एमाले छाडी समाजवादी प्रवेश गर्नेको लहर चलेको छ : माधव नेपाल

नेपालभ्युज

एमाले छाडी समाजवादी प्रवेश गर्नेको लहर चलेको छ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहजनक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको शिलाशिला नै चलेको बताए। अध्यक्ष नेपालले डडेलधुरामा हालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया दिए।

उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए। एमाले पार्टीलाई केपी ओलीको गुट भन्दै आफ्नो पार्टीविरुद्ध झुटा प्रचार गरिरहेकाले चोटिलो प्रहार गर्न उनले कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘‘एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर उत्साहजनक हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ। उसले अनावश्यक आरोप लगाइरहेको छ। झूटा प्रचार गरिरहेको छ। यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ।’’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए। उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए। सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको उनको भनाइ थियो। अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताए।

उनले भने, ‘‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ। अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौं, दोसो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं। यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नु पर्दछ। कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन।’’

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले तीन ओटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरूले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्ने/नमिल्ने छलफल गरेर अघि बढ्ने बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved