएन।

एकरात सगरमाथाको काख नजिकै मिठो निद्रा सुतेपछि भोलिपल्टदेखि हामी सगरमाथालाई फर्किफर्कि हेर्दै सोहि बाटो लुक्ला फर्किन तर्फ लाग्यौ। बेसक्याम्पसम्म उक्लन आठ दिन लागेको हामी चार दिनमा लुक्ला फर्कियौं। काठमाडौंबाट उडेको १३ औँ दिनमा हामी सगरमाथाको फेदलाई छोएर पुनः आइपुग्यौं।

१५-२० वर्ष अगाडिसम्म एभरेष्ट बेस क्याम्प ट्रेकमा नेपाली पर्यटकका लागि होटेलमा कोठा पाउन निकै कठिन थियो। एक त त्यो बेला होटेल कम थिए, फेरि मुख्य सिजनमा विदेशी पर्यटकको ओइरो लाग्ने, नेपालीले भन्दा विदेशीले पैसा पनि बढी तिर्ने र खर्च पनि धेरै गर्ने। त्यसैले त्यो बेला विशेषगरि मुख्य सिजनमा नेपालीले हत्तपत कोठा पाउँदैनथे।

तर अहिले सबै परिवर्तन भैसक्यो, होटेल पनि धेरै खुलिसके, नेपाली पर्यटक पनि धेरै घुम्ने भैसके। हाल नेपाली पर्यटकले पनि सजिलै होटेलमा बस्न र खानको सुविधा पाँउछन्। मुख्य सिजनमा दुई, चार दिन अगाडि नै बुकिङ गरेर गए झन् राम्रो। अझ कोभिडपछि खुलेको पर्यटनमा एभरेष्ट बेस क्याम्पलाई धानेको त नेपाली पर्यटकले नै हुन्।

संसारभरिबाट यही सगरमाथा हेर्न लाखौं खर्च गरेर हजारौं पर्यटक नेपाल आउँछन्। यही देशमा जन्मेका हामी नेपाली भने एकपटक किन नजाने एभरेष्ट बेस क्याम्प?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved